प्रचण्डलाई मान्य हुने संविधान बनाउँछौ

इनेप्लिज २०७२ वैशाख १ गते १४:३९ मा प्रकाशित

NEajainteraction3

दलहरुवीच द्धन्द बढेको र संविधानका विवादित अन्र्तबस्तुमा सहमति जुटाउन दलहरुवीच औपचारिक संबाद समेत हुन नसकिरहेको बेला अबको निकासको बाटाको विषयमा नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी
प्रक्रियाको कुरा गरेर काग्रेसले मुलुकलाई फेरि द्धन्दमा लान चाहेको हो ?
काग्रेसले किन मुलुकलाई द्धन्दमा लाने ? हामीले उहाँहरुले भनेको संघीयता, गणतन्त्र, लोकतन्त्र मानेकै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने हो । त्यो गर्दा द्धन्द हुन्छ भने द्धन्द त गर्न चाहनेले पनि गर्छन नि ।
एमाओवादीसँग तपाईहरु सम्झौता गर्ने पक्षमा हुनुहुन्न ?
सम्झौता गर्न त अहिलेसम्म हामी मरिमेटेर लागेका छौ । सम्झौता गर्न लाई उहाँहरुले पनि रिजनेबल कुरा राख्नु पर्यो, हामी रिजनेबल कुरा राख्छौ । देश र जनतालाई अगाडि राखेर देश र जनताको हितमा कसरी हुन्छ त्यसलाई मुल केन्द्रमा राखेर हाम्रा विवाद टुङ्गयाऔ ।
प्रचण्डले सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरे बार्तामा बस्न तयार छौ भन्नु भएको छ ?
सहमतिमै संविधान जारी गर्छौ भनेर कबुल गर्नुको अर्थ यो देशले कहिल्यै पनि संविधान नपाउने कुरा हो । यी नेता बदमास छन । साना साना कुरामा तिगडम गरेर, झगडा गरेर, रगडा गरेर देशलाई संविधान दिएनन । देशको विकास रोके । आज हामी विदेशीएर बस्नु पर्यो । विदेशमा अपमान सहेर बस्नु पर्यो । नेपालीको यत्रो बेईज्जत भयो भनेर नेपाली जनताले हामीलाई थुकिरहेका छन । हामीले संविधान नदिने ?, अनि सानो सानो कुरा अड्काएर राख्ने ?
उपाय के छ त ?
एउटा उपाय छ । यात उहाँहरु बैज्ञानिक प्रदेशको संरचनामा सहमत हुनुस । बैज्ञानिक प्रदेशको संरचनामा उहाँहरु सहमत हुनु हुन्न । उहाँले हिजोको दिनमा जुन फिलोसफी बाडेर हिड्नु भयो, जुन नारा उहाँहरुले लगाउनु भयो त्यो नाराका बन्दी उहाँहरु हुनु भएको छ । यता जनजातीको पक्षमा नारा लगाउने नेताहरु, उता एक मधेस प्रदेश भन्नेहरु, एकल जातीय प्रदेश भन्नेहरु बन्धक बने । अहिले तिनको बन्धक प्रचण्डजी हुनु भयो । अब यो बन्धनबाट मुक्त हुने आट उहाँहरुले गर्न सक्नु भएन भने एउटा उपाय छ । त्यो उपाय के हो भने उहाँहरुले सहज रुपले प्रक्रियालाई स्विकारिदिनु पर्छ । उहाँहरुले प्रक्रियालाई स्विकारेर के भन्नु पर्छ भने हामीले त मगरलाई, गुरुङ्गलाई सबैलाई राज्य दिन चाहेको हो । तर तपाईहरुले काग्रेस र एमालेलाई बहुमत दिनुभयो । गुरुङ्ग, मगर तामाङ्ग भएकै क्षेत्रमा हाम्रो जमानत जफत गराउनु भयो । तिनैलाई सबैले मिलेर भोट हाल्नु भयो । अब हामीले हिजो भनेको कुरा गर्न सकेनौ । उनीहरुलाई बहुमत दिएपछि उनीहरुले गरे भोली हामीलाई बहुमत दिनु भयो भने हामी त्यही अनुसार गर्छौ भनेर जनतालाई भन्नु पर्यो । यसो गर्दा उहाँहरुले पनि भन्ने ठाँउ पाउनु भयो र मुलुकले प्रक्रियाबाट निकास पनि पाउने भयो । उहाँहरुलाई रेस्क्यू गर्ने जिम्मेवारी हाम्रो हो, हामी रेस्क्यू गर्छौ ।

उहाँहरुले त प्रक्रियामा गए संविधानसभामै रहँदैनौ भन्नुभएको छ ?
त्यो कुरा प्रजातान्त्रिक होईन । प्रजातन्त्र नै नमान्नेसँग हाम्रो कसरी सम्झौता हुन्छ ? योदेशको समस्या नै यही हो । केही मान्छेहरुले यो देशमा लोकतन्त्र आएपछि त्यसलाई स्विकार र आत्मसाथ गर्न सकेका छैनन । अहिलेपनि आत्मसाथ गर्न सकेका छैनन । उहाँले लोकतन्त्रलाई आत्मसाथ गर्न सक्नु हुन्न भने देश र जनताको भलो कसरी गर्न सक्नु हुन्छ ?
उहाँहरुले आत्मसर्मपण गर्न हामी आएका होईन भन्नु भएको छ ?
लोकतन्त्रको मान्यतालाई मान्नु आत्मसर्मपण हुन्छ र ? लोकतन्त्रलाई मान्नु आत्मसर्मपण हुने ठान्नेहरु मुलुकका विकासका बाधक हुन्छन । किनकी लोकतन्त्रमा त हारिन्छ पनि जितिन्छ पनि । स्पोर्टर्सम्यन स्प्रिट त चाहियो नि । स्पोर्टर्स म्यान स्प्रिट गर्न नसक्ने कसरी लोकतन्त्रबादी हुन्छन ? उहाँहरु लोकतन्त्रबादी नहुँदासम्म हामीलाई गाह्रो पर्यो नि ।
एमाओवादी र मधेसवादीले केपी ओली र रामचन्द्र पौडेल लचिलो नहुँदा सहमति हुन नसकेको भन्छन नि ?
मत सहमति गर्न यति धेरै मरेर लागेको छु । कहाँ नेरी सहमति हुन्छ गरौन त भनेको छु । मलाई पनि चित्तबुझ्दो कुरा ल्याउनुस, तपाईलाई पनि चित्तबुझ्दो होस भनेर भनेको छु र लागिरहेको छु । यत्रो लाग्दापनि उहाँहरु मिल्नु हुन्न त म के गर्नु ?
तपाईले नयाँ सर्त र तर्क ल्याएपछि बार्ता भाडिन्छ रे नि ?
मैले नयाँ सर्त कहिल्यै ल्याएको छैन । त्यो कुरा गलत हो । त्यो ममाथि अन्याय हो ।
बालुवाटारको पछिल्लो बार्ता पनि तपाईले भाडेको रे ?
बालुवाटारको बार्ता मैले भाडेको होईन । प्रचण्डजी आउनु भयो, अनि बामदेबजीले के भन्नु भयो भने नौ बुँदे प्रस्ताव हामीले अगाडि राखेका छौ । यसलाई कहाँ सुधार्नु पर्ने हो कहाँ मिलाउनु पर्ने हो गरौ भनेर भन्न नपाउँदै प्रचण्डजीले ए नौबुँदे भन्ने भनेर जंगिदै अनैतिक, अबैधानिक र असम्बैधानिक भनेर बर्सिन थालेपछि मैले यो तपाईले के भन्न थालेको भनेर त भन्नै पर्यो । के भन्न खोजेको तपाईले यस्तो पनि कुरा गर्ने हो ? भनेर मैले भनेको हु । त्यसपछि उहाँहरु गई हाल्नु भयो । अरु मैले केही भनेको छैन ।
उसो भए कुरा मिल्ने आधार छैन ?
मलाई लाग्छ कुरा मिल्न सक्छ । उहाँहरुले देशको रियालिटिलाई विस्तारै महसुस गर्नु हुन्छ । उहाँहरु यथार्थको धरातलमा विस्तारै आउने बेला भएको छ । मलाई एक दिनको सम्झना छ, नेता प्रचण्डजीले भन्नु भएको थियो अलिकति ढिलाभएर पनि के विग्रीएको छ र ? मानिसहरु विस्तारै यथार्थमा आउँदैछन । यो त हिजोको आक्रोस, जोस, उष्णता विस्तारै मत्थर हुँदैछ । त्यो अहिले पनि मलाई झझल्को आई रहन्छ । बास्तबमा भन्ने होभने हिजोको जस्तो उग्रता अहिले छैनन नि । अहिले विस्तारै मानिसहरु ठण्डा हुँदैछन । उहाँका उग्रता पनि ठण्डा भयो होला हाम्रो पनि उग्रता ठण्डा भयो होला । विस्तारै हामीले रियलाईजेसनमा आउने हो । हामी मिलेर जानु पर्छ । सबैले स्वामित्व लिउन संविधानसभा भनेर म त भनिरहेको छु । जव जव अन नेचुरल तर्क कसैले ल्याउँछ र त्यो अननेचुरल तर्कले मलाई डोमिनेट गर्न खोज्छ भने त्यहाँ मेरो लोकतान्त्रिक आत्मा त्यती विद्रोही हुन्छ । जतिबेला माओवादीको झुठमुटको डोमिनेट हुन खोज्छ त्यतीबेला म रियाक्ट गर्छु ।
तपाई बार्तामा विद्रोही स्वभाव देखाउन थाल्नु भएको छ ?
विद्रोही होईन । मलाई परेको ठाँउमा जवाफ दिने हो । तर म सामानजस्य र समन्वय होस भन्ने चाहन्छु । सहमति गरेर संविधान बनाऔ भनेर म त लागिनै रहेको छु नि ।
अबको संविधानसभाको बैठकमा तपाईहरु के गर्नु हुन्छ ?
अहिले नै हतार गरेर प्रक्रियामा लगि हाल्नु पर्छ भन्ने केही छैन । सकेसम्म सहमति गरेर नै अगाडि बढ्नु पर्छ भनने मेरो मान्यता छ ।
संविधानसभालाई कहिलेसम्म अनिर्णयमा राख्ने ?
संविधान दिने जिम्मेवारी हाम्रो छ । हाम्रो सीमा हाम्रो दायित्व, संविधानसभामा हामी किन आएका हौ, जनताले किन पठाएका हुन भन्ने कुरा हामीले बुझेका छौ । संविधानसभामा हामीलाई नेपाली जनताले संविधान बनाउन पठाएका हुन । जो रिसाएपनि संविधानसभाबाट संविधान नबनाई हामी फर्किन सक्दैनौ । कि हामीले राजनीति छाडिदिनु पर्यो कि हामीले संविधान दिन सक्नु पर्यो ।
पहिलो संविधानसभाबाट त संविधान दिन सक्नु भएन नि ?
पहिलो संविधानसभामा त हामीसँग संविधान बनाउन सक्ने क्षमता थिएन । उहाँहरुसँग संविधान बनाउन सक्ने क्षमता थियो । त्यसैकारण उहाँहरुकै कुरा मानिदिएर संविधान बनाउनुस भन्यौ । उहाँहरुले बनाउन सक्नु भएन अब के गर्ने ? त्यसपछि हामीले जनतालाई भन्यौ उनीहरुसँग बहुमत थियो संविधान बनाएनन । अब हामी बनाउँछौ भनेर हामीले कबुल गर्यौ । हामीलाई जनताले पत्याए । यत्रो जनताले पत्याएपछि हामी संविधान निर्माणको लागि अर्को वर्ष कसरी जान सक्छौ ?
तपाईहरुले माघ ८ गते संविधान दिन सक्नु भएन नि ?
गल्ती भयो, त्यसैको मार खाईरहेका छौ अहिले । जनताले हामीलाई तिमिहरु यस्तो लाछि संविधान दिन सकेनौ भनेर भनिरहेका छन । कतिबेलासम्म हामीले जनतालाई झुक्याउने ? संविधान आउँछ । ल्याउनै पर्छ, ल्याईन्छ ।
कहिलेसम्म दिनु हुन्छ त ?
एउटा मिति तोकेर म बाधिन चाहन्न । जतिसक्दो चाँडो प्रक्रियाले भ्याएसम्म काम गर्दै जाँदा जहाँ पुगिन्छ संविधान आउँछ । चार वर्ष लाग्दैन । संविधान जारी भएपछि गर्नु पर्ने कामहरु पनि छन । ति कामहरु भ्याईने गरेर संविधान जारी गर्नु पर्दछ । २०७२ सालभित्रमा मुलुकले कुनै पनि हालतमा संविधान आउँछ । एमाओवादीहरुलाई आउन चाहनु हुन्न भने कसरी ल्याउने ?
दुई तिहाईको दम्भ तपाईहरुसँग छरे नि ?
दुई तिहाई पनि दम्भ हुन्छ ? दुई तिहाईलाई दम्भ भन्नु, बहुमतलाई अपमानित गर्नु घोर तनाशाही हो । यो मुट्ठी भर ब्यक्तिले देश कब्जा गर्ने सोच हो । त्यो सोचका विरुद्धको लडाई हो हाम्रो ।
पहिलो संविधानसभामा सहमतिमै संविधान जारी गर्नु पर्छ भन्ने तपाईहरु नै होईन ?
लाटीले बाउ भन्न नजाने झै खाली सहमति सहमति गरेर हुँदैन । सहमतिको पनि एउटा सीमा हुन्छ । संविधान नै नबनाउने गरी हामीले सहमति सहकार्य र एकताको कुरा गरेका होईनौ । अधिकतम सहमतिको कोशिस गर्ने हो तर संविधान नै बन्दैन भने सहमति जहाँ सुकै जाओस, बहुमतले निर्णय गर्छ ।
त्यो कुरा तपाईलेपहिलो संविधानसभामा किन भन्न नसक्नु भएको ?
हामीले भनेका छौ । मैले त्यती बेला पनि तपाईहरुको प्रदेश पास गराएर हेर्नुस, चलाएर हेर्नुस भनेर भनिदिएको थिए । उनीहरुले भने जस्तो संघीयता चल्न सक्दैन । हामी सबैले स्विकार्ने संविधान बनाई दिन्छौ ।
एमाओवादीले मान्ने संविधान बनाउनु हुन्छ ?
हो, हामी प्रचण्डले मान्ने, उपेन्द्र यादव, महन्थ ठाकुरको आत्माले स्विकार्ने संविधान बनाई दिन्छौ । संविधान जारी गर्दा हामीले मात्रै जारी गर्ने अवस्था कथम कदाचित आयो भने पनि हामी उहाँहरुको भित्रि दिलले मान्ने खाल्को संविधान बनाउँछौ ।

प्रतिक्रिया