बुटवलमा चित्रकला विचार गोष्ठी सम्पन्न

इनेप्लिज २०७१ फागुन २५ गते ३:३५ मा प्रकाशित

Rupandehi_district_locationबुटवल, २५ फागुन । ‘हाम्रो सिर्जना थला, हाम्रै ललितकला’ भन्ने नाराका साथ बुटवलमा चित्रकला विचार गोष्ठी तथा पोस्टरकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ, नेपाल कमर्सियल आर्टिस्ट सङ्घ रुपन्देही र बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानको आयोजनामा बुटवलको ग्लोबल पिस पार्कमा दुई दिवसीय कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ललितकला प्रतिष्ठानका प्राज्ञ एवम् वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ नारदमणि हार्तम छाली (कलाङ)ले नेपाली चित्रकलामा लोक आधुनिक बिम्ब, सङ्केत र समसामयिकीकरण ः हिजो आज र भोलि विषयमा कार्यकपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले चित्रकलामा युग सापेक्ष र नेपालीपन हुनुपर्ने बताउनुभयो ।

यसैगरी कलाकार मन गोल्डीले ललितकलामा विगतदेखि वर्तमानसम्मको विवरणसहित रुपन्देहीमा ललितकलाको विकाससम्बन्धी विशेष कार्यकपत्र प्रस्तुत गर्नुभयो । सो कार्यपत्रको टिप्पणी गर्दै बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले ललितकलामा कलाकारहरुको आकर्षण रहेको तर व्यवसायिकीकरणका लागि बजारीकरण र राज्यको सहयोग नरहेको बताउनुभयो ।

यसैगरी नेपालमा पोस्टरकलाका बारेमा प्रतिष्ठानका प्राज्ञ सदस्य ज्योतिप्रकाश विकले कार्यपत्र प्रस्तुत गर्नुभयोे । कमर्सियल आर्टिस्ट सङ्घ रुपन्देहीका अध्यक्ष एचबी रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सल्लाहकार देवेन्द्र घिमिरे, उपाध्यक्ष गङ्गादत्त ढकाल, सचिव दलबहादुर गुरुङ, कार्यक्रमका संयोजक बेन थापा, पिस पार्कका सचिव नरेन्द्र भाइलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया