कतारले निलिदियो विमलाको भाग्य र सिन्दुर

इनेप्लिज २०७२ असार ३० गते १२:४७ मा प्रकाशित

bhawani-siba

दोहा । उद्धेश्य विहिन मानिस को पो हुन्छ र ? बुवा आमाको काखमा खाएर खेलेर हुर्किए पनि वालिग भएपछि जीवनदाता बुवा आमा र आफ्नी अर्धागिंनीलाई सुख कटाउन तथा तोते बोली बोल्ने बावु नानीका लागि राम्रो नाना र पापा किनेर ल्याईदिने वाचा गरेर विदेशिएका हर छोराको घर घरको कहानी र पिडा आफनै आफ्नै खाले छ ।

कोहि कोहि गाउँघर छँदा सरदरको आम्दानीमा नै जीवन जिउन माटो कोपरिरहेकाहरु आफ्नो आर्थिक स्तर केहि माथि उकास्ने सेतो सपना बोकेर विदेश हानिएका हुन्छन् भने कोहि कोहि भाग्यले नै ठगेर चरम गरिबीको चपेटाबाट नुर उठाउन नसकेपछि गाउँघर तिर सुकेब्याज ऋणपान गरेर वा जायज्येथा बन्धकी राखी विदेश पलायन हुनेहरुको दारुण कथाहरु पनि संगै खोकिलामा चेपेर मुग्लान भासिएका हुन्छन् । तर कतिको सपना नियतीले नै ठगिदिँदा सपनामा नै सिमित भईदिएर जीवनमा झन् अर्को थप पिडा थपिदिने गर्दछ ।
त्यस्तै अति चरम गरिवीको कारणबाट आजित भएका स्याबुन १ संखुवासभाका भवानी सिवा पनि ७ बर्ष अघि कतार छिरेका थिए । सूचीकारको काममा कतार प्रवेश गरेका उनले बहुत दुखजिलो गरेर आफ्नो घरको जोहो टार्दै आएका रहेछन् । गरिवीको दलदलमा थिचिनु सम्म थिचिएका भवानीले कतारमा आफुले कपडा सिलाउने पेसाको कुनै निश्चिन कार्य अवधि नतोकिएका उनी रातोदिन कपडा सिउने काममा नै जोतिरहन्थे । सरदरको आम्दानी भएपनि उनी नेपाल बसेर कमाउने गरेको पैसाको तुलनामा यहाँ राम्रै आम्दानी गरेकोमा रमाएकै कारणले उनी छुट्टी काट्दै आफ्ना परिवारजनलाई भेट्दै फेरि आफ्नो कर्मथलो फर्किन कार्यलाई जारी नै राखेका थिए ।
कतारमा काम गरेको कमाईले उनका पुराना साहूलाई दैलो टेक्ने बाटो बन्द गरेपनि बुवाआमाको रेखदेखको लागि भनेपनि बुहारी चाहियो भन्ने बहानामा उनका बुवा आमाले उनको विहे गरिदिएका थिए । ५ बर्ष अघि विहे गरे संगसंगै केहि साहु कमाएर फेरि आसामी बनी कतार फर्किएपछि उनलाई आफ्नो विहेमा लागेको ऋणका साहु निखन्नुपर्ने अर्को अभिभारा बोकेर कतार फर्किएका थिए भवानी ।
ऋण त पाखुरी बलियो भए जसै गरी पनि कमाएर निखनिन्छ भनेर उनी ढुक्क थिए । तर उनले कतार पस्दा थाप्लो भरि आफ्नो विहेको ऋण बोकेर कतार पसेपनि मनभरि भर्खर नवदुलहीकी रुपमा घर भित्रिएकी उनकी श्रीमती विमला भवानीको माया पनि मनभरि बोकेर आएका थिए ।
यसै बीचमा विमलाले जुम्ल्याहा छोरी पाएर भवानीको पोल्टामा खन्यादिएपछि भवानीको खुशीको कुनै सिमा नै रहेन । थोरै आम्दानी भएपनि स्याबुनमा बसेर गरिएको कमाई भन्दा कतारको कमाईले भवानीले आफ्नी धर्मपत्नी विमलाको नाममा पठाएर घरको गर्जो टार्ने काम गर्दै आएका थिए । जुम्ल्याहा छोरी हुर्किदै गएपछि भवानीको काँधमा थप आर्थिक अभिभारा बढ्दै आएको थियो भने भवानीका बुवा आमा पनि लामो समय देखि भारत तिर नै प्रवासन जिवन विताउँदै थोरबहुत आम्दानी गरी गुजारा गरिरहेका थिए ।
४ बर्षको शिशुवयमा नै आमा विमलाको काखमा रम्दै आएका ति दुई साना साना जुम्ल्याहा छोरी र श्रीमतीलाई भेटेर छुट्टी काटेर आएको पनि भर्खर ४ महिना गुज्रदै थियो । उनको प्राण पखेरु सुतेकै अवस्थामा गएको जुलाई ११ को विहान ९ बजे मात्र उनका कोठामा बस्ने आफ्नै नजिकका आफन्तहरुले चाल पाए । भवानीले नै पत्तो नपाई आफ्नै शीरमा मडारिदै आएको कालले उनको सास खिच्दै गर्दा होसमा आएर ऐया समेत भन्न पाएनन् भने हज्जारौं किलोमिटर भौगोलिक दुरीमा टाढा रहेकी उनकी श्रीमती विमला र ति ४ बर्षीया नाबालिकाहरुले झन् कसरी चाल पाउन् ।
रमादानको समयमा दिनको बेला धेरैजसो कामकाज बन्द हुने भएको हुनाले साँझ बाट राती १२ बजे सम्म उनले डिउटी सकेर साविक अवस्थामा कोठामा गएर खाना पकाई खाईओरी सुत्दा विहानको २ बजेको उनी संगै कोठामा सुत्ने उनका आफन्त बताउँछन् । विहान ९ बजे सम्म पनि नउठेपछि भवानीलाई उठाउन झक्झक्याउँदा मात्र उनका कोठामा संगै बस्ने आफन्तहरुले भवानीको प्राण पखेरु कता हो कता वायुमण्डलीय एकान्ततामा गईसकेको बल्ल चाल पाएका थिए ।
उनका आफन्तहरुले भवानीले आफ्नो सांसारिकता छोडेर गएको चाल पाएपछि उनले आफ्नो मालिक लगायत प्रहरीलाई खबर गरेर भवानीलाई अस्पताल लिएर गएको र उनलाई हमाद अस्पतालले मृत घोषित गरेको जानकारी दियो । यस घटनाले विधुवा बन्न पुगेकी उनकी पत्नी विमला सिवाको त्यो मर्माहत अवस्था कस्तो होला ? अनुमान मात्र गर्दा पनि जो कोहिको मनपनि भक्कानिन्छ ।
हाल उनको शव कतार स्थित हमाद अस्पतालको शव गृहमा राखिएको छ । आफ्नो श्रीमान् गुम्नुको निस्सारताले आक्रान्त बनेर बसेकी विमलालाई अब भोलिको दिनमा पिंढीको डिलमा बसेर हाम्रो बाबा कहिले आउनुहुन्छ मम्मी भनेर जुम्ल्याहा छोरीले प्रश्न गरेको अवस्थामा उनको जवावको साटो आँखाबाट झर्ने बलिन्द्रधारा मौन आँसु मात्र हुनेछ ।

प्रतिक्रिया