महिला र पुरुष कामदारलाई समान ज्याला

इनेप्लिज २०७१ चैत १७ गते २:४० मा प्रकाशित

बेनी (म्याग्दी), १७ चैत । म्याग्दीका महिला कामदारले पनि पुरुष कामदारसरहको ज्याला पाउन थालेका छन् ।

गत साउनमा ‘समान काम असमान ज्याला’सम्बन्धी समाचार राससमार्फत विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित भएपछि सुरु भएको बहसले अहिले सफलता पाएको हो ।

जिल्लाका महिला अधिकारकर्मी, मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनी विभिन्न राजनीतिक दलका भ्रातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि विकास कार्यालयलाई समेत जानकारी गराइएपछि महिलाले पनि पुरुषसरह नै समान ज्याला पाउन थालेका हुन् ।

बेनी नगरपालिका–६ कुरिलाखर्कस्थित एक विद्यालयको भवनको ढलानमा कार्यरत अधिकांश महिलाको तलव पुरुषसरह छ ।
“महिलाहरुको काम पुरुषको भन्दा कम छैन, कामले नै ज्यालाको हैसियत निर्धारण गरेको छ”–माउन्ट एभरेस्ट आवासीय उच्च माविका संस्थापक निर्देशक चन्द्रकुमार केसीले भन्नुभयो । महिला मजदुरको हौसला बढाउन जिल्लास्थित महिला आबद्ध रहेका सरकारी तथा गैरसरकारी संस्था, सहकारीले समेत समान ज्याला पाउने महिलालाई सम्मान गरेर उनीहरूको अभियानमा प्रतिबद्धता जनाउने गरेका छन् ।

प्रतिक्रिया