संविधानसभामा एमाओवादीसहितको मोर्चाले भाँजो हाल्योः अध्यक्ष ओली

इनेप्लिज २०७१ माघ ८ गते ११:१४ मा प्रकाशित

kp-oliकाठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाको बैठकलाई अगाडि बढाउने प्रयासमा एकीकृत नेकपा माओवादीसहितको मोर्चाले भाँजो हालेको बताउनुभएको छ ।

संविधानसभाको बैठक अवरोध भएपछि केहीबेर सभाहलबाट बाहिर निस्कनुभएका अध्यक्ष ओलीले भन्नुभयो – “हामीले आजै संविधान जारी गर्न खोजेका हौैँ तर एमाओवादीसहितको मोर्चाले भाँजो हाल्यो ।”

संविधान बनाउन नदिन उनीहरुले संविधानसभामा बितण्डा मच्चाएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “माओवादी सप्रेको जस्तो लागेको थियो, त्यसो भएको रहेनछ ।”

अध्यक्ष ओलीले माइक भाँचेर छातीमा हान्दैमा संविधान लेखन कार्य नरोकिने बताउँदै मुलुकलाई समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षलाई वार्तामा आउन आग्रह गरे पनि उनीहरु आन्दोलन र नाराबाजी गर्नमै उद्यत रहेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ओलीले मोर्चाबाट अवरोध भएपनि आज केही न केही समाधान दिन आफूहरु तयार रहेको स्पष्ट पार्दै भन्नुभयो, “आज केही न केही समाधान दिनुपर्छ, त्यसका लागि हामी प्रतिबद्ध छौँ ।”

प्रतिक्रिया