विद्युत्भार कटौतीको मारमा टेलिसेन्टर

इनेप्लिज २०७१ चैत १७ गते २:४३ मा प्रकाशित

ilam-mapइलाम, १७ चैत । जिल्ला हुलाक कार्यालयअन्तर्गतका आठ ठाउँमा सञ्चालनमा रहेका टेलिसेन्टर दक्ष प्राविधिक, विद्युत् सेवा र इन्टरनेट सेवा अभावमा प्रभावकारी हुन सकेका छैनन् ।

टेलिसेन्टरका लागि २४सैँ घन्टा विद्युत् सेवा, दक्ष प्राविधिक नहुँदा नयाँबजार, सूर्याेदय नगरपालिकाको फिक्कल, हर्कटे, साँखेजुङ, जमुना, पशुपतिनगर, जितपुर र देउमाई नगरपालिकाको मङ्गलबारेमा सञ्चालित टेलिसेन्टर प्रभावकारी हुन नसकेका हुन् ।

टेलिसेन्टरमा राखिएका कम्प्युटर प्रायः बिग्रिरहनाले पनि समस्या उत्पन्न भएको छ । “विद्युत् लाइन गएमा अर्काे व्यवस्था छैन, ग्रामीण क्षेत्रमा बारम्बार बिजुली जाने गर्छ”–जिल्ला हुलाक कार्यालयका खरिदार लक्ष्मी खनालले भन्नुभयो । विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा ग्रामीण क्षेत्रमा सञ्चालित टेलिसेन्टर समस्यामा परेका हुन् ।

टेलिसेन्टरमा फोटोकपी, इमेल, इन्टरनेट, कम्प्युटर, फोन, फ्याक्स राखिएका छन् । ती उपकरणसमेत बारम्बार बिग्रिरहने गरेकाले समस्या हुने गरेको छ । सरकारले पूर्वाञ्चलका लागि एकजना मात्र प्राविधिक तोकेकाले बिग्रने बित्तिकै बनाउन नसकिने समस्या रहेको खनालले भन्नुभयो । टेलिसेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने सरकारले जिल्ला हुलाक कार्यालयलाई व्यवस्थापनको जिम्मा दिनुपर्ने उहाँको भनाइ छ ।

टेलिसेन्टरबाट स्थानीयवासीले कम्प्युटर शिक्षासमेत लिने गरेका छन् । टेलिसेन्टरलाई आवश्यक खर्च उपलब्ध नहुँदासमेत व्यवस्थित गर्न नसकिएको कर्मचारीको गुनासो छ । टेलिसेन्टरमा आवश्यक सेवासुविधा नहुँदा आम्दानीसमेत कम भइरहेको कर्मचारी बताउँछन् । सरकारले दसौँ पञ्चवर्षीय योजनामा सूचना प्रविधि दु्रत गतिमा बढाउँदै लैजाने नीतिअनुसार इलाममा पहिलोपटक पाँच स्थानमा र त्यसपछि थप तीन स्थानमा गरी आठ स्थानमा अत्याधुनिक सेवासहितको टेलिसेन्टर स्थापना गरेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया