सञ्चारकर्मी पौडेलको चौथो म्युजिक भिडियो

इनेप्लिज २०७२ असार ११ गते १९:३२ मा प्रकाशित

Bijay Paudel News

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका सञ्चारकर्मी विजय पौडेल पुनः अर्को म्युजिक भिडियोमा देखा परेका छन् । नरेन्द्र प्यासीको स्वरमा सजिएको ‘नजर पापी भन्छन्’ बोलको म्युजिक भिडियोमार्फत उनी सार्वजनिक भएका हुन् ।

न्यूयोर्कवरपरका रमणीय दृश्य समेटी तीन दिनको समय खर्चेर छायांकन सम्पन्न गरिएको उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी पौडेलका साथमा मोडल कला केसीको पनि अभिनय रहेको छ। कवि एवम् साहित्यकार गीता खत्रीको ‘अमूल्य’ नामक गीति एल्बमको उक्त गीतको भिडियोमा सञ्चारकर्मी पौडेलको जीवन्त अभिनय रहेको छ । नरेन्द्र प्यासीको गायन–संगीत रहेको यो गीतको निर्देशन गायक तथा निर्देशक ओम कर्माचार्यले गरेका हुन् ।

यसअघि पनि केही म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका सञ्चारकर्मी पौडेलद्वारा अभिनित यो चौथो म्युजिक भिडियो हो । यसअघि ‘केही गर्दा नि सुख पाएन’ बोलको राष्ट्रिय गीतमा पत्रकार पौडेल सञ्चारकर्मीकै भूमिकामा देखिएका थिए ।

नेपालमा रहँदा पनि अभिनयमा निकै शौख राख्ने पौडेल अमेरिका पुगेपछि पत्रकारितामा निकै व्यस्त बने । सञ्चारकर्मी पौडेल अमेरिकाको न्यूयोर्कबाट ९ वर्षदेखि प्रकाशित नेपाली भाषाको साप्ताहिक पत्रिका विश्व सन्देशका प्रधान सम्पादक हुन् ।

Bijay Paudel 2

प्रतिक्रिया