न्यूयोर्कमा नेजाद्वारा एमआरपी र एनआरएन कार्यक्रम सम्पन्न‏

इनेप्लिज २०७१ फागुन ५ गते २०:५१ मा प्रकाशित

 

 

DSC07265मिति: फेब्रुअरी १७ ,२०१५
यस नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले यही फेब्रुअरी १५ तारिख आइतवारका दिन न्यूयोर्कमा मेशिन रिडएवल पासपोर्ट (एमआरपी) र गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचन बारे एक कार्यक्रम सम्पन्न गरेको छ |
संघका अध्यक्ष गौतम दाहालको सभापतित्वमा दुई चरणमा संचालित कार्यक्रमको पहिलो सत्रमा एमआरपी सम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो | नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका उप-महावाणिज्यदूत प्रवीण भट्टराईले एमआरपीका बारे जानकारी दिनु भएको थियो | सोही अवसरमा भट्टराईसहित नेपाल मिशनका तर्फबाट सन्ध्या पराजुलीले सेवाग्राहीलाई कार्यक्रमस्थलमा नै एमआरपी फाराम भर्ने र वितरण समेत गर्ने गरी सेवा प्रदान गर्नु भएको थियो | यस्तो सेवा अन्य शहरमा पनि पु-याउने प्रयास भैरहेको उप महावाणिज्यदूत भट्टराईले जानकारी दिनुभयो |
कार्यक्रमको दोश्र चरणमा एनआरएन अमेरिकाको आसन्न निर्वाचन र वर्तमान नेतृत्वका कार्यहरुका बारे छलफल भएको थियो | सोही क्रममा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले आफ्नो नेतृत्वमा एनआरएन समुदायको हितका लागि गर्दै आइरहेका कार्यहरुमाथि प्रकाश पार्नु भएको थियो | उहाँले नेजाले अत्यन्त सान्दर्भिक विषयमा एकै मंचमा दुई महत्वपूर्ण कार्य गरेको भन्दै नेजाका गतिविधिहरुको सह्राना गर्नु भयो | नेजासंग सहकार्य गरेर एनआरएन अमेरिकाले अमेरिकाका अन्य शहरमा पनि एनआरएनको आसन्न निर्वाचन बारे सामुदायिक छलफल चलाउने समेत अध्यक्ष जीसीले जानकारी दिनुभयो | अमेरिकामा नेपालीहरुको आवाज बुलन्द गर्न सबैले हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिंदै जीसीले नेपाल सरकारले नागरिकताको निरन्तरता सम्बन्धी प्रक्रिया अघि बढाई सकेकोले सोही अनुसार सबैले ध्यान पु-याएर मात्र बोल्न आग्रह गर्नुभयो |
एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा नेतृत्वका लागि इच्छुक रहेका न्यूयोर्क लगायत अन्य राज्य तथा सहरबाट आएका एनआरएन सदस्य र स्थानीय समुदायका प्रतिनिधि नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा हाल न्युयोर्कमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ्ग लामा र संगठन सम्बन्धी बैठकमा भाग लिन आउनु नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले पनि अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो | दाहालले आफ्नो संगठनले आप्रवासमा रहेका नेपालीहरुलाई अधिकारसहित दोहोरो नागरिकता प्रदान गर्नुपर्ने मुद्दा निरन्तर उठाई रहेको बताउनुभयो |
कार्यक्रममा आमन्त्रित अतिथिहरु नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष संजय थापा, प्रवासी नेपाली एकता समाजका अध्यक्ष विदुर विष्ट, नेपाल अमेरिका चेम्वर अफ कमर्शका उपाध्यक्ष वेद खरेल लगायतले एनआरएन अमेरिकाको आसन्न निर्वाचनका बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेजाका महासचिव भोला आचार्यले संचालन र क्षेत्रीय संयोजक भुपेन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा एनआरएन अमेरिकाको आगामी कार्यकालको लागि नेतृत्वका आकांक्षीहरुले आ आफ्नो उम्मेद्वारी समेत घोषणा गरेका थिए | यस क्रममा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका नगेन्द्र पौडेल र डाक्टर केशव पौडेलले आ-आफ्नो एजेण्डा प्रस्तुत गरे |यसैगरी विश्व शाह र नादेन डोङलाले बरिष्ठ उपाध्यक्ष, डिल्ली भट्टराइ, सञ्जिव श्रेष्ठ र बन्दना कोइरालाले उपाध्यक्ष, बिआर लामाले महासचिव, राम खरेलले प्रवक्ता, महेश्वर पन्त, विनोद तिवारी गोमा सेन,सुशील रेग्मी, मकेन्द्र बहादुर सिंह र हरिश हमालले बोर्ड अफ डाइरेक्टर (सदस्य) को उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरे |
कार्यक्रममा बुद्धिजीवी डाक्टर तारा निरौला,एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुली र महासचिव कृष्ण पोखरेल, विधान मस्यौदा समितिका संयोजक दुर्गा भुर्तेल र निर्वाचन कमिटीका संयोजक विनोद रोक्काले पनि बोल्नुभएको थियो ।नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले सहभागीहरुलाई धन्यवाद व्यक्त गरे |
यसैबीच कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाली अमेरिकन कलाकार संघबीच द्वीपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ | नेजाका तर्फबाट अध्यक्ष दाहाल र कलाकार संघको तर्फबाट अध्यक्ष गाम्बु शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरे | सोही समझदारी अनुसार कलाकार संघले नेजाको आकस्मिक कोषमा रकम अभिवृद्धिका लागि अमेरिकाका विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम गरी रकम संकलनका लागि सहयोग गर्नेछ | यसैगरी नेपाली नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा दुवै संस्थाले संयुक्त रुपमा एक भव्य सांगीतिक कार्यक्रम समेत गर्नेछन् |

भोला आचार्य
महासचिव,नेपाल अमेरिका पत्रकार संघ

प्रतिक्रिया