नेपथ्य ग्रुपले यूएईमा भन्यो-‘हामीसँग दुःख मात्रै छ, त्यहि दुःख बाँड्न आएका छौं’

इनेप्लिज २०७२ जेठ ८ गते ९:५६ मा प्रकाशित

painting_20150520102101यूएई । ‘देश दुःखेको छ हामी सँग बाँड्नका निम्ति दुःख मात्रै छ, यहि दुःख तपाईहरुसँग बाँड्न हामी दुबई सम्म आएका है’ भन्दै मञ्चमा उत्रिएका अमृत गुरुङलाई दर्शकले गड्गडाएर तालिले साथ दिएसँगै सुभारम्भ भयो नेपथ्य लाईभ कन्सर्ट दुबई । दुबईको अलनाशिर क्लब करामामा आइस ल्याण्ड हलमा मे २१ तारिक बिहीबार बेलुका ९ बजेदेखि सुरु भएको नेपथ्यको प्रस्तुती निरन्तर राति ११ बजेसम्म चलेको थियो । खचाखच भरिएका दर्शकलाई अमृतले ‘हामी मनोरञ्जन होइन, समवेदना बाँड्न आएका छौं, भूकम्प पीडितमै समर्पित भएको हुनाले यो कन्सर्ट गर्नुपर्ने नभइदिएको भए गाउँने पटक्कै मन छैन । दुख बाँडेमा मनमा शान्ति मिल्छ रे हामी त दुःख बाँड्न मात्र आएको’ भन्दै दर्शकलाई संकटलाई समाधान गर्न हामी सबै लाग्नुपर्ने बताए । भूकम्पपछि नेपथ्यले कन्सर्टलाई ‘जनचेतना अभियान’ र यसबाट उठेको पैसालाई ‘राहत संकलन’का रूपमा घोषणा गरेको थियो । अमृतले गम्भीर र भावनात्मक कुरा गर्दै ‘नराम्रो सपना देखेथेँ…’ गीतबाट कन्सर्ट थालनी गरेका थिए । त्यसपछि अमृतले ‘टाढा धेरै टाढा, उडेका रंगीन चरा’ र ‘आमा हुन असजिलो छ’ ‘अभाव अभावै भयो…’ ‘जीवन हो घाम छायाँ…’ बाट गायन सिलसिलालाई जोडे । यी गीतहरू स्टेजमा प्रस्तुत भइरहेको बेला दर्शकले हातमा नेपाली झन्डा फर्फराउदै अमृतलाइ साथ दिएका थिए पृष्ठभूमिमा भने भूकम्पले क्षतिग्रस्त संरचनाहरू देखाइएको थियो । राहतका लागि नेपथ्यले संगीत यात्राको नामकरण नै गरेर नेपथ्यले नेपालमा विनाशकारी भूकम्प गएपछी पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने घोषणा गरेको थियो । राष्ट्रिय भाव जगाउन सफल अमृतले तपाई हिँडेको बाटो खेलेको रोधी तपाई हुर्केको घर अब केहि पनि छैन सबै भूकम्पले लग्यो भन्दै उनले दर्शकलाई समय मिलाएर परिवारलाई सान्तवना दिन छुटी मिलाएर नेपाल जान आग्रह गरेका थिए । अमृतले नेपथ्यले पूर्व निर्धारित दुबईको कार्यक्रम पनि पीडितको सहयोगार्थ हुने यस अगाडी नै बताई सकेका छन् । केही महिना अगावै तय भएको दुबईको कार्यक्रमलाई अन्तिम समयमा रद्द गर्न नमिल्ने भएपछि नेपथ्यले कन्सर्टलाई नै ‘जनचेतना अभियान’ र यसबाट उठेको पैसालाई ‘राहत संकलन’का रूपमा घोषणा गरेको आयोजक जस पाइजा र राजन अधिकारीले बताए । अमृतले ‘छेक्यो छेक्यो…’ ‘रानीको आँसुको कसम’, ‘यौटा चिट्ठी’, ‘पानी तिरतिरे’ ‘अभाव अभावै भयो’ ‘जीवन हो घाम छायाँ’ लगायत दुई दर्जन नेपाली गीत गाउन्जेल मञ्चको पृष्ठ भागमा दुई साताअघि भूकम्पले ध्वस्त पारेका संरचनाहरू देखाइएको थियो । पछिल्लो एल्बममा समेटिएको एउटा हाक्पारे भाकाको गीतपनि सुनाएका थिए । दुई घन्टा लामो कार्यक्रमको अन्त्यमा ‘गाउँ–गाउँबाट उठ’ गाउँदा हल भरि जताततै राष्ट्रिय झन्डा बोकेर उफ्रिरहेका दर्शक देखिन्थे । कन्सर्ट हेर्न दुबईमा बस्दै आएका नेपाली मात्र होइन, फिलिपिनी, इन्डियन, पाकिस्तानी, युरोपीयन तथा अरबिक नागरिकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया