नलसिंहगाड परियोजनाको विस्तृत परियोजना प्रतिवेदन सुरु

इनेप्लिज २०७२ साउन २४ गते ५:१९ मा प्रकाशित

जाजरकोट, २४ साउन । उत्तरी पूर्व क्षेत्रमा अवस्थित नलसिंह गाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण तयारी सुरु हुने भएको छ ।

सो आयोजना पहिचान भएको २७ वर्षपछि प्रतिवेदन निर्माणको काम सुरु हुने भएको आयोजनाका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिनुभयो । आयोजना विकास समितिले चालु आवमा रु २४ करोड ३५ लाख विनियोजन गरेको छ । सोका लागि अन्तर्राष्ट्रिय सूचीकृत परामर्शदाताबाट दर्ता भएका आर्थिक तथा प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको शाहीले जानकारी दिनुभयो ।

छनोट भएका परामर्शदाताले नै आयोजनाको सम्भाव्यता अध्ययनलाई परिमार्जन गरी विद्युत् उत्पादन तथा प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य अगाडि बढाउनेछ ।
सरकारले चालु आवमा आयोजनाका लागि रु ४७ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । चार सय ५० मेगावाटदेखि ६०० मेगावाटसम्म विद्युत् उत्पादन क्षमता भएको सो आयोजनाको बाँधस्थल र जलाशय आसपासमा अटोमेटिक एन्ड डिसार्ज गेजिङ तथा वेदर स्टेसन स्थापनाका लागि कार्य जारी छ ।

विल्डिङ एन्ड क्याम्प प्लान, वाटरसेड म्यानेजमेन्ट प्लान, फाइनान्सियल मोडालिटी स्टडी, मार्केट सर्भे, ल्यान्ड एन्ड प्रोपर्टी इन्भेन्टोरी सर्भे, सोसियोइकोनोमिक बेसलाइन सर्भे, हाइड्रोलोजिकल, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत सम्भाव्यता अध्ययनका काम सम्पन्न भएको छ ।

चालु आवमा बाथिमेट्रिक सर्भे र आयोजनाको कन्स्ट्रक्सन पावरका लागि अर्को साना जलविद्युत् आयोजनाको विस्तृत अध्ययनको कार्य गरिनेछ । कन्स्ट्रक्सन पावरका लागि रग्दा गाविसको चौखास्थित ताँसुगारको विस्तृत अध्ययन गरिने निश्चित भएको शाहीको भनाइ छ ।

चालु आर्वमै बाँधस्थलसम्मको पहुँच मार्गको बाटो खोल्ने काम सकिने र सडक मार्गको खारामा पुलको निर्माण पनि सुरु हुने क्रममा छ । गत आवदेखि आयोजनाले जग्गा अधिकरण तथा त्यसको मुआब्जा वितरण र भौतिक पूर्वाधारको काम भइरहेको छ । गत आवमा पावरहाउस साइड खगेनकोटको वडा नं १ दल्ली क्षेत्रमा २३९ रोपनी जग्गा अधिकरण गरेर सोको रु ११ करोड मुआब्जा वितरण भइरहेको छ ।

आयोजनाको बाँधस्थलमा थप छ हजार रोपनी जग्गा अधिकरण हुने अध्यक्ष शाहीले जानकारी दिनुभयो । आयोजनाको विद्युत्गृहदेखि बाँधस्थलसम्मको पहुँचमार्ग, शिविर कार्यालय भवन र समुदाय सहयोग कार्यक्रमअन्तर्गतका विभिन्न योजनाको निर्माण भइरहेको छ ।

सम्भाव्यता अध्ययन भएकामध्ये देशमै सबैभन्दा उपयुक्त र सस्तो ठूलो परियोजना नलसिंहगाड भएको आयोजनाले जनाएको छ । आयोजना सन् २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आयोजना निर्माणका लागि रु एक खर्बको खर्चको अनुमान गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । आयोजना निर्माणका क्रममा २०० हेक्टर जमिन र १५० घरधुरीका ८०० स्थानीयवासी प्रभावित हुनेछन् ।

प्रतिक्रिया