एमालेले नेतृत्व गर्ने अवसर पाए ओली प्रधानमन्त्री

इनेप्लिज २०७२ जेठ २५ गते १५:३१ मा प्रकाशित

Madhav_Kumar_Nepal2

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग पछिल्लो समयमा दलहरुले संविधानका अन्र्तबस्तुमा सहमति जुटाउन गरिरहेको पहल र महाविपत्तिलाई सामना गर्न सबै दल सम्मिलित राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा भईरहेको प्रयास लगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी

भुकम्पको कारण हामीले आठौ गणतन्त्र दिवस मनाउन सकेनौ, तपाईको धारणा के ?
एउटा ऐतिहासिक परिवर्तनको सुरुवात भएको छ २०६३ सालपछि र त्यसलाई सस्थागत स्वरुप प्रदान गरेको छ २०६५ सालको संविधानसभाले । नेपालमा एउटा यूगित, ऐतिहासिक परिवर्तन भएको छ । कसैले नचिताएको, कसैले कल्पना नगरेको यति छिटै नेपालमा गणतन्त्र आउँछ भनेर नठानेको त्यो कामलाई हाम्रो पुस्ताले सम्भव तुल्याएको छ । यो एउटा गौरब गर्न लायक चिज हो । तर गणतन्त्रलाई बास्तविक लोकतन्त्रको रुपमा ढाल्नु जरुरी छ । गणतन्त्र खाली राजा विनाको शासन प्रणालीले मात्रै पुग्दैन । बंशाणुगत शासनहरु, हुकुमी शासनहरु, हुकुमी शैलीहरु, हुकुमी सस्कारहरुबाट सबैले मुक्त हुन सक्नु पर्दछ । जवसम्म हामी सामान्ती सोचहरु, चिन्तनहरु, प्रबृत्ति र ब्यवहारहरुबाट मुक्त हुँदैनौ तबसम्म गणतन्त्रको स्थापानको कुनै खास अर्थ रहँदैन । हामीले खाली शासन पद्धतिको माथिल्लो तहमा राजालाई हामीले एउटा ब्यक्ति र सस्थाको रुपमा हटाएका होईनौ । सस्कारको रुपमा पनि हटाउन खोजेका छौ । प्रत्येक सस्थाहरुभित्र, प्रत्येक मानिसहरुभित्र लोकतान्त्रिक सस्कार हुर्कन सक्नु पर्दछ । लोकतन्त्रलाई सस्थागत गर्ने काममा अझै धेरै गर्न बाँकी नै छ ।

गणतन्त्रलाई सस्थागत गर्न एउटा संविधान पनि तपाईहरुले दिन सक्नु भएन ?
हो, ढिलो भएको छ तर एउटा कुरा ख्याल गर्नुस रोम एक दिनमा मात्रै बनेको होईन । अहिलेको अवस्था हामीलाई दिक्क लाग्दो हुन सक्छ । म आफै पनि दिक्दार भएको छु किनभने म फास्ट काम गर्ने मान्छे हु । म छिटो काम हुनु पर्छ भन्ने मान्यता राख्ने मान्छे हु । अरुको ढिला सुस्तीको कामहरु देख्दा खेरी दिक्क पनि लाग्छ । तर गर्ने के ? विड मात्रै तातेर हुँदैन रहेछ ताप्के पनि तात्नु पर्दो रहेछ । ताप्केको अवस्थामा रहेको जो जो हुनु हुन्छ ति सबैको काधमा त्यो विशेष जिम्मेवारी ईतिहासले सुम्पेको कुरालाई ति कसैले विर्सनु हुँदैन । त्यसअर्थमा पनि सबैले छिटो भन्दा छिटो जन चाहना बमोजिम संविधान ल्याउने काम पनि गर्नु पर्छ, राम्रो संविधान पनि ल्याउनु पर्यो, युगिन र देशलाई सुहाउँदो, देश भक्तिको भावनाले ओतप्रोत भएको संविधान पनि ल्याउनु पर्यो । राष्ट्रिय एकतालाई , अखण्डतालाई, भौगोलिक अखण्डतालाई अक्षुण राख्ने खाल्को, जातीय सदभाव कायम राख्ने खाल्को र जनताको विकास प्रगति र उन्नतीको निम्ति अनुकुल हुने खाल्को, समाजको रुपान्तरणकोलागि सहयोगी हुने खाल्को, सामाजिक , आर्थिक र सास्कृति रुपान्तरणको निम्ती उपयूक्त हुने खाल्को संविधान निर्माण गर्नु पर्यो ।

एकातिर ताप्के तात्नु पर्छ भन्नु हुन्छ, अर्को तिर सरकार परिवर्तनको खेलमा लाग्नु भएको छ ?
म सरकार परिवर्तन गर्ने, त्यसको निम्ति हानाथाप गर्ने पक्षमै छैन ।

राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ भनेर तपाईले भन्नु भएको होईन ?
हो, मैले भनेको हो । मैले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकारको अत्यन्तै ठूलो आवश्यकता महसुस गरेकै हो । त्यो कुरा मैले पार्टीहरुको माझमा पनि राखेको छु । ब्यवस्थापिका संसदको बैठकमा पनि मैले यो कुरा उठाएको हु । नेताहरुसँग पनि कुरा गरेको छु । प्रधानमन्त्रीसँग पनि यो विषयमा सल्लाह गरेको हु । मैले प्रधानमन्त्रीलाई राष्ट्रिय सरकारको लागि पहिल गर्न आग्रह पनि गरेको हु । उहाँले पनि म यसको पक्षमा छु भन्दै यसको आवश्यकता बारे सार्वजनिक रुपमा भन्दै पनि आउनु भएको छ । तर कुरा के छ भने देखि सरकारको कुरा गर्ने र सरकार भन्ने वित्तिकै म रहन्छु कि रहन्न भन्ने विषयले चिन्तीत हुने कुरा नेपाली राजनीतिमा देखा पर्न थालेको छ ।

राष्ट्रिय सरकारकोलागि प्रधानमन्त्रीले बाटो खोल्नु पर्छ भनेर तपाईले भन्नु भएको हो ?
छैन मैले भनेको । मैले त्यस्तो केही पनि बोलेको छैन । मैले राष्ट्रिय सरकारकोलागि प्रधानमन्त्रीले पहल गर्नु पर्छ भनेर भनेको छु । यस विषयमा छलफल गर्न पार्टीहरुको बैठक आयोजना गर्नु पर्छ भनेर भनेको छु मैले । चारवटा पार्टीलाई एक ठाँउमा बेलाउनुस, छलफल गर्नुस । विलम्ब नगरी चारवटा विषयहरु पुरा गर्नको लागि छिटो भन्दा छिटो राम्रो संविधान दिनको लागि, स्थानीय निर्वाचन म कराउँदा कराउँदा थाके । कागलाई बेल पाक्यो हर्स न विष्मात जस्तो अवस्था रहयो । अहिले आएर चुनाव चुनावको आठे भक्ति सुनिन्छ तर चुनाव गर्ने कस्ले ? एमालेले निर्णय गरेर भन्दा पनि भएन ति बैठकहरुमा म पनि छु । तात्नु पर्ने मान्छे नतातेपछि के गर्ने ? घोषणा गर्नु पर्ने मान्छे प्रधानमन्त्री हो । हामीले चुनावको लागि सहयोग गर्छौ भनेका छौ, अब कसले असहयोग गरेको हो उहाँले हामीलाई भन्नु पर्यो ।

प्रधानमन्त्रीको नेतृत्वमा विपत्त ब्यवस्थापन असम्भव भनेर एमालेले निष्कर्स निकाल्यो नि ?
त्यस्तो भएको छैन । नभएका नभएका कुरा बाहिर ल्याउनु हुँदैन ।

प्रधानमन्त्रीले राजिनामा दिनु पर्छ भनेर पनि तपाईहरुले भन्नु भएको छ नि ?
होईन, त्यस्तो हामीले भनेको छैन ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन तपाई सक्रिय हुनु भएको छ नि ?
होईन, मैले प्रधानमन्त्रीको राजिनामाको कुरा गरेकै छैन । हटाउने कुरा गरेकै छैन । बरु मैले भनेको छु, संविधान जारी गरिदियो भने सजिलो हुन्छ । सजिलो बाटो जाऔ, जटिल बाटो नजाऔ । यस विषयमा सुशील कोइराला जीलाई पनि सहमत गराऔ । उहाँले पनि संविधान जारी गरेपछि म पद छाड्छु भनिरहनु भएको छ । संविधान जारी गर्ने कुरामा कहाँ कहाँ बाधा अवरोध छ त्यो पत्ता लगाउनु पर्यो । हामीले सोच विचार गरेर मात्रै अघि बढ्नु पर्छ किनकी मुलुक अत्यन्तै संकटपूर्ण अवस्थामा छ । यो संकटको बेलामा सबै मिलेर जानु पर्दछ भन्ने मान्छे म । अनि अर्को ढंगले कुरा गरेर हुन्छ ?

उसो भए राष्ट्रिय सहमतिको सरकार केपी ओलीले गर्नु हुन्न भन्ने पक्षमा तपाई हुनु हुन्छ ?
होईन, हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने मौका पाउने वित्तिकै केपी ओलीजीले पाउनु हुन्छ । तर उहाँले सरकार चलाउँदा खेरी पार्टी र सरकार चलाउने तरिकालाई टोटल परिवर्तन गर्नु पर्छ । यो चिजको परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुराको विश्वास दिलाउनु पर्दछ ।
पछिल्लो समयमा केपी ओली र माधवकुमार नेपालको मन मिल्न थालेको हो ?
मन त मिल्नु पर्ने हो तर अस्ति फेरि मन्त्री नियूक्ती सम्बन्धमा त्यही कुराको पुर्नराबृत्ति भएको छ । ्

कृपासुर शेर्पालाई मन्त्री बनाउँदा तपाईको असहमति छ ?
मेरो सहमति त होईन तर मन्त्री नियूक्त भईसकेपछि त्यो ब्यक्तिको विषयमा मैले केही भन्न मिल्दैन । तर नियूक्तीको तरिकामा चाँही मेरो विरोध छ । हाम्रो पार्टीमा एउटा सिष्टम बसाल्नु पर्छ । कुन ढंगले मन्त्रीलाई राख्ने र कुन ढंगले मन्त्रीलाई हटाउने, कुन हिसावमा कस्ले गर्ने भन्ने विषयमा पार्टी भित्र एउटा सस्थागत निर्णय गर्नु पर्ने आवश्यकता छ ।

त्यसो भए तपाईसँग सल्लाह नै नगरी मन्त्री परिवर्तन गरियो ?
हो, असहमतिका विचमा मन्त्री बनाईयो ।

भोली केपी ओली प्रधानमन्त्री बन्दा तपाई र उहाँवीच कुरा मिल्छ ?
सबै कुरा प्रष्ट भएनन भने उहाँले संकटको समाना गर्नु पर्छ ।

तपाईले प्रधानमन्त्रीको दावी नगर्ने ?
गर्दिन, गर्दिन । हाम्रो पार्टीले मौका पायो भने केपी शर्मा ओली पार्टी अध्यक्ष हुनु हुन्छ त्यसैले उहाँले पहिलो प्राथमिकता पाउनु हुन्छ । सर्वसम्मत रुपमा उहाँ हुनु हुन्छ, यस विषयमा हाम्रो पार्टीमा कुनै विवाद छैन । एउटा कुरा के छ भने कुन रुपमा साथ र समर्थन दिने भन्ने कुरा सिंगो पार्टी सञ्चालन गर्दा कुन कुरा अबलम्बन गर्ने भन्ने कुरामा प्रष्ट समझदारी, निर्णयसहित विश्वासको स्थिति बन्नु पर्छ ।
अहिलेकै ढंगमा पार्टी अघि बढिरहे तपाईहरुको समर्थन रहँदैन ?
हो,

केपी शर्मा ओलीले के गर्दा सहमति हुन्छ त ?
होईन तपाई अहिले बोक्रा बोक्रा कुरामा नजानुस, मुल कुरामा जानुस । अहिले पार्टीहरुका वीचमा कसरी विश्वास जन्माउने, कसरी सहमति कायम गर्ने, कसरी राष्ट्रिय एजेण्डामा सबै सहमत हुने, कसरी सबै ईमान्दार भएर प्रस्तुत हुने ? मुलुक गंभिर विपत्तिको अवस्थामा छ । यो संकट अहिले नै थामिने वाला छैन । यो संकट अझै बढ्न सक्ने अवस्थामा छ । वर्षाको याम आउँदै छ, पहिरो जान सक्दछ, हिमतालहरु फुट्न सक्दछन । अर्थात प्राकृतिक विपत्तिहरुको खतरा विद्यमान छदैछन ।

एमालेले सत्ता परिवर्तनको बेमौसमी बाजा बजाउन थाल्यो भनेर भनि भन्न थालिएको छ नि ?
एमाले सत्ता परिवर्तनको खेलमा लागेकै छैन । राष्ट्रिय पर्ननिर्माणको लागि राष्ट्रिय सरकार जसमा एमाओवादी पनि सहभागि हुन्छु भन्दैछ त्यो कहाँ बेमौसमको बाजा हो र । नेतृत्वको विषयमा अहिले कसैले टाउको दुखाउने होईन, त्यो बसेर छलफल गर्ने कुरा हो । नेतृत्वको कुरा अहिले आएकै छैन । अहिले त हामी सरकार बनाउने कन्सेप्टमा छलफल गरिरहेका छौ ।

केपी ओलीले त आफू प्रधानमन्त्री बन्ने संकेत त गरिसक्नु भएको छ नि ?
एमालेले नेतृत्व गर्ने मौका पायो भने त उहाँले पाई हाल्नु हुन्छ नि ।

एमालेले काग्रेस बाहेकको गठबन्धनबाट भएपनि सरकार बनाउने निर्णय गरेको हो कि होईन ?
हेनुर्स, काग्रेस बाहेकको हुने भएको भए मैले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, सुजाता कोइरला, अर्जुन नरसिंह केसी, दिलबहादुर घर्ति, आनन्द ढूङगाना र स्वयम प्रधानमन्त्री सुशील कोइरालासँग कुरा गरेको छु । पुष्पकमल दाहाल, बाबुराम भट्टराई, विजय गच्छदार, कमलथापा, दिपक बोहरा, सीपी मैनाली, चित्रबहादुर केसी, प्रेम सुवाल, एकनाथ ढकाल, राजेन्द्र महतोसँग कुरा गरेको छु । यो राष्ट्रिय सहमतिको सरकार बनोस, मिलेर संकटको समाधान गरौ, मध्य पहाडी राजमार्ग चार लेनको बन्यो भने शहरहरु विकास गर्नसकिन्छ, भुकम्पले विनास भएका बस्ति सार्ने सन्दर्भमा, रोजगार बृद्धि र पर्यटन बृद्धिको निम्ती, फास्ट ट्रयाक, अर्को अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण जस्ता राष्ट्र पुर्ननिर्माणको कामलाई अगाडि बढाउन सबैले स्वयमसेवी भएर एक भएर जुट्नु पर्ने आवश्यकता परेको अवस्था हो ।

सुशील कोइरालाकै नेतृत्वमा सहमतिको सरकार बनाउन सकिदैन ?
प्रधानमन्त्री को हुन्छ भनेर अहिले बहस गर्ने बेला होईन । सबैको सहमति हुन्छ भने यो ठूलो कुरा होईन । जसको नाममा सहमति हुन्छ बाँकीले त्याग गर्नु पर्छ ।

प्रतिक्रिया