साउनमा मासुको खपत घट्दो

इनेप्लिज २०७२ साउन २४ गते १:५१ मा प्रकाशित

timthumb.phpचितवन, २४ साउन । हिन्दूको पवित्र महिना साउनमा चोखो खाने र शिवको व्रत बस्ने भएका कारण कुखुराको मासुको खपतमा २० प्रतिशतको हाराहारीमा कमी आएको छ ।

व्यवसायीका अनुसार भूकम्पपछि असार महिनामा खपतको अवस्था पूर्ववत् अवस्थामा फर्किए पनि साउन लागेपछि पुनः ओरालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कँडेलका अनुसार देशभर दैनिक पाँच लाखदेखि पाँच लाख ५० हजार किलोसम्म दैनिक उत्पादन र खपत हुने गरेकामा हाल एक लाख किलो मासुको खपत घटेको छ । कृषकलाई साउन महिनामा खपत घट्ने पूर्वसङ्केत हुनेहुँदा उत्पादनमा समेत कमी भएको उहाँले बताउनुभयो ।

हाल बजारमा प्रतिकिलो ताजा मासुको मूल्य रु ३३० रहेको छ भने फार्मबाट जिउँदो कुखुरा रु २३० प्रतिकिलोमा कृषकले बिक्री गरेका छन् । जिल्लामा मात्रै दैनिक एक लाख किलो मासु उत्पादन हुने गर्छ, जसको आधा जिल्लामै खपत हुने तथा आधा प्रमुख सहर र छिमेकी जिल्लामा पुग्ने नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज भरतपुरका प्रबन्ध निर्देशक दीर्घमान श्रेष्ठले बताउनुभयो ।

भूकम्पसँगै सो महिनामा खपत ४० प्रतिशतले घट्दा बजार मूल्यमा भारीमात्रामा कमी आएको थियो । कँडेलका अनुसार जेठमा २० प्रतिशत कमी भएको खपत असार महिनामा पूर्ववत् अवस्थामा फर्किएको थियो । साउन सुरु भएयता २० प्रतिशतले खपतमा कमी आएको हो । हिन्दू धर्मावलम्बीले यस महिनाको सोमबार व्रत बस्ने र साकाहार रहने गर्छन् ।

नेपालमा कुखुरापालन व्यवसाय क्षेत्रमा रु ६० अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीको भनाइ छ, तीमध्ये मासुका लागि पालिने ब्रोइलर कुखुरापालनका लागि मात्र रु १५ अर्बको हाराहारीमा लगानी भएको कँडेलले बताउनुभयो ।

ब्रोइलर कुखुरा सानो स्तरमा पालिने हुँदा ठूलो सङ्ख्यामा स्वरोजगारीको अवसरसमेत मिलेको व्यवसायीको भनाइ छ । कँडेलका अनुसार देशभरमा करिब २५ हजार परिवारले ब्रोइलर कुखुरा पाल्ने गरेका छन् । सानो पुँजीमा ब्रोइलर पाल्न र काटेर बिक्री गर्न सकिने हुँदा साना किसानले आफैँ कुखुरा पाल्ने र मासु बिक्री गर्ने गरेको समेत पाइन्छ ।

प्रतिक्रिया