युवा व्यावसायिक च्याउखेतीमा

इनेप्लिज २०७१ माघ २४ गते ११:५४ मा प्रकाशित

chyau_masarumबागलुङ, २४ माघ । कम लगानीमै उत्पादन हुने र बजार माग बढ्दै गएपछि च्याउखेती फस्टाउन थालेको छ । कृषिमा व्यावसायिक बन्न युवा च्याउखेतीमा लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले च्याउखेती विस्तार हुँदै गएको जनाएको छ । यही वर्ष २० जना युवाले व्यावसायिक च्याउखेतीका लागि सरकारी अनुदान पाएका छन् । प्रतिव्यक्ति रु ४० हजारका दरले अनुदान दिइएको कृषि अधिकृत विप्लवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘कन्ने’ प्रजातीको च्याउका लागि १३ र ‘सिताके’ च्याउका लागि सात जनाले अनुदान पाएका हुन् । सरकारले ल्याएको युवालक्षित च्याउखेती व्यवसाय सञ्चालन कार्यक्रमबाट ती युवा कृषकले अनुदान पाएका हुन् । कार्यालयले अनुदानका लागि व्यावसायिक कृषि अँगालेका युवालाई छानेको छ ।

“इच्छुक व्यक्तिलाई प्रस्ताव आह्वान गरेर अनुदानका लागि छनोट गरेका हौं, व्यावसायिक रुपमा च्याउखेती गर्नेलाई मात्र अनुदान दिन्छौं”, अधिकृत अधिकारीले भन्नुभयो– “कम्तीमा पनि चारवटा प्लास्टिक घरमा च्याउखेती गरेकै हुनुपर्छ ।” कृषि उद्यमीमा लागेर स्वरोजगार बन्न चाहने युवाले च्याउमा अनुदान पाएको अधिकृत अधिकारीकोे भनाइ छ ।

त्यस्तो अनुदान रकम एकै चरणमा नभई किस्तामा दिइने उहाँको भनाइ छ । तोकिएको क्षेत्रफलमा च्याउखेती उत्पादन हुन थालेपछि पूरै अनुदान दिइने छ । विदेशबाट फर्केकालाई प्राथमिकता दिइएको अधिकृत अधिकारीले बताउनुभयो । जिल्ला कृषि कार्यालयवाट च्याउबाहेक व्यावसायिक तरकारीखेतीका लागि यसै वर्ष रु ४० हजारका दरले ६० जना युवाले रु २४ लाख अनुदान पाएका छन् ।

प्रतिक्रिया