छात्रामैत्री शौचालय निर्माण गर्ने विद्यालय पुरस्कृत

इनेप्लिज २०७१ चैत १७ गते २:४८ मा प्रकाशित

Khotang_district_locationखोटाङ, १७ चैत । विद्यालय सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सफल खोटाङका एक विद्यालय पुरस्कृत भएको छ ।

छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था, छात्रामैत्री शौचालय, साबुनपानीको प्रयोग, फोहोरको उचित व्यवस्थापनलगायत सरसफाइसम्बन्धी आनीबानीमा परिवर्तन ल्याउन सफल भएकामा नुनथलास्थित जालपा मावि पुरस्कृत भएको हो ।

विद्यालय सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले सञ्चालन गरेको ‘नागरिक आवाज’ कार्यक्रमअन्तर्गत सरसफाइसम्बन्धी बानी परिवर्तन गर्न सफल भएकामा जालपा माविलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको हो । जिल्लाका ३० विद्यालयलाई पछि पार्न सफल विद्यालयलाई प्रोत्साहनस्वरुप रु २० हजार र प्रशंसापत्र प्रदान गरिएको छ ।

विद्यालयको सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका लागि विद्यालयमै क्रियाशील बाल क्लबको सहमतिमा मात्र चलाउन पाउनेगरी विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको नागरिक आवाजका कार्यक्रम संयोजक पेम्बा तामाङले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशनकिशोर राईमार्फत विद्यालयलाई पुरस्कार प्रदान गर्नुभएको हो । सो कार्यक्रम महासङ्घका अध्यक्ष धनप्रसाद गिरीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया