टोरोन्टोको पुस्तकालयमा नेपाली पुस्तकहरु राखियो

इनेप्लिज २०७२ साउन २० गते १३:०५ मा प्रकाशित

सन् २००० मा क्यानाडाको बहुसांस्कृतिक शहर टोरोन्टोमा स्थापना भएको क्यानेडियाली नेपाली सामुदायिक सेवा अर्थात एन.सि.सि.एस.ले स्थापनाकालदेखि नै विभिन्न सकारात्मक र उदाहरणीय कार्य गर्दै आईरहेको छ । क्यानाडामा नेपाली कक्षाको संचालन, नेपालबाट आएका नेपालीहरुका बीच रोजधारीमूलक अन्तक्र्रिया कार्यक्रम, वार्षिक उत्वसका रुपमा मनाइने नेपाली मेला हिमालयन फेस्टिभल, नेपाल–क्यानाडा दिवस्, नवआप्रवासीहरुका लागि स्वागत सूचना सामग्री, पत्रिका प्रकाशन, सम्पर्क सूचना पात्रो आदि प्रशंसनीय कार्य गर्दै आएको छ । यसै कार्यमा एन.सि.सि.एस.ले अर्को एउटा कोसे ढुङ्गा थप्ने उदाहरणीय काम गरेको छ । विदेशी पुस्तकालयमा नेपाली पुस्तकको स्थान । नेपाली समुदायका लागि भनेर स्थापना भएको एन.सि.सि.एस.ले नेपाली पुस्तकहरुलाई याथोचित स्थानमा स्थापना गराएर नेपाली भाषा साहित्यको विकासमा एउटा ईटा थप्ने काम गरेको छ ।

एन.सि.सि.एस.का महासचिव श्री माधव वस्ताकोटीले दिएको जानकारी अनुसार धेरै वर्षको लगातार प्रयासपछि वहाँहरुले नेपालीहरुको बाहुल्यता रहेको वेलेस्ली र शेरवर्न क्षेत्रमा ४९५ शेरवर्न स्ट्रीटमा अवस्थित टोरोन्टो पब्लिक लाईब्रेरीको सेन्ट जेम्स टाउन शाखामा नेपाली पुस्तकहरुका लागि बेग्लै ठाँउ पाउन सफल हुनु भएको छ । अब यसको निरन्तरताका लागि एन.सि.सि.एस.ले विशाल टोरोन्टोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई पुस्तकालयमा आएर नेपालीहरुको पुस्तक रुचि रहेको प्रमाणित गर्न अनुरोध गरेको छ ।

अतीतलाई केलाएर हेर्दा यही टोरोन्टो पब्लिक लाईब्रेरीको सेन्ट जेम्स टाउन शाखामा २००३–२००५ ताका केही भाषासेवीहरुको प्रयासबाट केही पुस्तक, संगीत तथा चलचित्रका चक्कीहरु राखिएको थियो । तर शुरुका केही दिन चहलपहल रहेपछि विस्तारै यो सेलाउँदै गयो र वर्ष दिनमा मुस्किलले तीनजनाले मात्र नेपाली पाठ्य सामाग्रीप्रति रुचि देखाएको प्रमाणित भएपछि टोरोन्टो पब्लिक लाईब्रेरी, सेन्ट जेम्स टाउन शाखाका अधिकृतले नेपाली शाखा लेखेको ठाँउनै खाली गरीदियो ।

यो वास्तविकतालाई बुझेर हामी अब यस्तो हुन नदिन हस्टेमा हंैसे गर्दै विदेशको पुस्तकालयमा नेपाली भाषाको पुस्तकहरुको गरीमालाई ढल्न नदिउँ । यसका लागि एन.सि.सि.एस.का महासचिव वस्ताकोटीले अनुरोध गरे अनुरुप हामी पनि आआफ्नो तर्फबाट पुस्तक दान गरौं र विदापछि नेपालबाट फर्कदा कमसेकम दुईवटा पुस्तक (नभए एउटैनै सही) हाम्रो पुस्तकालयको लागि भनेर ल्याउने गरौं । अनि गाठी कुरा – हामी पनि समय समयमा पुस्तकालय गएर नेपाली पुस्तक ल्याएर पढ्ने बानी बसालौं ।
भाषा रहे हामी रहन्छौं र हामी नेपाली हुनुको अस्तित्व रहन्छ ।

प्रतिक्रिया