‘नेपाली भाषी भुटानी अमेरिकन’

इनेप्लिज २०७२ वैशाख ३० गते ६:०६ मा प्रकाशित

 नेपालमा रहँदा भुटानी शरणार्थीहरु आफूलाई ‘नेपाली भाषी भुटानी शरणार्थी’ भन्न रुचाउँथे । जब उनीहरु तेस्रो मुलुक पुनर्वास भए, त्यसपछि उनीहरु नेपाललाई ‘पितृको देश’ भन्न थालेका छन् । हाल अमेरिकामा बसोबास गर्ने भुटानी शरणार्थीहरु आफूलाई ‘नेपाली भाषी भुटानी अमेरिकन’ भन्न थालेका छन् । जहाँ गएपनि उनीहरु नेपाललाई औधि माया गर्छन् ।

Manoj-3‘नेपालमा हुँदा साईकल चढ्न पनि हम्मे–हम्मे थियो । अमेरिकामा हामी राम्रैसँग बसोबास गरिरहेका छौं ।’ भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तरगत ८ वर्षअघि नेपालबाट अमेरिका पुगेका मनोज राई नेपाललाई असाध्यै माया गर्छन् । भन्छन्– ‘तर पनि नेपाललाई भुल्न सकिँदैन । नेपालमा बिताएका पलहरु सम्झना आईरहन्छन् ।’

नेपालमा रहँदा मनोज खुदुनाबारी शिविरका पूर्व शिविर सचिव थिए । शरणार्थीहरुलाई सहयोग गर्ने संस्था (युएनएचसीआर) र शरणार्थीका बीच उनले पुलको काम गरे त्यसबेला । शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराउन उनले धेरै पसिना बगाए । ‘तेस्रो मुलुक जान रहर होईन बाध्यता थियो,’ उनी त्यो क्षण सम्झन्छन्– ‘त्यतिबेला युद्धकाल थियो । शिविरमा अनेकौं घटना हुन्थे । राहत घट्दै थियो अनि बालबच्चालाई पढाउन पनि समस्या हुन थाल्यो ।’

उनी सन् २००८ यता अमेरिकाको नर्थ क्यारोलिनास्थित चार्लाेट शहरमा बसोबास गरिरहेका छन् । अमेरिकामा रहँदा मजोजलाई नेपालको मायाले औधि सतायो । नेपालमा बिताएका क्षणहरु, खुदुनाबारी शिविरमा बिताएका रमाईला दिनहरु, निरन्तर बगिरहने कनकाई माईका दृष्यहरु उनको दिमागमा आईरहे । उनलाई नेपाल फर्किएर केही गर्ने सोच आउन थाल्यो । अहिले उनी नेपाल आएका छन् । आफू हुर्किएको ठाउँ झापामा साथीभाईहरुसँगको भेटघाटमा व्यस्त छन् ।

Manoj-1मनकारी मनोजले नेपाल आएर भुकम्प पीडितलाई राहत पनि वितरण गरे । गत बैशाख १२ गतेको महाविनाशकारी भुकम्पमा परी घरबार गुमाएकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनी बताउँछन् । भन्छन्– ‘भूकम्प पीडितको नजिक गएर सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु ।’ उनले ईन्टरनेटमार्फत विदेशमा रहेका भुटानी शरणार्थीसँग सहकार्य गरी राहत जुटाए । मानव धर्म सेवा समिति मार्फत उनले उक्त राहत प्रदान गरेका हुन् ।

मनोज कुशल गायकसमेत हुन् । गीतसंगीतमा सानैदेखि रुची राख्ने उनी कलात्मक ढंगले गीत गाउन खप्पिस छन् । नेपाल आएर उनले दुई महिनायता नेपाल र भारतका विभिन्न स्थानमा भ्रमण गरिसके । उनले दार्जिलिङमा आएर गीत रेकर्ड गरे । मनोजले ३ वटा एल्वम एकैपटक निकालेका छन् । तर, अहिले एउटा मात्र विमोचन गर्ने तयारीमा छन् उनी । ७ वटा नेपाली गीत रहेको एल्वम् ‘सिनोरिटा’ (अ ब्यूटीफुल गर्ल) उनी यहि जेठ ९ गते (२३ तारिख) का दिन बिर्तामोडस्थित सेन्टर पोईन्ट पार्टी प्यालेसमा विमोचन गर्दैछन् । काठमाण्डौंस्थित चार्मिङ ईन्टरटेनमेन्टले एल्बमको मार्केटिङ र म्यूजिक भिडियो तयार पर्ने उनी बताउँछन् । बाँकी दुईवटा एल्बम ‘स्पन्दन’ र ‘मने’ अमेरिकामै विमोचन गर्ने सोचमा छन् मनोज । यसका अलावा उनले शरणार्थी शिविरमा हुँदा सन् २००२ मा ‘भुटानी कथा–व्यथा’ एल्वम् निकालिसकेका थिए ।

‘एल्वममा माया प्रितिका कुरा छन्,’ उनी भन्छन्– ‘एल्वमलाई स्पेनिस नाम दिइए पनि नेपालमा रहँदा शिविरमा एउटा प्रेमी र प्रेमीका बिचको मायालाई गीतमार्फत प्रश्तुत गरेको छु ।’ एल्वम विमोचनको सम्पूर्ण जिम्मा उनले बिर्तामोडस्थित शिक्षा वचत तथा ऋण सहकारी संस्थालाई दिएका छन् । दार्जिलिङमा रेकर्ड गरेको एल्वमका ७ मध्ये ६ वटा गीतमा वरिष्ठ संगीतकार मधुकर लोहनीको शव्द अनि संगीत रहेको छ । नेपालको मायाकै कारण आफू यहाँ आएर एल्वम् विमोचन गर्न लागेको उनी सुनाउँछन् । भन्छन्– ‘माया प्रेम गर्ने उमेर शिविरमै बित्यो । ९० प्रतिशत शरणार्थी तेस्रो मुलुकमा हुनुहुन्छ त्यसैले एल्बमको नाम चाहिँ उताकै शब्दमा राखेको हुँ ।’ मनोज दमकको बेलडाँगीमा बन्न लागेको ‘म्यूजियम’मा सहयोग गर्ने सोचमा छन् ।

प्रतिक्रिया