महामारी फैलन नदिने गरी सरकारले काम गरिरहेको छ

इनेप्लिज २०७२ वैशाख १९ गते १०:५२ मा प्रकाशित

NNमुलुकमा गएको महाविनासकारी भुईचालोपछि उत्पन्न समस्या, सरकारले गरिरहेको काम लगायतका विषयमा स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

जनताले उद्दार र राहत पाएका छैनन, अब महामारीको त्रास पनि फैलदै छ तपाईहरु के गरिरहनु भएको छ ?
मन्त्री परिषदको बैठक बसेर हामी राहतको प्याकेज घोषणा गर्दैछौ । अर्को कुरा यो महाभुकम्पपछि आउन सक्ने महामारीको विषयमा अत्यन्तै सर्तक छौ । ठाँउ ठाँउमा हामीले संक्रामक रोग फैलन नपाओस भनेर ब्लिचिङ्ग पाउडर छर्ने,सरसफाईको काम अघि बढाईरहेका छौ । सबै स्वास्थ्यकर्मीहरु र सामाजिक कार्यकर्ताहरु यो वा त्यो नभनि लाग्नु भएको छ त्यसको म सरहाना गर्न चाहन्छु । हामी अहिले अत्यन्तै ठूलो विपत्तिमा छौ र अहिलेसम्म त हामीले मानिसलाई जिवितै पनि उद्दार गर्न सक्यौ अझै त्यो भित्र धेरै मानिस र गाईबस्तुको शब हुन सक्छ । तिनिहरुलाई निकाल्ने समस्या त छदैछन । त्यसपछिको अर्को समस्या पानीका मुहानहरुमै प्रर्दुषित भएका छन अब टिर्टमेन्ट नगरी त्यस्ता पानीहरु प्रयास गर्नु हुँदैन । टिर्टमेन्ट प्लान्टसहित गाँउ गाँउमा खाने पानीको ब्यवस्था गर्ने योजना पनि हामीले बनाएका छौ । अहिले विनम्रतापूर्वक म के अनुरोध गर्न चाहन्छु भने न्यूनतम रुपमा पनि भिडमा पनि धेरै नबस्ने, सिजनल फ्लु हुनेले मास्क लगाई दिनुपर्छ । यसमा सबैले सबैमा सहयोग गर्ने । घर भत्किएका छन, ती घर बनाउन नेपाल सरकारले सहयोग गर्नु पर्छ । मृतक परिवारलाई न्यूनमत पनि राहत दिनु पर्छ भन्ने विषयमा सरकार अत्यन्तै सचेत छ ।

तर जनताले त अहिलेसम्म केही पाउन सकेका छैनन नि ?
हामीले यो घटनालाई अत्यन्तै गंभिरताका साथ लिएका छौ । आवश्यक भएका ठाँउहरुमा शिविरमा बसेका नागरिक सम्म स्वास्थ्य सुविधान पुर्याउन हामीले स्वास्थ कर्मिसहितको मोबाईल टिमहरु बनाएका छौ । अहिले पनि उनीहरुले सेवा दिईरहेका छन । लाखौ मानिसहरु खुल्ला आकासमुनि बस्नु परेकोले हामीले सबैदेशसँग त्रिपालको लागि आग्रह गरेका छौ । दश लाख टेण्ट मध्ये केही टेण्डहरु आईसकेका छन । आईपुग्न केही ढिला भयो । महाभुकम्पको यो बेलामा कसैले सहयोग गर्छ भने गर्छ नभए हामी किनेरै भए पनि ल्याउछौ । देश भरीका सबै पालहरु हामीले प्रयोग गरिरहेका छौ । राजधानीमा त छदैछ अझै बाहिर झनै अप्ठ्यारो छ । त्यसैले ति विकट ठाँउमा राहत नपुर्याई हामी यो त्यो गर्यौ भनेर भन्दैनौ । सबै ब्यवस्था मिलाउन सरकार पुरै युद्धस्तरमा लागिरहेको छ । एयरपोर्ट साघुरो भएको देख्नु भएको छ त्यसलाई कसरी सरलीकृत गर्ने भन्नेमा लागेका छौ । चिन र भारतसरकारले हेलिकप्टर ल्याएको छ । ति साधनबाट हामीले राहतका केही सामग्री ल्याउन सकिन्छ कि भनेर परराष्ट्रलाई भनिरहेका छौ । मन्त्रालय त्यो काम मिलाउन लागिरहेको छ । फ्रान्सको टिमलाई हामी गोरखा पठाउँदै छौ । हामीले सकेको गरिरहेका छौ ।

टेण्टको समस्या अब हुँदैन ?
जे हुनु थियो भयो अब हुँदैन । ट्रकहरु चल्न थालेका छन । हेलिकप्टरबाट पुर्याउने, ट्रकबाट सदरमुकाम सम्म सामान पुर्याउने र शहरमा पनि खानेपानी पुर्याउने कोशिस हामीले गरेका छौ । ब्यवस्थापन कति सफल छ ? नभए हामी सुधार्न पनि तत्पर छौ । हाम्रा सयौ स्वास्थ्य सस्थाहरु कोल्याप्स भएका छन । हामीले त्यहाँ टेण्ट टागेर भएपनि स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन । उनीहरुले विना आराम सेवा दिईरहेका छन ।

सबै घाईतेहरुलाई समयमै उपचारको ब्यवस्था मिलाउन सक्नु हुन्छ ?
अहिले पनि ढिला नै भएको छ । जति सक्दो चाडो बाँकी समयभित्र हामी उपचार गराउन सक्छौ भनेर लागिरहेका छन ।

मुलुकमा महामारी फैलन सक्ने स्थिति छैन ?
हामीले त्यही अपेक्षाका साथ काम गरिरहेका छौ । अहिले कतिपय निजी र सरकारी सस्थालाई पनि औषधीको समस्या परेको छ । त्यसैले हामीले किनेर भएपनि उपचार गर्नुस हामी त्यसको पैसा तिर्छौ भनेर भनेका छौ । हामीले विरामीबाट होईन, हामीबाट खर्च भएको रकम लिनुस भनेर भनेका छौ ।

औषधीको अभाव छैन ?
औषधीको कतै कतै अभाव देखिएजस्तो भए पनि हामीले किनेर पनि त्यहाँ पठाईरहेका छौ । केही समय अभाव जस्तो देखिएको जानकारी आउना साथ हामीले पठाएका छौ । औषधीको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर हामीले प्रयास गरिरहेका छौ । राज्य प्रभावितका पक्षमा छ ।

निजी क्षेत्रका स्वास्थ्य सस्थाले पैसा नलिई उपचार गराउलान ?
हामीले भनेका छौ । सरकारी दररेटमा हामी औषधीको पैसा दिन्छौ । अप्रेसनको चार्ज नलिईदिनुस, उपकरणको पैसा हामी तिर्छौ भनेर भनेका छौ । हामीले सहयोग गर्ने बेला पनि यही हो, सहयोग गर्नुस भनेर आग्रह गरेका छौ । सरकारले सबै उपचारको खर्च ब्यहोर्छ, कसैले रकम तिर्नु पर्दैन ।

प्रतिक्रिया