लेले गाविस अठारौँं दिसामुक्त क्षेत्र घोषणा

इनेप्लिज २०७१ चैत ३० गते ३:५१ मा प्रकाशित

ललितपुर, ३० चैत । जिल्लालाई सन् २०१५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानस्वरुप लेले गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । यससँगै लेले गाविस ललितपुर जिल्लाको अठारौँं खुल्ला दिसामुक्त गाविसमा परेको छ ।

सो अवसरमा भूमिसुधारमन्त्री दलबहादुर रानाले सन् २०१७ सम्म देशलाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुरुप यस कार्यले थप टेवा पुगेको बताउनुभयो । उहाँले ललितपुरको अति विकट क्षेत्रमा पर्ने गाविसमा बसोबास गर्ने बासिन्दाको स्वास्थ्यमा सुधारका लागि यस कार्यको सराहनासमेत गर्नुभयो ।

हरेक गाविसमा बसोबास गर्ने बासिन्दाको स्वास्थ्यको ख्याल गर्दै जथाभावी फोहोर नगर्ने उद्देश्यका साथ यस अभियानलाई तीव्र रुप दिइएको स्थानीय विकास अधिकारी पशुपति पोखरेलले बताउनुभयो ।

उहाँले बाँकी रहेका गाविसलाई समेत छिट्टै खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई अगाडि बढाइने उल्लेख गर्नु भयो ।
विसं २०६८ को जनगणनाअनुसार करिब १० हजारको हाराहारीमा रहेको सो गाविसमा एक हजार ३०० भन्दा बढी घरधुरी सङ्ख्या रहेका छन । धार्मिक महत्व बोेकेको उक्त गाविस लगनखेलबाट १६ किलोमिटरको दूरीमा पर्दछ ।

उक्त गाविसभित्र आनन्दवन, कुष्ठरोग अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, उच्च माध्यमिक विद्यालय, पार्क र इँटा उद्योगसमेत रहेका छन । यसअघि देवीचौर, सैँवु, गोदामचौर, टीकाथली, सिद्धिपुर, मानिखेल, बडिखेल, झरुवाराशी, इमाडोल, डुकुछाप, हरिसिद्धि, कालेश्वर, ठैवलगायत क्षेत्र खुल्ला दिसामुक्त भइसकेका छन् ।

प्रतिक्रिया