साहित्यको बाटो खुल्यो

इनेप्लिज २०७२ असार ३ गते १४:४४ मा प्रकाशित

china-sahitya_20150618081835युन्नान (चीन), असार ३ – केही वर्ष यता ‘एक बेल्ट एक बाटो’ को अवधारणाअनुसार चीनले दक्षिण एसिया र दक्षिणपूर्वी एसिया केन्द्रित रहेर युन्नानको राजधानी कुन्मिङमा विभिन्न गतिविधि बढाएको छ– साहित्यिक, सांस्कृतिकदेखि फिल्मीसम्म । सिल्क रोड (प्राचीन रेशम मार्ग) लाई जोडेर गतवर्षदेखि नै अन्तर्राष्ट्रिय फिल्म महोत्सव थालिसकेको छ भने नेपालसँगै जोडिएको चिया मार्ग (टी हर्स रोड) लाई केन्द्रमा राखी खोज अनुसन्धान र किताब प्रकाशनसम्म योजना पनि अघि बढाइरहेकै छ । यसपटकको दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाली लेखक सम्मेलनबाट भने नेपाली साहित्य चीनसम्म पुग्ने भरपर्दो नयाँ बाटो खुलेको छ । नेपाली साहित्यकार टोली र युन्नान राइटर्स एसोसिएसनको टोलीबीच भएको अनौपचारिक छलफलले दुई देशीय साहित्य आदानप्रदान सम्बन्धी कागजी सम्झौता नै गर्ने निक्र्यौल निकालेको हो ।

‘यस अन्तर्गत कृति अनुवाददेखि, प्रकाशन र बजारीकरणसम्म पर्नेछन्,’ छलफलमा सहभागी एसोसिएसनका उपाध्यक्ष याङ हाङकुनले भने, ‘दुई देशीय भ्रमण र अनुभव आदानप्रदान त छँदै छ ।’ युन्नान प्रान्त अन्तर्गत नै यिलियाङ काउन्टीका राइटर्स एसोसिएसन अध्यक्ष झेङ झुरोङसमेत सहभागी छलफलमा याङले लाओससँग सम्झौता भइसकेको र त्यस अनुरूप पहिलो चरणको काम अघि बढिसकेको जनाए । ‘नेपालसँग पनि हामी एमओयु (आशयपत्र) मै सम्झौता गरेर काम गर्न तयार छौं,’ उनले भने, ‘यसले दुई देशबीचको साहित्यिक सम्बन्धलाई थप मूल्यवान् बनाउन सघाउनेछ ।’ छिट्टै एसोसिएसनको बैठक बसी आशयपत्र तयार पार्ने र आउँदो पुसभित्र सम्झौतापत्रमा हस्ताक्षर गर्न आफूहरू तयार रहेको उनले जनाए ।

वल्र्ड कल्चरल नेटको संयोजनमा नेपाली कला साहित्य डटकम प्रतिष्ठानसित हुने सम्झौताले नेपाली साहित्यको नयाँ विश्व बजार सम्भावना खोतल्न सघाउने नेपाली टोली प्रमुख कवि डा. विमल कोइरालाले दाबी गरे । ‘संसारकै सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकमा हाम्रो साहित्य उनीहरूकै भाषामा जान सक्यो भने साहित्यकारहरूका लागि मात्र नभई मुलुककै पर्यटन र आर्थिक विकासलाई समेत सघाउँछ,’ डा. कोइरालाले भने, ‘र, यो निकै उपलब्धिपूर्ण ठहरिनेछ ।’ यसअघि बेइजिङ, सांघाई र युन्नानकै राइटर्स एसोसिएसनसित सहकार्य गरेर साहित्यिक अनुभव आदानप्रदानको कार्यक्रम भइसके पनि सम्झौता गरेर अघि बढ्ने तहसम्म पुग्न नसकेको बताउँदै यसपटक भने प्रक्रिया अघि बढाउने सहमति भएकोमा प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले खुसी प्रकट गरिन् । यिलियाङ काउन्टीको साहित्यिक भ्रमण अन्तर्गत भएको छलफलमा नेपाली टोलीका तर्फबाट कथाकार दिलीप शाह र कवि राजेश्वर कार्की पनि थिए ।

यसबाहेक तेस्रो चीन–दक्षिण एसिया एक्स्पो र २३ औं कुन्मिङ मेला अन्तर्गत मंगलबार सकिएको सम्मेलनले सहभागी मुलुकहरूबीच साहित्यिक रचना आदानप्रदानको घोषणा नै गरेको छ । थाइल्यान्ड, म्यान्मार, बंगलादेश, भारत, कम्बोडिया, लाओस, भियतनाम लगायत मुलुक सहभागी सम्मेलनबाट फर्केपछि हरेक साहित्यकारले कम्तीमा एउटा साहित्यिक रचना लेख्नुपर्ने र त्यसलाई दुवै देशबाट प्रकाशन गर्ने सम्मेलनमा जनाइएको थियो । यसका लागि हरेक लेखकलाई व्यक्तिगत आग्रहपत्र नै दिइएको थियो । नेपालसँग हुन लागेको सम्झौता भने योभन्दा विशेष हो ।

‘सम्झौता भयो भने चिनियाँ साहित्यकारले पनि नेपाल आएर हाम्रो समाज, संस्कृति र जीवनसम्बन्धी साहित्य लेख्नेछन्,’ कोइरालाले भने, ‘दुवै देशमा किताब प्रकाशन हुनेछन् ।’ एसोसिएसनका उपाध्यक्ष याङले लाओससँग काम अघि बढिसकेकाले नेपालसँगको सहकार्य आफूहरूलाई सहज हुने दाबी गरे । सम्मेलनको उद्घाटन समारोह कुन्मिङमा सकाएपछि साहित्यकारहरूलाई युन्नानका विभिन्न ऐतिहासिक, सांस्कृतिक थलोको अवलोकन भ्रमण गराएको थियो । नेपाली टोली ले पुदा वे सहर, मिला सहरदेखि यी, आसी, चुङ लगायतका अल्पसंख्यक समुदायको गाउँसम्म पुग्यो । सबै थलोमा स्थानीय कला, संस्कृति र झाँकी सहितको कार्यक्रम गरिएको थियो । ‘चीनले साहित्यलाई कसरी संस्कृति, पर्यटन र आर्थिक विकाससँग जोडेको रहेछ भन्ने नजिकबाट अनुभव गर्न पाइयो,’ कोइरालाले भने, ‘हामीसँग पनि धेरै सम्भावना रहेछन् ।’

स्रोत:इकान्तिपुर

प्रतिक्रिया