कैलालीमा मेडिकल कलेजको निर्माण कार्य अघि बढ्न सकेन

इनेप्लिज २०७१ माघ २ गते ८:४४ मा प्रकाशित

Kailali_district_locationधनगढी, २ माघ । कैलालीको साविक गेटा गाविसमा निर्माण गरिने प्रस्तावित मेडिकल कलेजको निर्माण कार्य छ महिनादेखि रोकिएको छ ।

निर्माणस्थलमा रहेका रूख कटान आदेशका लागि छ महिनाअघि वन मन्त्रालयमा पठाइएको फाइल मन्त्रालयमै थन्किएपछि कलेजका भौतिक संरचनाको निर्माण कार्यअघि बढ्न नसकेको मेडिकल कलेज प्रवद्र्धन समितिका डा। भीमसिं टिङ्करीले बताउनुभयो ।

प्रस्तावित मेडिकल कलेज निर्माणका लागि साविक गेटा गाविसअन्तर्गत धनगढी, अत्तरिया सडकको छेउमै रहेको जङ्गलको करिब ५२ हेक्टर जग्गाको भोगाधिकार कायम गर्ने कामबाहेकका अन्य कुनै कामअघि बढ्न सकेको छैन ।

निर्माणस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनसमेत नआएकाले पनि कामअघि बढाउन नसकिएको टिङ्करीले बताउनुभयो ।

निर्माणस्थलमा करिब ९०० को सङ्ख्याका रूख ९कू–काठ० काट्नुपर्ने देखिएको बताइएको छ । चालु वर्षमा कलेज निर्माणका लागि सरकारले रु ११ करोड बजेट विनियोजन गरेको छ । निर्माणस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनको काम मल्टी डिसिल्पिनरी कन्सल्टेन्सी काठमाडौंले गरिरहेको बताइएको छ ।

गत आर्थिक वर्षमा कलेज निर्माणका लागि करिब रु चार करोड बजेट विनियोजन गरिएको थियो । “कलेज कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने कुरा विनियोजित बजेटमा भर पर्छ,” डा टिङ्करीले भन्नुभयो – “पछिल्लो पटक रूख कटानीका लागि छ महिनासम्म मन्त्रालयमै फाइल थन्किएका कारण पनि कलेजका संरचना निर्माण अघि बढ्न सकेको छैन ।”

चालु आर्थिक वर्षको बजेटबाट कलेजको प्रशासनिक भवन र निर्माणस्थलमा रहेको मनहरा नदी कटान नियन्त्रण र जग्गा घेरबार, सडक निर्माणलगायतका काम सम्पन्न गर्ने योजना रहेको छ ।

कलेज सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा नै चिकित्सा विषय पढ्न पाइने भई स्वास्थ्यका दक्ष जनशक्ति तयार हुने र स्वास्थ्य संस्थाहरुको स्तरोन्नतिसमेत हुने भई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

“कलेज सञ्चालनसँगै स्थानीयवासीको स्वास्थ्य संस्थामा पहुँच बढ्ने मात्र नभई उनीहरुले गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउने भई स्वास्थ्य क्षेत्रले फड्को मार्ने छ,” जनस्वास्थ्य अधिकृत जयबहादुर कार्कीले भन्नुभयो – “सुदूरपश्चिमको विद्यमान जनस्वास्थ्यको समग्र अवस्थामा पनि सकारात्मक सुधार आउने छ ।”

‘सहिद दशरथ चन्द एकेडेमी अफ हेल्थ साइन्स’ नाम दिइएको यो कलेजको स्वास्थ्य र शिक्षाको स्थिति झल्किने खालको २० वर्षे रणनीति योजनासमेत बनाउन लागिएको बताइएको छ ।

यसअघि गेटा गाविस क्षेत्रमा नै आधुनिक र सुविधासम्पन्न मेडिकल कलेज निर्माणका लागि पहल गर्ने प्रयासस्वरुप विस २०५६ मा भारतको काँची कामाकोठी पीठका जगत्गुरु शङ्कराचार्यले कलेजको शिलान्यास गर्नुभएको थियो ।

मेडिकल कलेजको अवधारण आएपछि नेपाल सरकारले आर्थिक वर्ष २०६४/६५ मा सोही क्षेत्रमा दशरथ चन्द मेडिकल कलेज बनाउने निर्णयसहित कलेजको प्रारम्भिक कामका लागि आव २०६८/६९ को अन्त्यतिर मात्र मेडिकल कलेज प्रवद्र्धन विकास समिति गठन गरेको थियो ।

हाल कलेज निर्माणका लागि गठन भएको प्रवद्र्धन समितिको म्याद पनि सकिएको छ । डा टिङ्करीले कलेज निर्माणसम्बन्धी कामको रेखदेख गरिरहनुभएको छ । सुदूरपश्चिामाञ्चलमा स्तरीय स्वास्थ्य उपचार लगायतका सेवासुविधाको समस्या स्थानीयवासीले झेल्दै आएका छन् । यसका कारण अधिकांश गम्भीर अवस्थाका बिरामी भारतीय बजारका स्वास्थ्य संस्थामा पुगेर महँगो मूल्यमा स्वास्थ्य जाँच एवम् उपचार सेवा लिनुपर्ने अवस्था रहेको छ ।

कैलालीमा सेती अञ्चल अस्पताल र कञ्चनपुरमा महाकाली अञ्चल अस्पताल सञ्चालनमा रहे पनि यी अस्पतालमा सुरुदेखि नै दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, प्राविधिक कर्मचारी र स्वास्थ्य जाँच एवम् परीक्षणमा प्रयोग गरिने आधुनिक उपकरणको अभाव रहेको छ ।

स्वास्थ्यर्मीका अनुसार ३५ हजार जनसङ्ख्यामा एकजना चिकित्सक हुनुपर्नेमा सुदूरपश्चिममा चार लाख जनसङ्ख्यालाई एकजना चिकित्सकले हेर्नुपर्ने अवस्था रहेको छ । यसैगरी स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा झन्डै २० हजार जनसङ्ख्यालाई एकजना अहेबले हेर्नुपर्ने अवस्था रहेको छ । रासस

प्रतिक्रिया