राष्ट्रिय एकतामा यत्रो घात : सबै चुपचाप

इनेप्लिज २०७२ जेठ ७ गते १०:४४ मा प्रकाशित

Devkota Yadab

मुलुक विनाशकारी भूकम्पका कारण महासंकटको अवस्थामा छ । यतिबेला राष्ट्रिय एकता कायम गरी संकटको सामना गर्न हातेमालो गर्नुपर्ने बेलामा साम्प्रदायिकता भड्काउने खालका उत्तेजक अभिव्यक्ति आए । विशेषतः मधेश केन्द्रित राजनीति गर्नेहरु कोहीले पहाडी क्षेत्रमा भूकम्पबाट परेको पीडा पनि राजनीतिक लाभ हानीकै रुपमा हेरेको पाइयो । यसो भनेर भूकम्प पीडितहरुको राहतमा जुटेका मधेशवादी नेता, मधेशी समुदाय तथा संघसंस्थाको योगदानको अवमूल्यन पक्कै नहोला । तर पीडाको बेला मल्हम लगाउनुपर्नेहरु त्यसमा नुन छर्केर अरु पीडा दिंदा भने मन चसक्कै हुँदोरहेछ ।

सकिन्छ सहयोग गर्ने सकिंदैन बिरोध पनि नगरेरै सहयोग गर्ने । अहिले चिया पसलमा बसेर फलानो ठाउँमा राहत पुग्यो र पुगेन, भ्रष्टाचार भयो, फलानाले खायो, ढिस्कानाले यति खायो भनेर गफ चुटेर सरकार, सहयोग गर्नेहरु र ज्यानको बाजी लगाएर उद्धारमा पुगेकाहरुको मनोबल गिराउने खालका टिप्पणी पनि भैरहेका छन् । आफू केही नगर्ने अनि गर्नेहरुको आलोचना गरेरै रमाउनेहरुमा मानवीय सम्वेदनशीलता नै नभएको जस्तो पनि देखियो ।

भूकम्पका कारण गोरखा, सिन्धुपाल्चोक, दोलखाका गाउँका गाउँ विस्थापित भयो । सो क्षेत्रका जनताको पुनर्वास ठूलो समस्याको विषय हो । यस्तोमा तराईमा पुनर्वास गराउने भन्ने चर्चा चलेसंगै सदभावना पार्टीकी अध्यक्ष सरिता गिरी र मधेशलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्दै पृथकतावादी गतिविधि चलाइरहेका सिके राउतहरुले भूकम्प पीडितलाई तराईमा बसाउन नहुने, तराईमा बसाले गृहयुद्ध हुने भन्ने जस्ता राष्ट्रघाती अभिव्यक्ति दिए । सरिता गिरीले आफ्नो भनाई केही दिनपछि सच्याएर लेख लेखिन, तर पनि उनको आशय तराईमा पहाडी मूलका मान्छे राख्न हुँदैन भन्ने नै थियो र छ ।

के नेपाली जनताको आफ्नो मुलुकभित्र विना रोकटोक आवत जावत र बसाईसराई गर्न पाउने संवैधानिक र नैसर्गिक अधिकार छैन ? कुन कानुनले तराईका मान्छे पहाडमा र पहाडका मान्छे तराईमा बसाल्न नहुने भनेको छ ? के उनीहरुले भनेजस्तै पहाडले तराईका मान्छे खेद्न थाल्यो भने मुलुक कुन अवस्थामा पुग्ला ? सरिता गिरी र सिके राउतले त्यस्तै वातावरण सिर्जना गर्न खोजेका त हैनन् ? पहाडी मात्र हैन हिमाली क्षेत्रमा समेत मधेशी मूलका नेपालीहरु श्रम गरिरहेका छन्, व्यापार गरिरहेका छन्, सरकारी सेवामा छन्, शैक्षिक–स्वास्थ्य तथा प्राविधिक सेवामा छन् । के उनीहरुलाई यस्ता भनाइ र गतिविधिले सुखानुभूति देला ? पक्कै दिंदैन । राष्ट्रियताका सवालमा सबै नेपाली एक छन्, तर केही स्वार्थीहरु त्यसलाई बिथोल्न खोजिरहेका छन् ।

आफूलाई मधेश र मधेशी जनताको मुक्ति र उन्नतिको पक्षधर भन्नेहरुले कहिले मधेशी जनताको पक्षमा के कति योगदान गरे । कुन मधेशी नेताले मधेशमै आफ्नो स्थायी बसोबास गरेर राजनीति गरे । सबैलाई काठमाडौं चाहिने अनि काठमाडौंमै बसेर पहाडको बिरोध गर्ने अझ साम्प्रदायिक दंगा फैलाउने किसिमका अभिव्यक्ति दिने हिम्मत उनीहरुले कहाँबाट पाए ? यसको पछाडि कसको हात छ ? सरकार किन चुपचाप छ । के संकटका बेला जसले जे बोले पनि हुन्छ ? सिके राउतले भनेजस्तै पहाडका मान्छे तराईमा राखे गृहयुद्ध कसरी हुन्छ ? अहिले त्यहाँ पहाडी मुलका मान्छे छैनन् ? छन्, त्यसैले त राष्ट्रघातीहरु तराईबाट पहाडीलाई लखेट्नुपर्छ भन्दै राष्ट्रबिरोधी अपराध गरिरहेका छन् । तर सरकार मौन छ ।

अरु समय हुन्थ्यो भने सिके राउतको अभिव्यक्तिले सडकमा आगो बलिसक्थ्यो । काठमाडौंमा मात्रै होइन तराईमै पनि उनको अभिव्यक्तिको बिरोध भैरहेको छ । सिके राउतको भनाइ र अभियानमा सम्भवतः एउटा सानो समूहको मात्र साथ र समर्थन छ । तैपनि उनी बर्बराउन छाड्दैनन् । मौका पर्खेर नेपाली राष्ट्रिय एकतामाथि प्रहार गर्ने सिके राउतको पृथकतावादी गतिविधिले सीमा नाघेको उनको पछिल्लो लेखबाटै स्पष्ट हुन्छ ।

आज मधेशमा बस्ने होस् वा हिमालमा हामी नेपाली हाम्रो नेपाल त्यसपछि मात्र जात, भाषा, धर्म र सम्प्रदाय भन्ने भावनाको विकास हुँदैछ । मुलुकलाई विभाजित गरेर राजगर्न चाहने केही कुतत्वको उक्साहटले त्यस्को पक्षमा जनमत सिर्जना हुँदैन तर यस्ता विषवृक्षलाई समयमै काटेर फालिएन भने त्यसले झांगिने मौका नपाउला भन्न सकिन्न । सरकार के हेरेर बसिरहेको छ । राष्ट्रिय एकतामाथि प्रहार गर्नेहरुलाई किन माया गरिरहेको छ वा किन डराइरहेको छ ? यो अर्को बुझिनसक्नुको पहेली बनेको छ ।

संकटको यस घडीमा कसैले पनि व्यक्तिगत र समूहगत स्वार्थ हेर्नु हुँदैन । एउटा नेपालीलाई दुःखपर्दा अर्को नेपालीले पीडाको महसुस नगर्ने हो भने त्यो नेपाली नै हैन । पहाडको दुःखमा मधेशले र मधेशको दुःखमा पहाडले साथ नदिए साम्प्रदायिक सद्भाव पूरै खल्बलिन्छ । यस्तै मौकाको खोजीमा देशद्रोहीहरु रहेका हुन्छन् । उनीहरु यसलाई आफ्नो स्वार्थ अनुकूल उपयोग गर्न सल्बलाउँछन् । त्यस्तालाई स्वतन्त्रता र स्वाभिमानको लडाई भन्छन् अनि सोझा सिधालाई त्यसैको भ्रममा पारेर फाइदा लुटिरहन्छन् ।

कोही कसैको हेपाई वा पेलाईमा पर्नु हुँदैन । तराई पहाडको पेलाइमा परेको भन्छन् कतिपय मधेशवादी नेताहरु, मधेशवादी बुद्धिजीवीहरु अनि अभियन्ताहरु । यसमा कति सत्यता छ र कति छैन यो विस्तारै खुल्दै जाने कुरा हो । वास्तवमा मधेश पहाडबाट हैन उनीहरुले निकट र सहयोगी मान्ने भारतबाट हेपिएको छ । भूकम्प पीडितलाई तराईमा बसोबास गराए गृहयुद्ध हुन्छ भन्नेहरु लाखौंलाख भारतीयले नागरिकता लिएर मधेशका भूमिपुत्रहरु अल्पमतमा पर्दा त्यहाँ स्वाभिमानको रक्षा नै भएको देख्छन् । भारतले अनधिकृत रुपमा बनाएका बाँधका कारण हजारौं मधेशी जनता विस्थापित हुँदा पनि स्वाभिमानकै रक्षा भएको ठान्छन् । भारतीय अपराधीहरु आएर दिनदहाडै नेपालीको हत्या गर्छन्, उनीहरु यसमा पनि मधेशको स्वाभिमान नै बढेको देख्छन् । भारतले लगातार सीमा मिचिरहेको छ त्यसमा पनि मधेशको सान बढेको देख्छन् ।

तर, भूकम्पले उठिबास लागेकाहरुलाई मधेशमा पुनर्वास गराउने कुरा कसैले गर्यो भने उनीहरुको स्वाभिमान गिर्छ । ‘महेन्द्रवादी’ सोच भन्दै दुत्कार्छन् । अनि विकल्प भने दिन सक्दैनन् । मधेशीहरु अल्पमतमा पर्छन् भन्दै गृहयुद्धको धम्की दिन्छन् । के त्यसो भन्नेहरु नेपाली नागरिक हुन् ? तराईमा जन्मेर, काठमाडौंमा आएर उच्चशिक्षा लिने अनि त्यही काठमाडौंलाई गाली गर्नेहरुको कृतघ्नता बुझिनसक्नु छ । पहाड र तराईबीच विभेद सिर्जना गरेर कसले कस्तो लाभ लिन खोजेको हो र उनीहरुका पछाडि के कस्ता शक्तिको हात छ भन्ने अनुसन्धानको विषय बनेको छ ।

नेपालको अलिकति पनि माया हुनेले अहिलेको संकटपूर्ण घडीमा राष्ट्रलाई घात हुने काम त के कुरा पनि गर्दैन । तर राजनीति दाउपेचको गोटी चाल्न पल्केकाहरु यस्तै मौकामा आफ्नो क्षुद्रता प्रदर्शन गर्दारहेछन् । कतिपय मधेशवादी दलका नेताहरु भूकम्प पीडितको घाउमा मल्हम लगाउन गाउँगाउँ पुगिरहेका बेला शहरमा सुरक्षित बसेर साम्प्रदायिक दंगा फैलाउने अभिव्यक्ति दिनु उनीहरुको सचेत मस्तिष्कको उपज हो भनेर कसरी भन्ने ?

के यस्तो सोच पालेर नेतृत्व गर्छु भन्नेहरुले नयाँ नेपाल बनाउन सक्लान् ? बनाए कस्तो बनाउलान् वा भएकै नेपाल पनि समाप्त गर्लान् ? अहिले यस्तै प्रश्नहरुले आम नेपालीको मथिंगल रन्किएको छ । राष्ट्रियताका सवालमा के पहाड, के मधेश सबै क्षेत्रका जनता सचेत छन् । तिनै सचेत तर सोझा जनतालाई भड्काएर मुलुकलाई कमजोर बनाउन खोज्नेहरुलाई नेता भन्ने कि अरु कसैको निर्देशनमा चल्ने यन्त्र ? यो नै सबै नेपालीले खोज्नुपर्ने उत्तर भएको छ ।

प्रतिक्रिया