डढेलोबाट वन जोगाउन अग्निपथ निर्माण

इनेप्लिज २०७१ फागुन २५ गते ३:४२ मा प्रकाशित

aagoरत्ननगर (चितवन), २५ फागुन । गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनले अग्निपथ निर्माण सुरु गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका अध्यक्ष सुरवीर पोख्रेलले पुराना अग्निपथलाई व्यवस्थित गर्ने र नयाँ अग्निपथ निर्माणका लागि उपभोक्ता समितिलाई निर्देशन दिएको बताउनुभयो । कतिपय ठाउँमा कामसमेत सुरु भइसकेको जानकारी आएको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश सामुदायिक वन संरक्षणमा नमुना रहेका छन् । दशकअघि नाँगा पाखापखेरा अहिले हरियालीसमेत भएका छन् ।

सामुदायिक वनको अवधारणाका कारण वन संरक्षणमा नेपाल उदाहरणीय बनेको भन्दै अध्यक्ष पोख्रेलले अब जोगाइराख्ने र वन्यजन्तुको संरक्षण गर्ने जिम्मा पनि उपभोक्तामा रहेको बताउनुभयो । उहाँले वनमा आगलागी भइहालेमा पनि आवश्यक तयारीमा बस्न सामुदायिक वनका उपभोक्तालाई आग्रह गरिएको बताउनुभयो ।

सार्वजनिक एक तथ्याङ्कअनुसार नेपालमा मानवीय कारण ९९ प्रतिशत वन डढेलो हुने गरेको छ । यसलाई रोक्न मानव समुदायलाई सचेत बनाउनु नै मुख्य कुरा भएको डढेलोका अध्यता संरक्षणकर्मी दुर्गाबहादुर कार्कीको भनाइ छ ।

नेपालको समथल क्षेत्रमा १७ प्रतिशत र पहाडी क्षेत्रमा ८३ प्रतिशत वन रहेकाले डढेलोको उच्च जोखिम पहाडी क्षेत्रमा बढी हुन्छ । चितवनमा ७० भन्दा बढी सामुदायिक वन रहेको छ । पछिल्लो समयमा यहाँको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा संरक्षित र दुर्लभ वन्यजन्तुसमेत भएकाले अझै वन डढेलोको कडा निगरानी आवश्यक भएको वन पदाधिकारीहरुले बताएका छन् ।

मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा निकुञ्जमा पाइने बाघ, गैँडा, चित्तललगायत बन्यजन्तु र विभिन्न प्रजातिका चरासमेत रहेका छन् । त्यसैले पनि डढेलोबाट वन जोगाउनु आवश्यक छ ।

प्रतिक्रिया