सत्–मार्ग अभियानको प्रशिक्षण हुने

इनेप्लिज २०७१ फागुन १४ गते ७:२६ मा प्रकाशित

हेटौंडा । सत्–मार्ग अभियान नेपालले मकवानपुरमा यही फागुन २० गतेदेखि २४ गतेसम्म पञ्चदिवसीय सत्–मार्ग वर्ग प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । व्यक्तिमा व्यक्तित्त्वको विकास गर्न नागरिकलाई नैतिकता, राष्ट्रप्रतिको बफादारिता, धर्म, अध्यात्म, संस्कृति, संस्कार, परम्परा, सभ्यता, मौलिकता आदिको बारेमा ज्ञानविज्ञान मूलक प्रशिक्षण दिँदै नैतिक–चरित्रवान नागरिक तयार गरी राष्ट्रियताको भावनाले अ्रोतप्रोत जनशक्ति उत्पादन गर्ने र नेपाललाई सुदृढ एवम् आत्मनिर्भर राष्ट्रको रूपमा निर्माण गर्दै जाने उद्देश्य लिएको सत्–मार्ग अभियान नेपालले बेलाबेलामा देशका विभिन्न ठाऊँमा यस्ता वर्ग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेगर्छ । यसै क्रममा हेटौंडा उ.म.न.पा.को बस्तिपुर स्थित नैमिषारण्यक्षेत्र श्री सर्वेश्वर भगवान मन्दिर प्राङ्गगणमा प्रशिक्षण शिविर सञ्चालन हुने सो संस्थाका प्रवक्ता दीपक सुवेदीले सञ्चार जगतलाई जानकारी गराउनु भएको छ ।
प्रशिक्षण भरी प्रशिक्षार्थीहरूलाई शिविरक्षेत्रमै आवासको व्यवस्था गरिएको हुन्छ । विहान पाँचबजे जागरण, पाँच पैंतालिस बजेबाट नेपाल आमा वन्दना एवम् एकात्मता स्तोत्र जसमा राष्ट्रिय देवदेवी, तीर्थ, मठमन्दिर, विभूतिपुरुष, विधुषीमातृशक्ति, राष्ट्रभक्तिप्रद पाठ आदि, छ बजेदेखि योगसत्र, नौबजेदेखि बौद्धिक सत्र, बाह्रबजे भोजन, दुईबजेदेखि पुनः बौद्धिकसत्र, चारबजे खेलखुद, साँझ छ बजेबाट अर्को बौद्धिक, राति आठबजे भोजन र नौ बजेदेखि दशबजेसम्म प्रशिक्षार्थीमा भएका प्रतिभाको प्रस्तुति कविता, गीत–संगीत आदिको प्रस्तुति हुनेछ । यसरी प्रत्येक दिन विहान पाँचबजेदेखि राति दश बजेसम्म हुने सो प्रशिक्ष शिविर वास्तवमै उपलब्धिमूलक हुने अभियानका राष्ट्रिय प्रमुख पं. नवराज धितालले बताउनु भएको छ ।
सनातन सभ्यता ॐकार परिवार समुदायमा विशेष महत्त्वपूर्ण रूपमा मनाइने होलीको पर्वको बेलामा सञ्चालन गर्न लागिएको सो प्रशिक्षणमा होली उत्सव पनि शिविरमै विशेष कार्यक्रम गरी मनाइने र झन विशेष प्रकारले होली मनाउन पाइने, होलीको विदा परेको हुनाले विद्यार्थी तथा कर्मचारीको लागि पनि यो विशेष अवसर हुनसक्ने साथै होली छुट्ने पछुतो पनि प्रशिक्षार्थीलाई नहुने प्रवक्ता सुवेदीले बताउनु भएको छ ।
प्रशिक्षणलाई व्यवस्थित गराउन एकसय भन्दा बढी स्थानीय व्यक्तित्त्वहरूको सहभागितामा विभिन्न समितिहरू गठन गरिएको र सो प्रशिक्षणमा प्रशिक्षण बौद्धिक दिनको लागि विभिन्न विषयका विद्वानहरूलाई आमन्त्रण गरिने अभियानले जनाएको छ । यस वर्ष अभियानले नवलपरासीको सुनवल र बाँकेको नेपालगञ्जमा प्रशिक्षण शिविर सञ्चालन गरिसकेको छ । यस पछि बुट्वल, पाल्पा र सिराहको लहानमा प्रशिक्षण वर्ग लगाइने अभियानका संगठन महामन्त्री खेमनाथ आचार्यले बताउनु भएको छ ।

प्रतिक्रिया