मैले एमाले वडाध्यक्षको घर बनाइदिएँ: प्रदिप पौडेल, नेता, नेपाली काँग्रेस (अन्तर्वार्ता)

इनेप्लिज २०७२ असार १० गते १३:०३ मा प्रकाशित

 

 

 

Pradip-Poudel (1)

‘नेपाली समाज राजनीतिक रुपमा एकदमै बिभाजित छ’

तपाईँहरु त घर निर्माण अभियानमा खुबै लाग्नु भएको छ । अहिलेसम्म कति बने ?

काँग्रेसले श्रम अभियान सञ्चालन गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट गएर पहिला अस्थायी बसोबासको व्यवस्था गरिरहेका छौँ । त्यसपछि भत्किएका घरहरु पन्छाउनु छ । चौपायाहरु मरेका छन् भने त्यसलाई व्यवस्थित गर्नु छ । मैले केही समय अगाडि आफ्नो सक्रियतामा ५ सय घर तथा टहरा निर्माण गर्छु भनेको थिएँ । त्यो काम द्रुत गतिमा अगाडि बढाइरहेको छु । हामीले ४ सयभन्दा बढी अस्थायी घर टहरा निर्माण गरिसकेका छौँ । गोरखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, तनहुँमा हामीले यो काम सम्पन्न गरिसक्यौँ । दोलखामा अझ ठूलो संख्यामा अस्थायी घर निर्माणमा लागिरहेका छौँ । म सिन्धुपाल्चोकको प्रतिनिधि भएकाले मेरो कामलाई त्यहीँ केन्द्रित गरेको छु । हाम्रो पार्टीको सक्रियतामा हजारौँ घरहरु बनिसकेका छ ।

संविधान नबन्दा मानिसहरु त्यसै पनि चिढिएका थिए, भूकम्पपछि त राजनीतिक पार्टीप्रतिको बितृष्णा झन् बढ्यो नि ?

हो, अपेक्षा अनुसार सहयोग हुन सकेन । त्यसमा असन्तुष्टि बढिरहेको छ । विषेशगरी राजनीतिक दल र सरकारप्रति जनताको असन्तुष्टि छ । तर, जनताहरुले सहयोग खोजिरहेका छन् । पीडा र दर्दमा रहेका नेपाली जनतालाई दलहरुले हदैसम्मको सहयोग गर्नको निम्ति बातावरण वनाउन आवश्यक छ । दलहरुले लाखौँ कार्यकर्ता छन् भनेर दाबी गरिरहेको स्थिति छ । तर, कुल जनसंख्याको २० देखि २५ प्रतिशत जनतामात्रै भूकम्पबाट पीडित छन् । ७५ प्रतिशत जनता भूकम्प पीडितलाई सहयोग गर्न सक्ने अबस्थामा छन् । ती लाखौँ कार्यकर्ता भूकम्प पीडितका लागि सहयोग गर्न किन पछि परिरहेका छन् ? हुन त, नेपालको सन्दर्भमा यस्ता विषयमा कुनै तयारी हुँदैन । कम तयारी र बिपन्न मुलुक भएकाले पनि भूकम्प पीडितलाई अपेक्षित सहयोग गर्न सकिसकेका छैनौँ ।

सर्वसाधारणको धारणा कस्तो पाउनुभयो ?

क्षति भएकाहरुले सहयोग र अभावपूर्तिको अपेक्षा गरिरहेका छन् । त्यो अपेक्षाअनुसार काम भैरहेको छैन । त्यसलाई म पनि स्वीकार्छु । तर, आफूले गर्न सकेजति सक्रिय भएर लागिरहेको छु । अहिले हरेक कार्यकर्ताहरु यसरीनै लागिपरेको स्थिति छ ।

अहिले घर टहरा निर्माणमा एक खालको प्रतिस्पर्धाजस्तो देखिन्छ । यो देखाउनका लागि मात्र गरिएको छ, वा साँच्चिकै उपलब्धिमुलक ?

यो सकारात्मक काम हो । यस्तो बेला प्रतिस्पर्धा गरेरै धेरै काम गर्न सकिन्छ । कसले घर तथा टहरा धेरै बनाउने भन्ने विषयमा जित्ने कोसिस गरौँ । त्यो राम्रो हुन्छ । प्रचार नगरौँ । यथार्थमा जित्ने कोसिस नगरौँ । तर, धेरै ठाउँमा कस्तो भएको छ कि म काँग्रेस भएको कारण एमालेको गाउँमा घर बनाउन गएँ भने स्थानियहरुको सहयोग पाउँदिन । यस्तो बेला राजनीतिक दलहरु आपसमा समन्वय गरेर अगाडि बढ्दा राम्रो हुन्छ । नेपाली समाज राजनीतिक रुपमा एकदमै बिभाजित छ । हाम्रो समाजको बिभाजित स्वरुपलाई हेरेर सबै राजनीतिक दलहरुको सहभागितामा उद्दारमा लाग्न सकियो भने अझै बढी परिणाममुखी हुँदो रहेछ । त्यसको लागि दलहरु सैद्धान्तिक रुपमा तयार हुनु पर्छ ।

विपतको बेला पनि यो कस्तो राजनीति ?

यो राजनीतिभन्दा पनि आफ्नो दललाई सक्रिय बनाउन खोजेको हो । भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको हो । भोलि भोट माग्न जाँदा, ‘दुःखको बेला कहाँ गएका थियौ ?’ भन्छन् । त्यसैले दलका नेता, कार्यकर्ताले आफूलाई भूकम्प पीडितको सहयोगीको रुपमा उभ्याउनैपर्छ ।

उसो भए त राजनीतिमा नदेखिनेहरुलाई झन् ठूलो समस्या छ होइन् त ?

भूकम्प पीडितलाई सहयोग गर्दा म काँग्रेसले कांग्रेसलाई मात्र सहयोग गरेको छैन । म आफैले एमाले वडा अध्यक्षको घर बनाएँ । आफ्नो पार्टीमात्र हेर्न थालियो भने गलत ‘म्यासेज’ जान्छ ।

दलहरु भूकम्प पीडितका लागि भन्दा पनि सरकार निर्माणका लागि जोड दिइरहेका छन् । यति ठूलो भूकम्प आउँदा पनि पाठ सिकेनन् हैन ?

सबैले सिक्नु पर्छ । यो बेला राजनीतिक दलहरुले अनुभवको आधारमा विपद्बाट सिकेर आफूलाई परिवर्तन गर्नु पर्दछ । शहरमा मात्र होइन्, गाउँमा पनि घर निर्माणको मापदण्ड तोक्नु पर्दछ ।

तर यो त भूकम्प पीडितको सेवामा खटिने बेला होइन र ?

यो विपद्लाई बरदानमा परिणत गर्नका निम्ति अहिले व्यवस्थित ढंगबाट अगाडि बढ्न जरुरी छ । अहिलेको अनुभवको आधारमा दीर्घकालिन योजना निर्माण गर्न जरुरी छ । तत्कालिन र दिर्घकालिन योजना निर्माण गर्ने सन्दर्भमा दल र सरकार क्रियाशिल हुन आवश्यक छ । जुन अहिले राष्ट्रिय सरकारको कुरा चलिरहेको छ । साँच्चै सहमति हुन सक्ने हो भने त धेरै राम्रो कुरा हो । सहमतिको आधारमा मात्र राष्ट्रिय सरकार बन्न सक्छ । बिमतिको रेखा कोरेर सम्भव छैन ।

प्रतिक्रिया