हामीले नेपाल सरकार र नेपाली सेनाले भने भन्दा बाहिरको काम गरेका छैनौ

इनेप्लिज २०७२ वैशाख २९ गते २०:०१ मा प्रकाशित

 

RCबैशाख १२ गते आएको विनासकारी भैचालोपछि राहत र उद्दार कार्यमा खटिएको भारतीय सेना र त्यसको विषयमा लिएर नेपालमा भईरहेको टिकाटिप्पणीसहित राहत, उद्दार, पुर्नस्थापनामा भारतले गर्न सक्ने सहयोग र धारणाको विषयमा नेपालकालागि भारतीय राजदुत रञ्जित रेसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी
नेपालका भुकम्प पीडितको राहतको लागि भारतले के के गर्दैछ ?
यसखाले जब त्रासदी हुन्छ तव त्यसको धेरै चरणहरु हुने गर्दछ । प्रारम्भीक चरणमा खोजी र उद्दार प्राथमिकतामा थियो । जो भग्नावशेसको भित्र फसेका छन उनीहरुलाई कसरी निकाल्ने । त्यो चरण अब समाप्त भईसकेको छ । अबको चरण भनेको भग्नावशेसलाई हटाउने, यसको लागि नेपाल सरकार लागिरहेको छ । जुन भवन चर्केका छन उनीहरुलाई मर्मत गर्न सकिन्छ कि सकिदैन जस्ता प्रक्रियाहरु अहिले चलिरहेका छन । साथसाथै राहतको काम अब झनै तिब्रताको साथ अघि बढीरहेको छ । भारतको तर्फबाट पाँच हजार टन भन्दा बढी सामग्री आईसकेको छ । टेण्ट र त्रिपाल पनि धेरै मात्रामा ल्याईएको छ । अरु पनि सामग्रीहरु आईरहेका छन । नेपाल सरकारले मुख्य विषय जुन हामीलाई भनेको छ । त्यो यो हो कि अब मनसुन आउने बाला छ । ६ देखि ८ साताभित्र मनसुन आउछ । त्यो भन्दा पहिला के काम गर्नु पर्छ, के तयारी गर्नु पर्छ । त्यसमा पनि हामी सहयोग गर्छौ । त्यसपछि जुन रिकोभरी प्रोग्राम बन्छ त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नु भएको छ कि त्यसमा हामी पनि नेपालको साथ साथ उभिन्छौ । जे भारतको क्षमता छ, जुन नेपालको आवश्यकता हुन्छ त्यसमा हामी सहयोग गर्छौ ।
अझै पनि विकट स्थानमा त्रिपाल र खाद्यान्नको आवश्यकता देखिएको छ ?
हो, हामीले पनि पुरा तयारी गरेका छौ । ७० हजार त्रिपाल अझै नेपाल आउँदैछ । त्यसपछि चेन्नाई र अरु ठाँउबाट पनि १० औ हजार त्रिपाल आउने सम्भावना छ । मलाई लाग्छ आउने दुई तीन दिनमा त्रिपाल र टेण्टको समस्या धेरै कम हुन्छ । यसको साथसाथै म यो पनि भन्न चाहन्छु जब मनसुन आउँछ त्यसबेला त्रिपालले मानिसलाई कति हदसम्म बचाउन सक्छ ? भर्खरै मेरो राष्ट्रिय योजना आयोगसँग कुराकानी भएको छ । उहाँहरु टेम्पोरोरी सेल्टरको कुरा गरिरहनु भएको छ । त्यसमा पनि हामी सहयोग गर्छौ ।
भारत सरकार नेपालको यो दुखमा के केमा सहयोग गर्न चाहन्छ ?
यो विपत्तको बेलामा नेपालले जे जे सहयोगको आवश्यकता छ भारत त्यसलाई पुरा गर्न पुरै प्रयास गर्छ । अहिलेसम्म त गर्दैनै आएको छ । भविष्य पनि गरिनै रहन्छ ।
भारतबाट आएको राहत सामग्रीमा पुराना र कमअसल सामग्री आएको कुरा छनि ?
हेर्नुस, अहिले भारतबाट तीन किमिसमका सामग्रीहरु आएका छन । एउटा भारत सरकारको तर्फबाट, दोस्रो हाम्रो राज्य सरकारको तर्फबाट र तेस्रो गैरसरकारी संस्था तथा ब्यक्तिको तर्फबाट सामग्रीहरु आएको छ । यहाँ जति पनि सामग्रीहरु आएका छन त्यसमध्ये ९९ प्रतिसत नयाँ र गुणस्तरीय सामग्रीहरु नै छन । हुन सक्छ, कुनै ब्यक्तिहरुले पठाएको सामग्रीहरुमा पुराना कपडाहरु छन भने हामीले स्पष्ट भनिसकेका छौ । पुरानो कपडाको नेपालमा कुनै आवश्यकता छैन । त्यो अब आउँदैन । जहाँसम्म खाद्यान्न गुणस्तरयूक्त नभएको भन्ने कुरा छ त्यस विषयमा प्रश्नै उठ्न सक्दैन । केही ब्यक्तिहरु यस्ता नकारात्मक कुरा गर्छन । मैले त अधिकांश सामानको आफै अनुगमन गरेको छु । राम्रा सामग्रीहरु आएका छ, जसले सामग्रीहरु पाएकाछन उनीहरुले सहयोगको लागि धन्यबाद नै दिएका छन । एउटा समस्या के आईरहेको छ भने सामानहरु जिल्ला सदरमुकाम सम्म हेलिकप्टरबाट लैजाने हो त्यसपछि विकट स्थानमा कसरी पठाउने भन्ने मुद्दा टडकारो छ । नेपाल सरकार पनि यो विषयमा चिन्तित छ ।
राहत वितरणमा भारतीय हेलिकप्टरको प्रभावकारिता भएन भन्ने पनि छ नि ?
हाम्रो तेह्र हेलिकप्टर छन । त्यसमध्ये आठ काठमाडौमा छ र पाँच पोखरमा छ । ती हेलिकप्टरहरु मुख्य प्रभावित जिल्लाहरु जस्तो गोरखा, लमजुङ्ग जहाँ भुकम्पको केन्द्र छ । त्यस क्षेत्रमा कार्यरत छन । ति हेलिकप्टरहरुले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । ती हेलिकप्टरहरुले आज के गर्ने, कहा जाने, के सामान लाने भन्ने कुरा नेपाली सेनाले तय गर्छ । हाम्रो हेलिकप्टकरको परिचालन पुरै नेपाली सेनासँगको समन्वयमा भईरहेको छ । कसैले भारतीय हेलिकप्ट यहाँ गएनन त्यहाँ गयो भनेर भनिरहेका छन उनीहरुलाई यो थाहाँ नहुन सक्छ कि हाम्रो हेलिकप्टर नेपाली सेनाले परिचालन गर्छ भनेर । प्रमुख जिल्ला अधिकारी वा क्षेत्रीय प्रशासकको कुनै आवश्यकता छ भने उनीहरुले नेपाली सेनालाई आफ्नो कुरा भन्नु पर्छ । नेपाली सेना मार्फत नै हाम्रा पाईलटहरुलाई त्यो जानकारी हुन्छ । उनीहरुले सिधै हाम्रा हेलिकप्टर पाईलटलाई यस किसिमको आदेश दिन सक्दैनन त्यसैले यस्तो भएको हुनु पर्छ । धेरै मानिसले एउटा विषयमा समन्वय गरे भने धेरै अन्यौलता हुन सक्छ । त्यसैले नेपाल सरकारले निर्णय गरेको छ कि नेपालमा जुन विदेशी सेनाको सामग्रीहरु आएका छन उनीहरुको समन्वय होस ।
नेपाली सेनाको हेलिकप्ट जति भारतीय हेलिकप्टरले काम गर्न सकेनन नि ?
यो आरोप नै गलत छ किनकी नेपालमा धेरै हेलिकप्ट हल्का हेलिकप्टरहरु छन त्यसले त्यती धेरै सामग्रीहरु बोक्न सक्दैन । भारतबाट जति पनि हेलिकप्टर आएका छन ८ वटा मि १७ हेलिकप्टर हेब्बी हेलिकप्टर हुन । मैले पाएको जानकारी अनुसार ३ सय टन भन्दा बढी राहत सामग्री तीनीहरुले पुर्याई सकेका छन । यी हेलिकप्टरमा एउटा नेपाली सेनाका लियाजो अफिसर अनिवार्य हुन्छन । मलाई लाग्छ केही ईन्ट्रेस्ट गु्रपले यस्तो काम गर्दैछन । तर हामी र हाम्रा टिम पुरै कन्फिडेन्सका साथ र निस्वार्थ काम गरिरहेका छन ।
भारतीय हेलिकप्ट चीनीया सीमानामा गएको कुरा पनि आएको छ ?
मैले पहिला नै भनिसकेको छु । भारतीय हेलिकप्टले आफै केही गरेकै छैन । जे निर्णय हुनु पर्ने हो त्यो नेपाली सेनाबाट हुन्छ । कुनै जिल्लामा धेरै ठूलो विपत्ति छ भने त्यहाँ पुग्न जे पनि साधन नेपाल सरकारसँग छ त्यसको प्रयोग गर्नु पर्छ । भारतीय सेनाको हेलिकप्टरले सिन्धुपाल्चोकमा दुरदराजको क्षेत्रमा राहत पुर्याएको छ । कतिपय ठाँउमा चिनका उद्दार टोलीलाई पनि हाम्रो हेलिकप्टले लिएर पुर्याएको छ । कतिपय ठाँउमा चिनियाँ पर्यटकहरुलाई पनि भारतीय हेलिकप्टरबाट उद्दार गरिएको छ । अहिले पुरै अन्तर्राष्ट्रिय समूदाय नेपालमा सहयोग गर्न लागिपरेको छ उनीहरुसँग साथसाथ मिलेर काम भईरहेको छ । म यो पनि बताई दिउ कि पछिल्लो समयमा तराईमा आएको त्रिपाललाई अमेरिकी हेलिकप्टहरुले बोकेर काठमाडौ ल्याएका छन । यो संकटको समयमा सबै देश नेपाललाई सहयोग गर्न आएका छन । यसमा अरु कुनै उद्देश्य छैन । भारतको स्वार्थ यो छ कि नेपालको सरकार र जनतालाई यो विपत्तको बेलामा कसरी सहयोग गर्न सक्छौ ।
नेपालको राजनीतिमा भारतको चासो त धेरै छ नि ?
नेपालमा हाम्रो केही राजनीतिक स्वार्थ छैन । फेरि यो विपत्तको बेलामा के राजनीतिक स्वार्थ हुन सक्छ ? सबैभन्दा ठूलो कुरा भनेको जो अहिले पीडित छन उनीहरु समक्ष राहत कसरी पुर्याउन सकिन्छ त्यो मात्रै हो । अहिले नेपाल सरकारको पनि यही दायित्व हो र हामी जो नेपाल सरकारलाई सहयोग गरिरहेका छौ उनीहरुको पनि त्यही दायित्व हो ।
नेपाल र भारतको सम्बन्धमा बेला बेलामा संकट किन आईरहन्छ त ?
यो अहिलेको बेला यो विषयमा चर्चा गर्न उपयूक्त समय होईन । यसकोलागि अलग्गै समयमा अलग्गै चर्चा गर्नु पर्छ । मलाई लाग्छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो वर्ष जुन दुई वटा भ्रमणहरु भए त्यसपछि यति राम्रो विश्वासको बातावरण बनेको छ दुई देशमा । पचासौ वर्षदेखि जलविद्युतका विषय जुन त्यसै थाति रहेका थिए ती अगाडि बढीरहेका छन । मेरो विचारमा यो विचमा हामी दुई देशको विचको सम्बन्ध अझै सुदृढ बनेको छ र तिब्रताको साथ अघि बढीरहेको छ।
नेपालको पुर्ननिर्माणमा भारतीय प्रधानमन्त्रीको कुनै योजना छ ?
हेनुर्स, हाम्रो एउटा स्पष्ट राजनीतिक निर्णय छ र प्रधानमन्त्री ज्यूले पनि भन्नु भएको छ कि नेपाल र भारत साथ साथ उभिन्छन । यसको मतलब हो कि हामी साथ मिलेर काम गर्छौ । नेपालको लागि जे सहयोग आवश्यक पर्छ र भारतले जे दिन सक्छ त्यो दिन्छ । नेपालको अर्थमन्त्रालय र योजना आयोग एउटा योजना बनाईरहेको छ । एउटा योजना बनिरहेको छ कि मनसुन भन्दा अघि के गर्ने अर्को कुरा जुन पुर्ननिर्माणको कुरा छ । त्यो चाहे कृषिमा होस, चाहे सम्पदा क्षेत्र हुन, पर्यटन क्षेत्र होस, भत्केका भवन हुन यीनीहरुको सवालमा एउटा योजना बनिरहेको छ । आर्थिक पुर्नउत्थानको योजना कुन किसिमको हुन्छ यसमा भारतले पुरा सहयोग गर्छ । नेपालले योजना बनाएपछि भारतले सहयोग घोषणा गर्छ ।
अहिले अस्थायी आवासको आवश्यकता छ । त्यस विषयमा हाम्रा प्राविधिक र नेपालका प्राविधिकवीच कुुराकानी भईरहेको छ । हाम्रो प्राथमिकता यो छ कि अहिले स्थानीय सामग्रीहरुको प्रयोग गरेर यस्तो आवासको निर्माण गर्न सकियोस । जसको बारेमा स्थानीयलाई थाहा होस र धेरै सामग्री पनि बाहिरबाट ल्याउन नपरोस । पहाडमा ढुङ्गा प्रयाप्त रहेको छ ।
अस्थायी आवासको ब्यवस्थाको लागि भारतीय सरकारले के गर्दैछ ?
हाम्रो सरकारले नेपाल सरकारसँग नजिकमा रहेर समन्वय गरिरहेको छ । तर बुझ्नु के पर्छ भने यो काम नेपाल सरकारले गर्ने हो । पहिला योजना बनाउनु पर्छ , त्यसमा भारत सहयोग गर्छ । योजना बनाउन पनि हाम्रो अनुभवको सहयोग गर्न चाहन्छ । किनकी हाम्रो सस्कार र बसाई एउटै खाले छ ।
भारतले आर्थिक सहयोगको त घोषणा गरेको छैन नि ?
भारतीय गृहमन्त्रीले पनि संसदको बैठकमा त्यसको पूर्ण विवरण प्रस्तुत गरिसक्नु भएको छ । कति चामल, दाल र त्रिपाल गयो भन्ने विवरण प्रस्तुत गर्नु भएको छ । जसले राहत पुर्याउन सकेका छैनन उनीहरुले पैसा दिईरहेका हुन । हामीले दिएको सहयोगको मुल्याङ्गकन गर्ने हो भने त्यो धेरै छ । भारतबाट पनि धेरै आर्थिक सहयोग आएको छ । नयाँ दिल्लीमा तपाईहरुको दुतावासले पनि राहत कोष स्थापना गरेको छ । कसैले रकम घोषणा गरेका छन, कसैले राहत दिए, कोही पर्खिएर बसेका छन कि पुर्नस्थापनाको योजना घोषणा होस । तपाई त सानो रकमको कुरा गरिरहनु भएको छ । यूएनले ४१५ मिलियनको सहयोगको अपिल गरेको छ । यो त केही पनि होईन, नेपालको अर्थतन्त्रलाई पुर्नउत्थान गर्नको लागि अरबौ रुपैया लाग्छ । यसको लागि एउटा अन्तर्राष्ट्रिय सम्मेलन हुन्छ, जहाँ हरेक मुलुकले यो गर्ने त्यो गर्ने प्रतिबद्धता ब्यक्त गर्छन तर त्यसको लागि योजना त बन्नु पर्छ नि । जब योजना बन्छ तब मात्रै सहयोग आउँछ ।
भारतीय प्रधानमन्त्रीसँग तपाईको कुराकानी भएको छैन ?
भएको छ । भारतीय प्रधानमन्त्री नेपालको प्रधानमन्त्री, राष्ट्रपति, गृहमन्त्रीसँग नियमित सम्पर्कमा हुनु हुन्छ । म पनि सबै राजनीतिक दलका नेताहरुसँगको सम्पर्कमा छु । हाम्रो सहयोग, समन्वय एकदमै राम्रो भईरहेको छ ।
नेपालमा सरकारमार्फतबाट सहयोग गर्नु हुन्छ कि अलग्गै संयन्त्र बनाउनु हुन्छ ?
विपत्तिमा तत्काल राहत पुर्याउने विषयमा एक खाले प्रक्रिया हुन्छ । त्यसमा गैरसरकारी सस्थाहरुले पनि काम गर्छन । दोस्रो जव अस्थायी आवास बनाउने कुरा हुन्छ त्यहाँ सरकारको क्षमता छ भने आफै गर्न सक्छ । यदि छैन भने दोस्रो खाले योजना पनि बन्न सक्छ कि कुनै कम्पनि वा ब्यक्तिले म यो गाँउ बनाईदिन्छु भन्छ भने त्यस खालको पनि ब्यवस्था हुन सक्छ । यो निर्णय यहाँको सरकारले लिनु पर्छ । तर म एउटा कुरा कन्भिन्स छु कि सरकारको समन्वय र नियन्त्रणमा नै सहयोग हुन सक्छ । नभए कसरी निर्णय गर्ने के कहा बन्ने भनेर । यहाँ यहाँ यो आवश्यक छ भनेर सरकारले नै प्राथमिकता तय गर्नु पर्छ । तर काम गर्न अरु पनि तयार हुन्छन भने यस्तो ब्यवस्था गर्नु पर्यो कि उसले पनि काम गर्न सक्नु पर्यो । अन्तिम पुर्ननिर्माणको जुन काम हुन्छ यसमा त सरकारको नियन्त्रणमा नै काम हुनु पर्छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले त अन्तर्राष्ट्रिय समूदायले हाम्रो कुरा सुनेन भनेर भन्नु भएको छ नि ?
यसमा म टिप्पणी गर्न चाहन्न । तर म यदि भन्न चाहन्छु कि जो जो यहाँ काम गर्न चाहिरहेका छन उनीहरु पीडित र सरकारलाई सहयोग गर्न चाहिरहेका छन । सरकारको नियन्त्रण र समन्वयमा नै सबैभन्दा राम्रो काम हुन सक्छ । सबै मानिस पीडितलाई कसरी राहत पुर्याउन सकिन्छ भन्नेमा चिन्तित छन ।
नेपालका परराष्ट्रमन्त्रीले फिर्ता जाउ भन्दा पनि नमानेर भारतीय सेनाले नेपालको विमानस्थल कब्जा गरेर बसेको आरोप लगाउनु भएको छ नि ?
मलाई यसको जानकारी छैन । मलाई यो सहि कुरा हो भन्ने लाग्दैन । मलाई यो लागि रहेको छ कि तपाईहरु कतिपय विषयलाई कन्फ्यूज गरिरहनु भएको छ । भारतको तर्फबाट धेरै प्रकारको सहयोग छ । हाम्रो सर्च र रेस्क्यू टिम आएको थियो, जब नेपाल सरकारले त्यसको काम समाप्त भयो भन्यो तब त्यो टिम फिर्ता गईसकेको छ । अब हाम्रो आर्मी र हेलिकप्टरको टिम छ । जब उनीहरुको काम समाप्त हुन्छ तब उनीहरु पनि जान्छन । यो समन्वय नेपाल सरकार र नेपाली सेनाको माध्यमबाट भईरहेको छ । मलाई त यस्तो कुनै जानकारी छैन । हाम्रो सेना र हेलिकप्टर त्यती बेलासम्म मात्रै यहाँ बस्छ जबसम्म नेपालसरकारलाई आवश्यक छ । नेपाल सरकारले भन्यो भने हामी तुरुन्तै फिर्ता जान्छौ ।
नेपालमा आएको विपत्ति सामना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा बहस सुरु भएको छ, यस्तो सरकार सम्भव देखिन्छ ?
हेर्नुस, यो प्रश्नमा म केही भन्न सक्दिन । नेपालमा तपाईहरुको बरिष्ठ नेताहरु हुनु हुन्छ, उहाँहरुले निर्णय गर्नु पर्छ कि यो अवस्थामा के सबैभन्दा उपयूक्त हुन्छ । जो तपाईहरुको राजनीतिक नेतृत्वले निर्णय गर्नु हुन्छ हामी त त्यसमा पूर्ण समर्थन गर्छौ । त्यसलाई भारतलाई सहयोग रहन्छ ।
भारतीय प्रधानमन्त्रीले त संविधान निर्माणमा सर्वसहमतिको कुरा गर्नु भएको छ ?
हो, यो कुरा हामी मान्छौ कि संविधानजस्तो जुन महत्वपूर्ण दस्तावेज छ । त्यसमा मुख्य शक्तिहरुवीचको सहमति आवश्यक छ । त्यसो गर्न सके देश स्थायीत्व र विकासको बाटोमा अघि बढ्छ । तर कुन किसिमको सरकार बनाउने हो त्यो कुरा त नेपालका नेताहरु र जनताले निर्णय गर्ने कुरा हो । हामी त उनीहरुको निर्णयको सम्मान गर्छौ । मेरो कुराले केही हुँदैन नेपालका नेताहरुले गर्ने कुरा हो । हाम्रो यहाँ कुनै हस्तक्षेप हुँदैन । भारतको केवल यतिमात्रै स्वार्थ छ कि नेपालमा शान्ति आओस, स्थायीत्व होस र विकास होस । हाम्रो प्रधानमन्त्रीले पनि यही भन्नु भएको छ कि छिमेकी नै पहिलो नीति हो । भारतको विकास त्यतीबेला मात्र सम्भव हुन्छ जब पुरै दक्षिण एसियाको विकास हुन्छ । जति आवश्यक छ, त्यती तिब्रताको साथ भारतले विकास गर्न सक्दैन यदि हाम्रो छिमेकीमा अशान्ती हुन्छ, अस्थिरता रहन्छ । यसैले हामी सबै साथ मिलेर काम गर्नु पर्छ । हाम्रो सम्बन्ध यति राम्रो छ कि कुनै विषय आए हामी मिलेर समाधान गर्न सक्छौ ।
नेपालमा प्रधानमन्त्री बनाउन भारतको हात हुन्छ ?
यो मनौबैज्ञानिक कुरा हो । नेपाल सानो देश छ, भारत ठूलो देश छ । यो भएकोले कुरा भएको हुन सक्छ । हामी अलि बढी संबेदनशिल हुनुपर्छ कि नेपाली जनताले के सोच्छन, के असमझदारी आउन सक्छ । हाम्रो रणनीति नै यो छ कि यहाँ प्रजातन्त्र होस, संविधान आओस र विकास होस । भारतको बटमलाई संघीय लोकतान्त्रिक गणतन्त्र हो । हाम्रो प्रधानमन्त्रीले नेपालको संसदमा पनि यो कुरा भन्नु भएको छ । यसमा हामी अडिग छौ । नेपालका जनताको जे एजेण्डा हो, हाम्रो पनि त्यही एजेण्डा हो ।
चीन र नेपालको सम्बन्ध कस्तो हुनु पर्छ ?
हामी त यो चाहन्छौ कि नेपालको हरेक देशसँग राम्रो सम्बन्ध होस । हेर्नुस, भारत र चीनको द्धिपक्षीय ब्यापार ७० विलियन डलरको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनमै चिनको भ्रमण गर्दै हुनु हुन्छ । हाम्रो त यही नै प्रयास छ कि हरेक देशसँग राम्रो सम्बन्ध होस । अनि हामी कुनै देशको कुनै तेस्रो देशसँगको सम्बन्धको आँखाँबाट हेर्न चाहँदैनौ । चीन र भारतको नेपालमा एउटै स्वार्थ छ कि यहाँ कसरी स्थायीत्व आउँछ, कसरी विकास हुन्छ । छिमेकी हुनुको नाताले यहाँ हाम्रो यही स्पष्ट उद्देश्य रहेको छ ।
नेपालको विकासमा चीन र भारतको समर्थन हुनु पर्छ नि ?
हो, हुनु पर्छ । यसमा पुरै समर्थन छ ।
भारतीय प्रधानमन्त्रीको अर्को नेपाल भ्रमणको कार्यक्रम छ कि छैन ?
पछिल्लो समयमा प्रधानमन्त्री आउँदा उहाँ आफैले म धेरै ठाँउमा जान चाहनु भएको थियो । केही कारणले गर्दा काठमाडौ बाहिरको भ्रमण हुन सकेन । उहाँको नेपाल र नेपालीको लागि प्रेम सदभाव र लगाव छ । हरदम उहाँको मनमा हुन्छ कि नेपालको लागि भारतले कसरी सहयोग गर्ने । मलाई विश्वास छ, जब उहाँले समय पाउनु हुन्छ, उहाँ फेरि नेपाल भ्रमणमा आउनु हुन्छ ।
तपाईको कार्यकालको कसरी मुल्याङ्गकन गर्नु हुन्छ ?
मेरो काम त केवल काम गर्नु मात्रै हो । यो त तपाईहरु पत्रकारहरुले नै मुल्याङ्गकन गर्ने कुरा हो । म सिभिल सभेन्ट, डिप्लोम्याट हु । मेरो फोकस काम गर्ने हो । मैले त दुई देशको सम्बन्ध बढाउन जे जे गर्न सकिन्छ त्यो गरे ।

प्रतिक्रिया