अबको धराहरा सबै नेपालीबाट एक, दुई रुपैयाँ संकलन गरेर बनाउनुपर्छ

इनेप्लिज २०७२ वैशाख ३० गते १३:३९ मा प्रकाशित

army-heli– अनिलकेशरी शाह
सिइओ, मेगा बैंक नेपाल लिमिटेड
म त काठमाडौंमै हुर्किएको । बाल्यकालमा धराहरा वरिपरि निकै खेलियो, घुमियो । पहिले काठमाडौंमा मःम सर्वसुलभ थिएन । तर धराहरामा पाइन्थ्यो । म ९, १० वर्ष छँदा धराहराको जरामा बसेर मःम खाएको थिएँ । त्यतिबेला लागेको थियो, वहा ! यस्तो पो मःम । जब भूकम्पले धराहरा ढलेको खवर सुनेँ, मलाई त्यतिबेलाको याद अयो । धराहराको टुप्पा हेर्दै मःम खाएको सम्झेँ । धराहराले मेरो बच्पनलाई पनि सम्झाइदियो ।
अबको धराहरा सम्पूर्ण नेपालीको हुनु पर्दछ । सबै नेपालीबाट एक, दुई रुपैयाँ संकलन गरेर निर्माण गर्नुपर्दछ । तर, सहयोग गर्नेको नाम चाँहि धराहरामा लेँखिदैन । किनकी त्यो हृदयदेखि गरिएको सहयोग हुनुपर्छ ।
धराहरा नेपालकै धरोहरको रुपमा रहेको थियो । धराहरा ढल्दा नेपालकै शान ढलेजस्तो भएको छ । धराहरा ढलेपछि त्यसै पनि महाभूकम्पको म्यासेज गयो । ‘अहो ! धराहरा पनि ढल्यो है ?’ अहिले सबैको मुखमा यही बाक्य झुण्डिएको भेटिन्छ । हुन पनि यो महाभूकम्प नै हो । हजारौँको ज्यान लियो, हजारौँ घरबारबिहीन भए । काष्ठमाण्डपनै ढल्यो । सयौं सास्कृतिक सम्पदाहरु ध्वस्त भए ।
अबको धराहरा जनताको हुनुपर्छ
धराहरा निर्माण गर्ने कि नगर्ने भन्ने पनि बहस चल्ला । तर, धराहरा निर्माण चाँहि गर्नै पर्दछ । किनकी धराहरा भनेको नेपालको पहिचान पनि हो । धराहरासँगै नेपालीको शान ढलेको छ । अब धराहरालाई पुनः निर्माण गरेर नेपालीहरु लडेर पनि फेरि उठेर दौडन सक्छन् भन्ने उदाहरण विश्वसामु देखाउनु पर्दछ ।
एउटा खबर पढे । धराहरा बनाउनका लगि एक जनाले दुई अर्ब दिने घोषणा गर्नुभएछ । यो सुन्दा खुसी पनि लाग्यो । किनकी धराहराप्रति यत्तिको सदाशयता देखाउनु राम्रो कुरा हो । तर, अबको धराहरा ब्यक्तिले होइन्, नेपाली जनताले निर्माण गर्नुपर्दछ । त्यसमा सबै नेपालीहरुको सहभागिता हुन्छ । सबै नेपालीबाट एक, दुई रुपैयाँ संकलन गरेर निर्माण गर्नुपर्दछ । ताकि सबै नेपालीलाई महसुस होस्– ‘यो हाम्रो गौरव हो ।’
हिजो भिमसेन थापाले बनाए, त्यो आफ्नो ठाउँमा छ । अबको धराहरा सम्पूर्ण नेपालीको हुनु पर्दछ । तर, सहयोग गर्नेको नाम चाँहि धराहरामा लेँखिदैन । किनकी त्यो हृदयदेखि गरिएको सहयोग हुनुपर्छ । बरु भूकम्पमा परि दिवंगत भएकाहरुको नाम धराहराको वरिपरि कोरिनु पर्दछ । ताकि अबको एक हजार वर्ष पछिका मानिसहरुलाई पनि थाहा होस्, ‘त्यतिबेला यस्तो भएको थियो, यसरी धराहरा निर्माण गरेका थिए है’ भन्ने ।
धराहरा उही स्वरुप र आकारको हुनुपर्छ भन्ने छैन
अब निर्माण हुने धराहरा पहिलेकै स्वरुपमा हुनुपर्दछ भन्ने छैन । सबै कुरा पहिलेकै खोज्ने हो भने त, हाम्रा हजुरबुवाहरु जस्तै झुपडीमा बसे भैहाल्यो नि ! किन ठूला–ठूला महलको जरुरत पथ्र्यो र ? तर यो भन्दैमा पुराना मठ–मन्दिरहरुलाई पुरै परिवर्तन गर्नुपर्छ भन्न खोजेको होइन ।
धराहरा नेपालीकै कला प्रयोग गरेर निर्माण गरिनुपर्छ । डिजाइनको बारेमा खुला प्रतिस्पर्धा गर्न सकिन्छ । नेपालमा पनि धेरै आइडिया भएका मान्छेहरु छन् । यी पुराना दरबार, सांस्कृतिक सम्पदाहरु नेपालीले नै बनाएका हुन् । बाहिरबाट आएर अरु कसैले बनाइदिएको होइन ।
धराहरा फाउण्डेसन नै खोल्न सकौं
जनताबाट रकम संकलन गर्दा यति धेरै उठोस कि, त्यो रकमले धराहरा निर्माण भएर पनि कोष निर्माण गर्न सकियोस् । जुन रकमबाट धराहराकै नाममा फाउण्डेसन निर्माण गर्न सकिन्छ । यसले नेपालमा आइपर्ने दैवीप्रकोपहरु जस्तैः बाढी, पहिरो पीडित वा यस्तै विपतमा परेकाहरुलाई सहयोग गर्न सकिन्छ । किनकी यस्ता विपत्तिहरु भइरहन्छन् ।
अर्कोकुरा, अहिले धराहराको इट्टा चोरियो भन्ने समाचारहरु आइरहेका छन् । त्यस्ता प्राचिन महत्व बोकेका इट्टाहरुलाई संग्रहालयमा राख्नु पर्दछ । धराहरामा सहयोग गरेबापत इट्टा प्रदान गर्न पनि सकिन्छ । यो सहयोग संकलन गर्ने अर्को बाटो हो ।
प्रस्तुतिः विश्वास खड्काथोकी

प्रतिक्रिया