सिताहरी प्रतिष्ठानद्वारा वृद्धवृद्धालाई सहयोग

इनेप्लिज २०७१ फागुन १० गते १८:११ मा प्रकाशित

baudh 2

बनेपा,फागुन,१० / सिताहरी प्रतिष्ठान बानेश्वर काठमाण्डौले बनेपा–४ को वौद्ध वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्य सामग्री वितरण गरेको छ ।​ ​आइतवार प्रतिष्ठानका टोली बौद्ध वृद्धाश्रम बनेपामा पुगी चामल, नुन, तेल, चिनी, चियापति, पिठो लगायतका खाद्य सामग्री वितरण गरेको हो ।

स्व. माता पिताको नाममा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षा र मानवीय काममा लगानी गर्ने उद्धेश्य अनुरुप सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष एवं स्व. सीता गौतम र हरि गौतमका सुपुत्र नविन गौतमले जानकारी दिए । गत ०७० फागुण १ गते तिनपिप्लेमा रोकिराखेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दम्पति कै निधन भएको थियो ।

मृतकको सम्झनामा छोरा, बुहारी, र परिवारले प्रतिष्ठानको गठन गरी सामाजिक कार्य गर्दै आएका छन् । प्रतिष्ठानले यस अघि सार्वजनिक मा.वि. निजगढका दुई विपन्न विद्यार्थीलाई ५ हजार ५ सय ५५ का दरले बार्षिक छात्रवृत्ति प्रदान शुरु गरेको संस्थाका सचिव युग पवन हुमागाईले जानकारी दिनुभयो ।

खाद्य सामग्री बुझ्दै वृद्धाश्रममा रहेका ७३ वर्षिया वृद्धा राज शाक्यले अन्नदान वृद्धवृद्धाका लागि जीवनदान भएको भन्दै मृतात्माको चीर शान्तीको कामना र प्रतिष्ठानलाई सफलताको शुभकामना दिए । वृद्धाश्रममा ५ महिला र ४ पुरुष वृद्धाहरु छन् ।

प्रतिक्रिया