कालीगण्डकीमा बनेको तलाउ खुलाउन सुरु

इनेप्लिज २०७२ जेठ १४ गते १३:१५ मा प्रकाशित

3Myagdi-Kaligandaki-Thunayara-Banako-Talau-1-1024x683बाबियाचौर (म्याग्दी), १४ जेठ । नेपाली सेनाले भगवती –२ र राम्चे –९ बैंसरीमा पहिराबाट कालीगण्डकी नदी थुनिएपछि बनेको तलाउ खुलाउने काम सुरु गरेको छ ।

राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिराबाट आइतबार १६ घन्टासम्म कालीगण्डकी नदी थुनिँदा बनेको तलाउबाट अझै ३० प्रतिशत पानीको निकास हुन बाँकी छ । पहिरो खस्न रोकिएपछि सेनाको प्राविधिक टोलीले बुधबारदेखि बम विस्फोटन गराएर तलाउको पानी घटाउन थालेको हो ।

करिब ८०० मि लम्बाइ रहेको तलाउको गहिराइ २५ मि रहेको अनुमान गरिएको छ । आइतबार राति १ बजे कालीगण्डकी थुनिँदा तीन किमी माथिसम्म र १०० मि गहिराइमा फैलिएको तलाउको पानी साँझ ५ बजेदेखि बग्न थालेको थियो ।

अहिले तलाउमा जम्मा भएको पानीले तटीय बस्तीमा खतरा नरहेको र अवरुद्ध बेनी–जोमसोम सडक खुलाउन पानीको सुरक्षित र सहज निकास गराई सतह घटाउन लागिएको इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार सिलवालले जानकारी दिनुभयो । बुधबार दुई विस्फोट गराइएको थियो । विस्फोटपछि डेढ मि पानीको सतह घटेको जनाइएको छ ।

पहिराले पुरिएर र तलाउमा डुबेर एक किमी सडक पूर्ण रुपमा क्षति भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । बेनीतर्फबाट डोजर र लोडरले पहिरो पन्छाउन सुरु गरिर्ने डिभिजन प्रमुख इन्जिनियर राजेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तलाउको पानी घटाइएपछि डुबेको सडक मर्मत गरिने छ । वैकल्पिक मार्ग घुमाउरो हुने भएकाले पुरानो सडक वरपरकै ठाउँमा नयाँ मार्ग खोलेर सडक खुलाउन लागिएको हो ।

हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको जुगेपानीदेखि बेगखोलासम्म सवारी सञ्चालन हुन सकेको छैन । मोटरसाइकल, जिप र ट्र्याक्टरले गलेश्वर, पिप्ले भगवती वेगखोला वैकल्पिक सडक प्रयोग गरे पनि बस, माइक्रोबस, ट्रकलगायत ठूला सवारीसाधन नचल्दा आवतजावत प्रभावित भएको छ ।

यसैगरी पहिराबाट थुनिएको कालीगण्डकीले बैंसरीको झोलुङ्गेपुल डुबाएपछि हिस्तानबाट सदरमुकाम आउने जाने सर्वसाधारण समस्यामा परेका छन् । पहिराले बैंसरीमा एक झोलुङ्गे पुल बगाएको छ भने अर्कालाई तलाउले डुबाएको छ ।

प्रतिक्रिया