अमेरिकामा झन्डै १० लाख प्रवासी ‘आफ्नो साहु, आफैं’ छन् ।

इनेप्लिज २०७१ फागुन ३० गते ८:२८ मा प्रकाशित

11070824_10152897486388999_984094858519243319_n

एक अध्ययनका अनुसार, अमेरिकामा झन्डै १० लाख प्रवासी ‘आफ्नो साहु, आफैं’ छन् । अर्थात् उनीहरूले आफ्नै ब्यवसाय सञ्चालन गरिरहेका छन् । र, यो बढ्ने क्रम जारी छ । अमेरिका प्रवेशसँगै प्रवासीहरू केही वर्ष श्रम गरी बचेको डलरबाट साना ब्यवसाय सञ्चालनतर्फ उन्मुख हुने गरेका छन् । यसरी अमेरिकामा साना तथा मझौला ब्यवसायमा प्रवासीहरूको संलग्नता क्रमशः उल्लेखनीय बृद्धि हुँदै गइरहेको छ । अमेरिकामा झन्डै ५० लाख साना ब्यवसायीमध्ये १० लाख प्रवासीले ब्यवसाय सञ्चालन गरिरहेका छन् । प्रतिशतमा हेर्दा अमेरिकाको पूर्ण साना ब्यवसायको क्षेत्रमा १९ प्रतिशत प्रवासी ब्यवसायी छन् । त्यसैगरी अमेरिकामा प्रवासी ब्यवसायीहरूले झन्डै १७ प्रतिशत अमेरिकी श्रमिकलाई रोजगार दिएका छन् । १९ प्रतिशत प्रवासी ब्यवसायीले बर्षेनी झन्डै ६४ बिलियन डलर आम्दानी गरिरहेका छन् । एक अध्ययनले के देखाएको छ भने सन् १९९० देखि २०१० सम्म मात्रै थप पाँच लाख ४० हजार प्रवासीहरूले ब्यवसायमा आफ्नो पकड जमाएका छन् । प्रवासी ब्यवसायीमध्ये एक लाख ४१ हजार ब्यवसायीले सेवा प्रदायक, एक लाख २१ हजारले खुद्रा ब्यवसाय र झन्डै एक लाख २१ हजारले नै निर्माण ब्यवसाय गरिरहेका छन् । त्यसैगरी एक लाख प्रवासीले शिक्षा तथा सामाजिक, एक लाखले बजार नेटवर्किङ र बाँकीले कानुनी, ट्राभल, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरी ब्यवसाय गरिरहेका छन् । यसरी हेर्दा अमेरिकी जनसंख्याको श्रमिक क्षेत्रमा १३ प्रतिशतभन्दा बढी प्रवासी ब्यवसायीले योगदान दिएका छन् । प्रवासी ब्यवसायीमध्ये २२ प्रतिशत खुद्रा ब्यापार, १४ प्रतिशत निर्माण, २० प्रतिशत शिक्षा तथा सामाजिक, २८ प्रतिशत सेवा प्रदायक र १२ प्रतिशत लेखा, बीमा र घरजग्गाको क्षेत्रमा सक्रिय छन् । त्यसैगरी यातायात तथा ढुवानी सामान ब्यवसायमा २६ प्रतिशत, होलसेल ब्यापारमा २० प्रतिशत, उत्पादनमा १५ प्रतिशत, सूचना तथा सञ्चारमा १२ प्रतिशत, कृषि, माछा पालन र शिकारमा पाँच प्रतिशत र खानीमा तीन प्रतिशत प्रवासी ब्यवसायीले लगानी गरेका छन् ।
‘नहिँडे कहिँ पुगिँदैन’ भनेजस्तै उद्धेश्यमा पुग्न हिँड्नैपर्छ । नहिँडे वा पाइला नचाले अवसर प्राप्त गर्न सकिँदैन पनि । अवसर र स्वतन्त्रता अनि आर्थिक समृद्धिको मुलुक संयुक्त राज्य अमेरिकामा संसारभरका मानिस आएका छन् । त्यसैले अमेरिका संसारका अधिकांश मुलुकको मिश्रण हो भन्दा अत्युक्ति नहोला । संसारभरका प्रवासीहरूको थलो अमेरिकाको सबै ५० वटै राज्यका अधिकांश भू–भागमा प्रवासीको बाहुल्यता बढ्दै गएको देखिन्छ । विविध कारणले अमेरिका प्रवेश गरेदेखि नै अवसर प्राप्ती, आर्थिक सम्पन्नता र समृद्धशाली भविष्यको कल्पना सबैको हुन्छ । अमेरिकाको विविध क्षेत्रमा सन् १९८० देखि नै प्रवासीको बाहुल्यता क्रमशः बढ्दै गएको देखिन्छ । शिक्षा, रोजगार, ब्यवसाय, स्वास्थ्यलगायत सरकारी, अर्धसरकारी, निजी सेवा प्रदायक क्षेत्रमा प्रवासीहरूले आफ्नो भूमिका बढाउँदै गइरहेका छन् ।

प्रतिक्रिया