सिरहामा हात्तीपाइले रोगीको सङ्ख्या दुई सय छत्तीस पुग्यो

इनेप्लिज २०७१ फागुन २५ गते ३:५१ मा प्रकाशित

hattiगोलबजार (सिरहा), २५ फागुन । सिरहामा हात्तीपाइले रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । राज्यले हात्तीपाइले रोग लाग्न नदिन बर्सेनि करोडौँ रुपैयाँ खर्च गरेर अभियान चलाएको छ तर सिरहामा उक्त अभियान निष्प्रभावी बनेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या बढेर २३६ पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यालयप्रमुख डा दयाशङ्करलाल कर्णका अनुसार जिल्लामा हात्तीपाइले रोगबाट २३६ सङ्क्रमित फेला परेकामध्ये १७५ मा हाइड्रोसिल, ५१ को खुट्टा सुन्निएको र १० को हात तथा स्तनको आकार बढेका छन् ।

प्रमुख डा कर्णले गत आर्थिक वर्षमा गाउँ–गाउँमा हात्तीपाइले रोगको औषधि खुवाउने क्रममा रोगीहरु फेला परेको जानकारी दिनुभयो र उहाँले क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग स्थानीयवासीले लाज मानेर लुकाउने गरेको पाइएको बताउनुभयो । “उपचार गर्दा निको हुने हात्तीपाइले रोग लुकाएर राखेकाले समस्या भएको छ”–डा कर्णले भन्नुभयो–“लाज मानेर हात्तीपाइले रोग लुकाएका कतिपयले भारतमा गएर उपचार गराएको पनि पाइएको छ ।”

उहाँले हात्तीपाइले रोगको लक्षण देखेपछि निको हुने रोग भएकाले रोग लुकाउन नहुने सबैसँग आग्रह गर्नुभयो । सरकारले नेपाललाई हात्तीपाइले रोगमुक्त राष्ट्र घोषणा गर्न ३३ जिल्लामा अभियान सञ्चालन गरिरहको छ । रासस

प्रतिक्रिया