अनलाइन चित्र प्रदर्शनी

इनेप्लिज २०७२ जेठ ८ गते ९:४६ मा प्रकाशित

 

painting_20150520102101काठमाडौ, जेष्ठ ६ – भूकम्पपीडितलाई सघाउ पुर्‍याउन अनलाइन चित्र प्रदर्शनी गरिएको छ। नेपाल आर्टिस्ट एड’ शीर्षकमा ई–आर्टस नेपालले प्रदर्शनी सुरु गरेको हो। जसमा विभिन्न कलाकारका समसामयिक चित्रकला राखिएका छन्।

न्यून मूल्य निर्धारण गरी राखिएको कलाकृति बिक्री भएको सबै रकम भूकम्पबाट ध्वस्त संरचनाहरू पुनर्निर्माणका लागि सघाउने चित्रकार आशा डंगोलले बताइन्। चित्र किन्न चाहनेले ‘डब्लूडब्लूडब्लू डट ईआर्टस् नेपाल डटकम’ मा लगअन गरी आफूलाई मनपर्ने चित्र किन्न सक्ने उनले जनाए।

प्रदर्शनीमा किरण मानन्धर, जीवन राजोपाध्याय, कुर्ची दासगुप्ता, प्रदीप बज्राचार्य, सौरगंगा दर्शनधारी, कञ्चन चन्दर लगायतका चित्र राखिएका छन्। काठमाडौंको संस्कृति झल्किने चित्रदेखि प्रकृति, सौदन्र्यसम्मका चित्र छन्। किरणले ब्युटी शीर्षकमा निर्माण, आशा र उत्साहप्रद चित्र कोरेका छन्, जीवनको ‘नेचर’ शीर्षकको चित्रमा हिमाली भेगको अमूर्त दृश्यचित्र झल्किन्छ।

कुर्चीले ‘काठमाडौं फलिङ’ चित्रमा भूकम्पकै सन्दर्भ जोडेका छन् भने प्रदीपको ‘फेस्टिभ मुड’ चित्रले भूकम्पअघि काठमाडौं उपत्यकाको सांस्कृतिक सघनलाई झल्काउँछ। सौरगंगाले पनि ‘रिभर’ शीर्षक प्रकृतिलाई चित्रण गरेर आशा र उत्साहको सन्देश जोडेकी छन्। प्रदर्शनी जुन २० सम्म जारी रहनेछ।

साभार :इकान्तिपुर

प्रतिक्रिया