दासढुंगा काण्ड दुर्घटना कि षड्यन्त्र ?

इनेप्लिज २०७२ जेठ ३ गते ११:५१ मा प्रकाशित

Ganesh-Panday-online (1)

हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासदीपूर्ण घटनाको सम्झना हुन्छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ ।

दासढुंगाकाण्डको १६ वर्षपछि फेरि आएको छ, जेठ ३ गते । विगतका वर्षमा झैं यो वर्षपनि मदन आश्रितको तस्विरमा माल्यार्पण गरियो । सम्झनामा दुई थुंगा फूल चढाउनु त औपचारिकता मात्रै हुँदै हो, दासढुंगा काण्डको छानविनको प्रसंग पनि केवल औपचारिकता पूरा गर्नका लागि मात्र उठाइन थालेको छ । दासढुंगा काण्ड दुर्घटना हो कि षड्यन्त्र ? को हो मदन भण्डारी र जीवराज आश्रितको हत्यारा ? प्रश्न १६ वर्षदेखि अनुत्तरित छ । उत्तर खोज्ने हरेक प्रयास असफल हुदै आएका छन् । के यो उत्तर विनाको प्रश्न हो ? २०५० साल जेठ ३ गतेपछि त्रिशुलीमा धेरै पानी बगिसक्यो । एउटा सिंगै पुस्ता फेरियो । उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई अहिले बुढ्यौली लागिसक्यो । पटक पटक सरकार फेरिँदा एमाले आफै पनि सरकारमा पुग्यो । तर पनि घटनाको चित्तबुझ्दो छानबिन भएन ।

पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश प्रबाह गर्न मदन र जीवराज देशब्यापी अभियानमा हुनुहुन्थ्यो । यही अभियानकै क्रममा दासढुंगामा उहाँहरु चढेको गाडी रहस्यमय तरिकाले दुर्घटना भयो । कास्कीमा एमालेको जिल्ला अधिवेशन थियो । त्यही अधिवेशनमा भाग लिन काठमाडौंबाट उहाँहरु पोखरा जानुभएको थियो । पोखराको कार्यक्रम सकिएपछि उहाँहरु चितवन जादैँ हुनुहुन्थ्यो । किनभने चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै हुनुहुन्थ्यो । चितवनको कार्यक्रममा सम्बोधन गरेपछि पाँचौ महाधिवेशनको सन्देश लिएर उहाँहरु पूर्वी नेपालका जिल्लामा जाने तयारीमा हुनुहुन्थ्यो ।

तर, उहाँहरु चितवनको महिला अधिवेशनमा नै पुग्न पाउनुभएन । पोखराबाट मुग्लिन हुँदै गाडी चितवनतर्फ हुँइकिइरहेको थियो । जब चितवनको दासढुंगा आयो । तब गाडीको गति केही कम भयो । र साँझ करिब साँढे ५ बजेतिर उहाँहरु चढेको बा अ प ८७९३ नम्बरको जिप त्रिशुलीमा खस्यो । गाडीका चालक अमर लामा गाडीबाट हाम्फाले । तर, मदन भण्डारी र जिवराज आश्रित भने त्रिशुलीको भेलमा गाडीसहित बेपत्ता हुनुभयो । त्यसपछि मदन भण्डारी र जिवराज आश्रित दुर्घटनामा परेको खबर सनसनीपूर्ण तवरले देशभर फैलियो । जिप नदीमा बेपत्ता भयो तर जिप चालक अमर लामा सकुशल रहे । त्यसैले यो दुर्घटना नभई षड्यन्त्र भएको चर्चा पनि सँगसँगै फैलियो । जिप त्रिशुलीमा बेपत्ता भएकाले नेता मदन भण्डारी र जिवराज आश्रितलाई सकुशल पाउने आशा थिएन । दुर्घटना भएको धेरै दिनसम्म पनि नेपाली जनताले आफ्ना नेताहरुको शवसम्म देख्न पाएनन् । धेरै दिनको प्रयासपछि बगांलादेशबाट गोताखोर झिकाएर मात्र उहाँहरुको शव त्रिशुलीबाट निकालियो ।

उहाँहरुको मृत्युपछि देशभर शोक फैलियो । पार्टीका कार्यकर्तामात्र हैन, सबै जनता शोकमा डूबे । यो मृत्यु नभइ हत्या हो भन्दै देशभर एमाले कार्यकर्ताहरु आन्दोलनमा होमिए । आन्दोलनका क्रममा केही कार्यकर्ताको ज्यान समेत गयो । तत्कालिन कांग्रेस नेतृत्वको सरकारसँग घटना छानविनको माग गर्दैै एमाले कार्यकर्ता आन्दोलित भएका थिए । धेरै दिनको आन्दोलन पश्चात तत्कालिन सरकारले अनिल आयोग गठन गर्यो । सरकारको तर्फबाट गठित अनिल आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दिएपछि एमालेले फेरी आन्दोलन गर्यो । आन्दोलनबाट आत्तिएपछि सरकारले पुनः सर्बोच्च अदालतका न्यायाधिश त्रिलोक प्रताप राणाको अध्यक्षतामा अर्को छानबिन आयोग गठन गर्यो । त्रिलोक आयोगले घटनाको छानविन गर्न सकेन । बरु गम्भीर छानविन जरुरी भएको भन्दै रिपोर्ट बुझायो ।

दुई नेताको रहस्यमय हत्या भएको भन्दै नागरिक समाजले पदमरत्न तुलाधरको अध्यक्षतामा आयोग गठन गर्‍यो । नागरिक समाजको आयोगले पनि घटना रहस्यमय भएको भन्दै थप छानविन हुनपर्ने निश्कर्ष निकाल्यो । बिभिन्न आयोगले निकालेका निश्कर्ष चित्त नबुझेपछि नेकपा एमालेले नेता केपी ओलीको नेतृत्वमा आयोग गठन गर्‍यो । ओली नेतृत्वको आयोगले दासढुँगा काण्ड दुर्घटना नभइ रहस्यमय हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो । यो आयोगले घटनाको कडा अध्ययन गरी दोषि उपर कारबाहिको माग समेत गर्‍यो । एउटै हत्याकाण्डका लागि चार चार वटा आयोग गठन भए । तर कसैले पनि दोषि किटान गर्न सकेनन् । घाउ १६ वर्ष अगाडिको हो । तर अझै निको भएको छैन । अझै दुख्दैछ, त्यो पुरानो घाउ । किनभने त्यसको अहिलेसम्म उपचार गरिएको छैन । छानविनको प्रक्रिया पनि झन् पछि झन् जटिल बन्दै गइरहेको छ, किनभने दुर्घटनाका एकमात्र साक्षी अमर लामाको पनि त्यसको पाँचवर्षपछि हत्या भइसकेको छ । अज्ञात समूहले अमर लामालाई कीर्तिपुरमा दिउँसै लेखेटेर हत्या गर्‍यो । दुर्घटनामा अमर लामा सकुशल भएकाले उनले षड्यन्त्रपूर्वक दुर्घटना गराएको आशंका गरियो ।

२०५० साल जेठ ३ गतेपछि त्रिशुलीमा धेरै पानी बगिसक्यो । एउटा सिंगै पुस्ता फेरियो । उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई अहिले बुढ्यौली लागिसक्यो । पटक पटक सरकार फेरिँदा एमाले आफै पनि सरकारमा पुग्यो । तर पनि घटनाको चित्तबुझ्दो छानबिन भएन । नेताहरु त हरेक वर्ष जेठ ३ गते आइपुग्दा दासढुँगा काण्डको छानविन हुने बताउँदै हिँड्छन् । तर पहल भने हुन सकेको छैन ।

पछिल्ला वर्षमा त एकरत्ति पनि पहल भएको छैन । दासढुंगाकाण्डबारे उब्जिएका प्रश्नको जवाफ खोज्न पहल गर्ने दायित्व एमालेको हो । नत्र हत्याकाण्डबारे एमालेप्रति नै औँला ठडिन सक्छ । सँगसँगै कसैका अगाडि नझुक्ने र राजालाई समेत चुनावी मैदनमा आउन चेतावनी दिने मदन भण्डारीले अबलम्बन गरेको बाटोमा अगाडि बढ्नु पनि एमालेका लागि दायित्व हो ।

प्रतिक्रिया