एक हजार छ सय छैँसठीजनाको तस्बिरसहितको नामावली

इनेप्लिज २०७१ फागुन २५ गते ३:४० मा प्रकाशित

matadataइलाम, २५ फागुन । जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यअन्तर्गत जिल्लाका २५ गाउँ विकास समितिमा एक हजार ६६६ जनाले तस्बिर खिचाएको जनाएको छ ।

एक महिनादेखि प्रत्येक गाविसमा सुरु गरेको सो अभियानका क्रममा छुट भएकाहरुले तस्बिरसहितको नामावलीमा तस्बिर खिचाएका हुन् । चमैता, एकतप्पा, फाकफोक, आमचोक, फुएतप्पा, लुम्दे, सिद्धिथुम्का, सोयाक, कोल्बुङ, लक्ष्मीपुर, इरौँटार, जिर्मले, श्रीअन्तु, समालबुङ, महमाई, दानाबारी, चिसापानी, शान्तिपुर, जीतपुरलगायत गाविसमा फोटोसहितको मतदाता नामावलीमा छुट भएकाले नाम दर्ता गराएका हुन् । यीमध्ये सबैभन्दा बढी चमैतामा २११ जनाले नाम दर्ता र फोटो खिचाएका हुन् । नाम दर्ता गराउनेमा महिलाभन्दा पुरुष बढी देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विविध कारणले विगतमा सञ्चालित तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका, विदेश गएकाका लागि लक्ष्यित गरेर पुनः नामावली सङ्कलन गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा कृष्ण लिम्बूका अनुसार विविध कारणले यसअघि छुट भएका व्यक्तिहरू फोटो खिचाउन आएका हुन् ।

कार्यालयका अनुसार तीन नगरपालिका र ४३ गाविसमा यसअघि करिब १८ हजार मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका छन् । छुट भएकालाई जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मङ्गलबारेमा पनि फोटो खिचाउन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया