मास्कोमा निर्माणधीन बौद्धमन्दिरको जगमा बुद्धजयन्ती समारोह

इनेप्लिज २०७२ जेठ २१ गते १३:२१ मा प्रकाशित

Tereshkin&Shagdarova

रुस गणतन्त्रमा बसोवास गरिरहेका बौद्ध धर्माबलम्बीहरुले नेपालीहरुले भन्दा एक चन्द्रमासपछि मात्र २ जून २०१५ (मङ्गलवार) का दिन बुद्धजयन्ती मनाएका छन् । तिब्बती पात्रोअनुसार यस्तो अन्तर पर्न गएको प्रतीत हुन्छ । यस पावन उपलक्ष्यमा मास्को बौद्ध समाजको तत्वावधानमा मास्कोको उत्तर–पूर्वी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकाको नोभोभ्लामिकिन्स्की मार्गमा निर्माणधीन बौद्धमन्दिरको परिसरमा एक समारोहको आयोजना गरिएको थियो । सन् २००० मा मास्कोका मेयरको निर्णयअनुसार प्रदान गरिएको यस जग्गामा बौद्धविहार निर्माण गर्ने परियोजनालाई साकार रुप दिन गत १४ मेईको झरीवर्षायुक्त शुभमुहूर्तमा भावी बौद्धस्तुपको निर्माणार्थ जग खन्ने कार्य सुसम्पन्न गरिएको थियो ।

ZimbinovKD

भावी बौद्धविहार बन्ने यस स्थानको नजिकै क्रिश्चियन अर्थाडक्स चर्च रहेको छ भने आसपासमै इस्लाम मस्जीद र यहूदी सेनागोग पनि रहेका छन् । यस्तो रमणीय जग्गामा हाल रुसको राजधानीमा पहिलो बौद्धविहारको निर्माण गर्ने कार्यको शुभारम्भ भएको छ । यसप्रकार मास्कोको यो इलाका रुसका जनताहरुले मान्दै आएको चारै परम्परागत विश्वधर्महरुको संगमस्थल बन्ने छ ।

TereshkinPG&ShresthaKPरुसको राजधानीको एक बौद्धिक तथा सांस्कृतिक केन्द्रको रुपमा निर्माण गरिने भावी बौद्धविहारको नक्सा तयार भई सन् २०१४ को अक्टोबर महिनामा त्यहाँ निर्माणका लागि अनुमति समेत प्राप्त भइसकेको छ र साढे अठार मिटर अग्लो तीनतले यस बौद्धविहारको कुल क्षेत्रफल ३०७९ वर्गमीटर हुनेछ । उल्लेखनीय के पनि छ भने त्यहाँ निर्माणधीन बौद्धविहारले हीनयान, महायान, बज्रयान अर्थात् बुद्धधर्मका सबै सम्प्रदायहरुको साझा बौद्धमन्दिरको रुप लिनेछ ।

Lamabhikshuko pujapathयस साल मास्कोमा बसोवास गरिरहेका बौद्धमार्गीहरुले बुद्धजयन्ती समारोह भावी बौद्धमन्दिरको जगमा खुला आकाशमुनि मनाउन नेपाल लगायत बुद्धधर्म मान्ने विभिन्न देशका राजदूतावासका प्रतिनिधिहरुलाई पनि निम्त्याएका थिए । त्यहाँ बौद्धधर्माबलम्बीहरु मात्र नभई रुसी अर्थाडक्स चर्चका अनुयायीहरुको पनि उपस्थिति रहेको थियो । मास्को महानगरीको सरकारका प्रतिनिधि कन्स्तान्तिन भ्लाजेनोभ र बौद्धविहारको निर्माणार्थ नक्सा बनाउने वास्तुकलाविद् पाभेल तेरेश्किनले रुसको प्रमुख अर्थडक्स धर्मको प्रतिनिधित्व गरेका थिए भने हिन्दू धर्माबलम्बीहरुको प्रतिनिधित्व यसै पंक्तिकारबाट भएको थियो । मास्कोमा निर्माणाधीन भावी बौद्धविहारले बुधधर्मका विभिन्न सम्प्रदायहरुलाई मात्र नभई विश्वकै विभिन्न धर्मका अनुयायीहरुका लागि पनि आफ्नो ढोका खुला राख्ने छ भन्ने यस तथ्यबाट समेत प्रमाणित हुन्छ । यो नै मेरो विचारमा बुद्धधर्मको विशेष मानवतावादी चरित्र हो भन्नु अत्युक्ति हुने छैन ।

Lama&KPS

दिउँसो ठीक ३ बजे सबैले आ–आप्mनो स्थान ग्रहण गरिसकेपछि बुद्धको प्रतिमा राखिएको स्थानमा ५ जना लामाभिक्षुहरुले तिब्बती भाषामा लयात्मक मन्त्रोच्चारण गर्दै पूजापाठ सम्पन्न गरेका थिए । मास्को बौद्ध समाजकी अध्यक्ष डुल्मा शाग्दारोभाले मास्कोमा पहिलो बौद्धविहारको निर्माणका लागि आजसम्म गरिएको कार्यबारे पनि संक्षेपमा प्रकाश पार्दै रुस महासंघमा परम्परागत रुपमा बौद्ध धर्म मान्ने काल्मिकिया, बु¥यातिया आदि विभिन्न स्थानका मास्कोमा उपस्थित रहेका लामाभिक्षुहरु र मास्को सरकारअन्तर्गत राष्ट्रिय मामिला तथा मास्कोका धार्मिक सम्प्रदायहरुसंग सम्पर्क स्थापित गर्ने समितिका उपाध्यक्ष कन्स्तान्तिन भ्लाजेनोभ, बौद्धमन्दिर निर्माणसम्बन्धी संरक्षक परिषदका अध्यक्ष मिखाइल लित्भिन्चेभ, बौद्धविहारको नक्सा तयार पार्ने वास्तुकलाविद् पाभेल तेरेश्किन प्रभृति गण्यमान्य व्यक्तिहरुलाई खादा ओढाएर स्वागत–सत्कार गरिन् ।

Lama&Dulma

मास्को महानगरीको सरकारका प्रतिनिधि कन्स्तान्तिन भ्लाजेनोभको छोटो मन्तव्यमा बहुराष्ट्रिय तथा बहुधार्मिक मास्कोमा अब रुसको एक परम्परागत धर्मको बौद्धविहार पनि अस्तित्वमा आइरहेको सन्दर्भमा खुशी प्रकट गर्दै यसको निर्माणमा मास्को सरकारको तर्पmबाट सक्दो सहयोग प्रदान गरिने आश्वासन दिनुका साथै मास्कोका बौद्ध धर्माबलम्बीहरुको उत्सव बुद्धजयन्तीको अवसरमा अमनचैन तथा उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।

IMG_2735मास्को बौद्ध समाजका उपाध्यक्ष कोन्स्तान्तिन जिम्बिनोभले भावी बौद्धविहारको पवित्र भूमिमा पहिलेभैंm यस साल पनि बुद्धजयन्ती मनाउने परम्परालाई निरन्तरता दिइएको जनाउनुका साथै सर्वप्रथम १३ मिटर अग्लो बौद्धस्तुपको निर्माण गर्ने र त्यसपछि सानो मन्दिरको निर्माण थालिने जानकारी दिंदै अन्त्यमा तीन हजार वर्गमिटर क्षेत्रफल भएको तीनतले विशाल विहारअन्तर्गत पूजापाठ कक्षका साथै न्यासध्यानकक्ष, सांस्कृतिक अध्ययन तथा शिक्षणकक्ष, पुस्तकालय, प्राच्यचिकित्साकेन्द्र, भोजनालय आदि पनि रहने योजनाबारे प्रकाश पार्दै सबैको सहयोगबाट सन् २०१७ को अन्त्यसम्ममा निर्माणकार्य पूरा गरिने छ भनी जोड दिएका थिए ।

IMG_2697मास्कोमा बौद्धविहारको खाका तैयार पार्ने वास्तुकलाविद् पाभेल तेरेश्किनले बौद्धविहारको निर्माणार्थ प्राप्त भएको यस जग्गामुनि सहरको जीवनका लागि आवश्यक विभिन्न संरचनाहरु रहेकाले नक्सा पास गराउन निकै समय लागेको थियो र अन्ततोगत्वा प्राविधिक र इन्जीनियरिंग समस्या समाधान भई निकै गहिरो जग खनेर विहार बनाउने गरी अनुमति प्राप्त भएको हुँदा निर्माण खर्च बढी लाग्ने जानकारी दिएका थिए ।

IMG_2696बु¥यातियाका बौद्ध धर्माबलम्बीहरुको संस्थाका प्रतिनिधि दुगारोभले मास्कोमा सांस्कृतिक कार्यक्रमसहित च्यारिटी शोको आयोजना गरेर बौद्धविहारको निर्माणमा सहयोग गर्ने तत्परता जनाएका थिए भने बु¥यातियाकै एक युवा कलाकारले आफ्नो मातृभाषामा गीत गाएर सुनाएका थिए ।

बौद्धमन्दिर निर्माणसम्बन्धी संरक्षक परिषदका अध्यक्ष मिखाइल लित्भिन्चेभले मास्कोमा बौद्धविहारको निर्माणका लागि दुल्मा शाग्दारोभाको अथक प्रयासको सराहना गर्दै यसको निर्माणमा आर्थिक तथा भावनात्मक सहयोग गर्न तत्पर रहेका सबै महानुभावहरुप्रति कृतज्ञता जनाएका थिए ।
समारोहमा यस पंक्तिकारलाई पनि केही शब्द बोल्ने अवसर प्रदान गरिंदा मैले रुस र नेपालका बीच सांस्कृतिक तथा धार्मिक क्षेत्रमा सम्बन्धको इतिहास कैयौ शताब्दी पुरानो भएको चर्चा गर्दै सातौं शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको दाइजोस्वरुप ल्हासामा पुगेको श्रीखण्डको बुद्धमूर्ति (रुसीमा ‘सान्दाल्नी बुद्ध’) बुर्यातियाको दाच्चान ं(बौद्धविहार) मा अद्यापि रहेको र रुसको तत्कालीन राजधानी सेन्टपिटर्सबुर्गमा उन्नाईसौं शताब्दीको अन्त्यतिर निर्मित बौद्धविहारको भित्ताभरि नेपालाक्षरमा बौद्ध मन्त्रहरु कुँदिएका काठका फलकहरुले सिंगारिएको आपैmले देखेको पनि बताएको थिएँ । मास्को बौद्ध समाजको अग्रसरतामा वर्तमान रुसको राजधानीमा पनि अब छिटै नै बौद्धविहार अस्तित्वमा आउने तथ्यबाट बुद्ध जन्मेको देशमा जन्मने सौभाग्य पाउने हामी नेपालीहरु निकै आल्हादित र्छौ भन्ने अभिव्यक्ति दिंदै नेपालमा बौद्ध धर्माबलम्बीहरुले मात्र नभई हिन्दुहरुले समेत विष्णुको एक अवतारको रुपमा शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पूजाअर्चना गर्नेगरेको पनि सूचित गरेको थिएँ । बुद्धको जन्मथलो लुम्बिनीमा कुनै दिन रुसको पनि एक बौद्धविहार बन्ने छ र रुसका बौद्धमार्गीहरु तिर्थयात्रीको रुपमा त्यहाँ पुग्नेछन् भन्ने आकांक्षा व्यक्त गरेको थिएँ…
बौद्ध समाजकी अध्यक्ष डुल्मा शाग्दारोभाले भावी बौद्धविहारको स्थलमा बुद्धजयन्ती मनाउने निमन्त्रणा स्वीकार गरी उपस्थित भएका सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Buddha Mandir Moscow Plan

मास्कोका बौद्ध धर्माबलम्बीहरुद्वारा ग्रीष्मको घमाइलोे दिन बुद्धको जन्म, प्रबोधन तथा निर्वाणको त्रिवेणी परेको पूर्णिमाको उपलक्ष्यमा भावी बौद्धमन्दिरको जगमाथि खुला आकाशमुनि मनाइएको बुद्धजयन्ती समारोहको अन्त्यमा लामाभिक्षुहरुले डुल्मा शाग्दारोभालाई खादा ओढाएर सम्मान गरेका थिए ।

तत्पश्चात् समारोहमा उपस्थित सबैलाई चियापानका लागि नजिकै टाँगिराखेको त्रिपालभित्र निम्त्याइयो । त्यहाँ मैले पहिलेदेखि चिनेका वास्तुकलाविद् पाभेल तेरेश्किनले आप्mनो ल्हासा–यात्राको अविस्मरणीय अनुभव बताएका थिए भने केही महिनाअघि लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिने रुसका युवा विद्वान् बात्र कितिनोभले नेपाल यात्राको अनुभव बताउँदा मैले पनि नेपाल र रुसका बौद्धसमुदाय र विद्वान्हरुबीच सम्बन्ध–विकासमा मिलेर काम गर्ने सुझाव राखेको थिएँ ।
त्यहाँ एक लामाभिक्षुले आप्mना पुर्खाहरु पनि नेपालको ली भन्ने ठाउँबाटै बु¥यातियामा बसाइँ सरेको किम्बदन्ती सुनाउँदै मलाई बुद्ध जन्मेको देशको वासिन्दा र आफ्नै ‘गाउँले’ (रुसीमा ‘जेम्ल्याक’) भन्दै अङ्कमाल गरी स्नेहप्रदर्शन गर्न पुगेका थिए । हामीहरुले मास्कोमा भावी बौद्धमन्दिरको पवित्रस्थलमा भेटघाटको सम्झनाका लागि फोटो पनि खिच्यौं…
भावी बौद्धविहार बन्ने स्थलमा अहिले एउत्रा सामान्य खालको स्तुप र नजिकै बडेमानको तामाको माने मात्र स्थापित भएको हुँदा ती धार्मिक वस्तुहरुको पनि फोटो खिंचेर निवासस्थानतिर फर्किएँ…
दिनांक ः ३ जून २०१५ (बुधवार),
मास्को, रुस महासंघ ।

प्रतिक्रिया