मास्कोको भोरोन्चोभ्स्की पार्कमा सप्ताहान्त

इनेप्लिज २०७२ असार २४ गते १०:४९ मा प्रकाशित

IMAG0563

रुसको राजधानी ग्रीष्मकालमा हराभरा पार्कभित्रै रहेको महानगरी प्रतीत हुन्छ । नगरका राजमार्गहरुको अगलबगलमा रोपिएका रुखहरुको हरियालीलाई विभिन्न स्थानमा बनाइएका क्यारीहरुमा रोपिएका रङ्गीविरङ्गी पूलका बोटहरुले झन् मनमोहक तुल्याइदिन्छन् । पहिले मास्कोको केन्द्रमा रहेको आर्बात सडकमा सोभियत कालमै शहरी यातायातका साधनहरु गुडाउन रोक लगाएर मानिसहरुका लागि घुमफिर गर्ने विश्रामोद्यानमा परिणत गरिएको थियो भने पछिल्लो समयमा त अन्य कतिपय केन्द्रीय सडकहरुलाई समेत आरामदेह मेचहरुले समेत सजाएर निकै मनमोहक विश्रामोद्यान तुल्याइएको छ ।

साँझपख बिजुलीबत्तीहरुको झिलिमिली समेत देख्न पाइने हुँदा त्यहाँ घुमफिर गर्ने नगरवासीहरु र पर्यटकहरुको घुइँचो लाग्दछ । यसका अतिरिक्त मास्कोमा विश्वप्रसिद्ध केन्द्रीय गोर्की पार्कको भव्यताको त कुरै नगरौंं, शहरका विभिन्न इलाकामा रहेका ठूलासाना सैयौं पार्कहरुमा पनि ग्रीष्मयाममा घुमफिर गर्नु निकै रमाइलो हुन्छ ।

मास्कोको दक्षिण–पश्चिम क्षेत्रको जुन इलाकामा म बस्तछु त्यो निकै हराभरा छ । मेरो निवासस्थानको तीनैतिर पार्कहरु रहेका छन् । म बस्ने भवनको छेवैमा जुन पार्क रहेको छ त्यो भोरोन्चोभ्स्की पार्क भनिन्छ । त्यहाँ केटाकेटीहरुको लागि क्रिडास्थलसहित मन बहलाउने राम्रो व्यवस्था गरिएको छ भने उमेरदारहरुका लागि पनि मनोरञ्जन र आरामविश्रामको व्यवस्था छ । त्यहाँका ५ पोखरीहरुमध्ये ठूलो पोखरीमा नौकाबहार समेत गर्न सकिन्छ । पूलका क्यारीहरुले सिंगारिएको उद्यानपथको अगलबगलमा आरामदायी बेन्चहरु राखिएका छन् । ग्रीष्मयाममा र हिउँदमा पनि यसै चित्रिक्क परेको पार्कमा म अक्सर बिहान र यदाकदा दिउँसो पनि घुम्न र आराम लिन जाने गर्दछु । यसै पार्कको एकातिर मेरो निवासस्थान छ भने अर्कोतिर डा. भीष्म आचार्यको निवासस्थान छ । ग्रीष्मयाममा हामी यसै भोरोन्चोभ्स्की पार्कमा घुमफिर गर्न जान्छौं वा कतै एकान्तस्थल रोजेर रुखको छहारीमा बसेर विश्राम गर्दछौं ।

सप्ताहान्तमा अक्सर हामी त्यहाँ आरा मगर्न पुग्दछौं…भोरोन्चोभ्स्की पार्कमा गतः ५ जुलाई .(आइतवार) का दिन अपरान्हमा पार्क घुम्न जाँदा बैण्डबाजाको धून बजिरहेको केन्द्रीय चहुरमा काज्जाक पोशाकमा कम्मरमा तरवार भिरेका र हातमा रङ्गीचङ्गी झण्डा बोकेका घोडचढीहरु देखिए भने चहुरको चारैतिर दर्शकको रुपमा त्यहाँ सप्ताहान्त मनाइरहेका मास्कोवासीहरुको भीड जम्मा भइसकेको थियो ।

सुरुमा नेपाली पाठकवृन्दलाई काज्जाकहरुकै संक्षिप्त परिचय दिन चाहन्छु । स्वतन्त्रताप्रेमी काज्जाक समूह स्लाभमूलको एक यस्तो सामाजिक समुदाय हो जो पन्द्रौै–सत्रौं शताब्दीमा रुस साम्राज्यको छेउछाउतिर केन्द्रित थियो र पछि अन्यत्र पनि पैmलियो । यो जनसमूह सुरुमा रुस र वर्तमान युक्रेनको स्तपी तथा वनप्रदेशतिर स्वच्छन्द जीवन बिताएर बस्ने गर्दथ्यो । शिकार खेल्नुका साथै खेतीपातीमा समेत संलग्न यो जनसमूह स्वच्छन्दताप्रेमी र लडाकू चरित्रको पनि हुनाले जारकालीन रुसमा कज्जाकहरुलाई सीमान्त रक्षाको जिम्मा लगाइएको थियो ।

IMAG0561

रुस साम्राज्यमा पनि काज्जाकहरुका प्रतिनिधिहरुबाट गठित सैनिक टुकडीहरुले टर्कीका सुल्तानविरुद्ध युद्धलगायत विभिन्न संग्रामहरुमा भाग लिएका थिए । सन् १९३० को दशकतिर सोभियत नेतृत्वले काज्जाक समुदायलाई नृवंशात्मक सांस्कृतिक समूहको रुपमा मान्यता प्रदान गरेको थियो । यस तथ्यले काज्जाकहरुको माझमा सोभियत सत्ताप्रति विश्वास जागेको थियो । आक्रामक जर्मन सेनाको विरुद्ध महान देशभक्तिपूर्ण युद्धमा काज्जाकहरुले ठूलो वीरताको प्रदर्शन गरेका थिए ।

गतः ५ जुलाईका दिन चाहिं भोरोन्चोभ्स्की पार्कमा महान् देशभक्तिपूर्ण युद्धमा विजयप्राप्तिको ७० वर्ष पूरा भएको सन्दर्भमा क्रेमलिनको अश्वारोहण स्कूलका उत्कृष्ट घोडचढीहरु काज्जाकको भेषमा आफ्नो कलाको प्रदर्शन गर्न भेला भएका रहेछन् । सर्वप्रथम घोडचढीहरुले मास्कोदेखि सेभास्तोपोल (क्रिमिया) र मीन्स्क (बेलारुस) देखि कीभ (युक्रेन) सम्मका अर्थात् पूर्व सोभियत संघका सबै वीरनगरीहरुको झण्डा फहराउँदै घोडा कुदाएका थिए ।

घोडा दौडाउँदै तरवार चलाउने खेल आदि जिगित–योद्धाको सामरिक कलाको पनि प्रदर्शन गरिएको थियो । हरेक अश्वारोही प्रदर्शनको समयमा माइकबाट रुसको सामरिक विजयको वर्णन पनि सुनाइँदै थियो । क्रेमलिनका घोडचढीहरुको विभिन्न प्रदर्शनको साथै दर्शकहरुले ताली बजाएर समर्थन र कृतज्ञता जनाउने गरेका थिए । त्यतिखेर म त्यहाँ हाम्रो घोडेजात्राको सम्झनामा डुविरहेको थिएँ भने डां भीष्म आचार्य त्यो रमाइलो घोडचढी खेलको फोटो खिच्नमा व्यस्त थिए ।

यस छोटो लेखमा नेपाली पाठकवृन्दलाई मास्कोमा ग्रीष्मयामको घमाइलो दिनमा कसरी सप्ताहान्त मनाइन्छ भन्ने पूरा झलक दिने लक्ष राखिएको छैन । रुसी भाषामा दाचा भनिने गाउँघरतिर ग्रीष्मकालीन कटेज र करेसोबारी जगले मास्कोवासीहरु पूरै ग्रीष्मयाम वा सप्ताहान्त अक्सर त्यही बिताउँछा् भने यस्तो दाचा नहुनेहरु पनि गाडीमा मास्कोबाहिरको रमणीय प्राकृतिक स्थलमा सानोतिनो पिकनिक मनाउँछन् वा कुनै नदीतटको बगरमा घाम ताप्न जान्छन् र यसलाई रुसीहरु सौर्यस्नानको संज्ञा दिन्छन् l भोरोन्चोभ्स्की पार्कलगायत मास्कोका विभिन्न पार्कहरुमा वा जलाशयको किनारामा पनि मानिसहरु सौर्यस्नान गर्दछन् । ग्रष्मियामको न्यानो वातावरणमा आ–आफ्नो रुचिअनुसार सप्ताहान्त मनाउने अरु पनि उपायहरुको अवलम्बन गर्न सकिन्छ ।

IMAG0556 IMAG0549

फोटो–सौजन्य डा. भीष्म आचार्य

प्रतिक्रिया