चार शिर्ष नेता मध्ये कोही एक संविधान नबनोस भन्ने पक्षमा छन

इनेप्लिज २०७२ भदौ १८ गते १५:१६ मा प्रकाशित

kamal-thapa1राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शिर्ष नेताहरु मध्ये कुनै एक नेता संविधान निर्माण नहोस भन्ने भावनामा काम गरिरहेको दावी गर्दै त्यसकै परिणाम अहिले मुलुकमा आगो बलेको दावी गरेका छन । उनीसँग पछिल्लो संविधान निर्माण प्रक्रिया, हिन्दु राष्ट्र स्थापनालगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी

संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियामा तपाईको भूमिका कस्तो रहन्छ ?
राप्रपा नेपालले सुरु देखिनै विधी र प्रक्रिया अनुसार संविधान निर्माणको कार्य भयो भने हामी सहयोग गर्छौ भनेर भनिरहेका छौ र त्यो अनुसारको भूमिका हामीले निर्वाह गरिरहेका छौ । तर मैले दुखका साथ भन्नु पर्दछ कि केही सिमित राजनीतिक दलका सिमित नेताहरुको अहम, अर्कमण्यता र गलत नीतिको कारणले गर्दा खेरी जनताको चाहना बमोजिम फेरि पनि निर्धारित समयभित्र संविधान नआउने हो कि भन्ने आशंका चाँही बढेर गएको छ ।

आन्दोलनकारीहरु सर्तलाई कसरी हेर्नु भएको छ ?
अहिले जुन किसिमको परिस्थिति सृजना भएको छ । मुल रुपमा सिमित राजनीतिक दलका सिमित नेताहरु अर्थात चार राजनीतिक दलका चार नेताहरुको गलत नीतिकै कारण अहिले देशभरी आक्रोस देखिएको हो । संविधान निर्माण अन्तिम चरणमा पुगेको बेलामा जनतामा एउटा ठूलो उत्साह देखा पर्नु पर्दथ्यो , हर्ष र गौरबको अवस्था रहनु पर्दथ्यो । तर त्यसको ठिक विपरित देशभरी असन्तोष, आक्रोस र जनतामा निराशा देखापरिरहेको छ । सिंगो देश आन्दोलित बनेको छ । सुरक्षाका अरु अंगसँगै नेपाली सेना समेत परिचालन गर्नु पर्ने अवस्था आएको छ । यसको पछाडिको कारण के हो त्यो हामीले खोज्नु पर्यो । मुल रुपमा भन्ने हो भने यो संविधान निर्माणको प्रक्रियामा यदि संविधानसभालाई विधी र प्रक्रिया अनुसार अगाडि बढ्न दिएको भए सायद आज कोही पनि सडकमा जानु पर्दैन थियो होला ।

विधी र प्रक्रिया अनुसार संविधानसभा अगाडि बढेको छैन र ?
विल्कुल छैन ।

तपाईले नै संबाद समितिमा विशेष समिति बनाउनु पर्छ र शिर्ष नेतालाई जिम्मेवारी दिनु पर्छ भनेर भनेको होईन ?
हो, मैले नै प्रस्ताव राखेको हु । विगत धेरै लामो समयदेखि संविधानसभाको अधिकारलाई अपहरण गरेर केही नेताहरुले संविधानसभा भन्दा बाहिर पहिला पहिला रिसोर्टमा गर्नु हुन्थ्यो । पाँचतारे होटलमा गर्नु हुन्थ्यो पछि बालुवाटारमा बैठक गरेर निर्णय गर्ने र त्यो निर्णयलाई संविधानसभामा लगेर लाद्ने काम गर्नु भयो र पार्टीका सभासदहरुलाई ह्वीप जारी गरेर जवरजस्ती मान्नु पर्ने जुन परिस्थिति निर्माण गर्नु भयो । त्यसले गर्दा खेरी अहिले संविधानसभामा छलफल भएर निर्णय हुन सकिरहेको छैन । संविधानसभाको निर्वाचनमै विधी र प्रक्रिया अनुसार निर्णय भयो भनेर मान्छौ भनेर जनप्रतिनिधिहरु आएका छन । यहाँ समस्या भनेको निर्णय गर्ने प्रक्रियामा सहभागि नै हुन पाईएन । आफू विपरितको निर्णय भयो भने विधी र प्रक्रियाबाट हुँदा त्यसमा आफ्नो अपनत्व हुन्छ । तर निर्णय तपाई अन्यत्रै गर्नु हुन्छ अनि कसरी त्यसलाई संविधानसभाले अपनत्व गर्न सक्छ । आज त्यही कारणले गर्दा संविधानसभा छाडेर केही राजनीतिक दलहरु सडकमा गईरहेका छन । उहाँहरुले निर्णय गर्दा कुनै तर्क र सिद्धान्तमा आधारित गरेर गरेको भए पनि हुन्थ्यो । पछिल्लो प्रदेशको सीमांकनमा हेर्नुस त उहाँहरुले हचुवाको भरमा आ आफ्नो स्वार्थको आधारमा निर्णय गर्नु भएको छ । कहिले आठ, कहिले सात, कहिले भनेको छ । उहाँहरुलाई जति बेला जे मन लाग्यो त्यही गर्ने हो ।

सात प्रदेशमा सहमति हुन सक्ने आधार देख्नु भएको छ ?
यो शिर्ष भन्ने अहिलेको सबैभन्दा बदनाम, जनताको नजरमा भिलेनको रुपमा रहेका जुन चार जना ब्यक्तिहरु जो छन यिनीहरुले नै यो समस्याको सृजना गरिरहेका छन ।

समस्याको समाधान गर्ने पनि त उनीहरु नै हुन नि ?
शिर्ष नेताहरु संविधानसभामा सहभागि भएर यी विषयहरुमा संविधानसभाका सदस्यहरुको पक्ष प्रतिपक्ष सबैको कुरा सुुनेर त्यहीबाट निर्णय गर्नु पर्ने अवस्था भएको भए हुन्थ्यो नि तर संविधानसभाको बैठक पनि गर्न नदिने घण्टौ र दिनौसम्म अनिश्चित अवस्थामा राख्ने अनि बाहिर बसेर आफ्नो मन लाग्दी कहिले छ, कहिले सात, कहिले आठ प्रदेश भनेर निर्णय गरेपछि कसरी हुन्छ । कुनै आधार हुनु पर्यो नि । अहिले थारु, मगरसहितका जातीय समूहहरु आन्दोलित भएको कारण यिनै नेताहरु हुन जसले जनतालाई हामी जातीय आधारमा प्रदेश दिन्छौ भने । उहाँहरुले असम्भव कुराको आश्वासन दिनु भयो ।

अहिले त जातीय राज्यको पक्षमा कोही पनि छैन नि ?
हाम्रो कुरा गर्नु हुन्छ भने तर हामी भन्छौ नेपालमा संघीयताको आवश्यकता नै छैन । यो त जवरजस्ती बाह्य शक्तिले प्रायोजित रुपमा नेपालभित्र भित्राई दिएको एक प्रकारको मन्द विष हो । यो मन्द विषलाई यहाँका राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थको कारणले ग्रहण गरेर अघि बढाए । अहिले त्यो निल्नु न ओकल्नुको अवस्थामा पुगेको छ । हिजो उहाँहरुले जातीय आधारमा राज्य दिन्छौ भनेर भन्नु भयो अहिले आएर त्यो कुरा असम्भव हुँदा खेरी त्यो निर्णय प्रक्रियामा उहाँहरुलाई पनि सहभागि गराएर यो यो कारणले गर्दा सम्भव छैन भनेर भन्नुको सट्टा चार जना बसेर निर्णय गर्ने अनि तपाईहरुको माग सम्भव छैन भनेपछि हिजो आश्वासन दिने आज सम्भव छैन भनेपछि त्यो कुरा त स्वभाविक रुपमा जनताले खोज्ने नै भए । यो परिस्थितिको निर्माण चार दलका शिर्ष नेताहरुले नै गरेको छ । यसको जिम्मेवारी उहाँहरुले नै लिनु पर्छ । मलाई त के पनि लाग्छ भने यी चार दलका नेता मध्ये कुनै एउटा चाँही संविधान नबनोस भन्ने पक्षमा छ ।

कुन नेता चाँही संविधान नबनेस भन्ने पक्षमा छन त ?
त्यो कुरा त मलाई थाहाँ छैन तर उहाँहरुको क्रियाकलापले गर्दा त्यस्तो देखिएको छ भनेर मात्रै मैले भन्न खोजेको हु । त्यस्तो नहुन पनि सक्छ, तर उहाँहरुको क्रियाकलापले त्यस्तो देखिएको छ । नभए हेर्नुस संविधान जारी हुने बेलामा यो दमनको अवस्थाबाट संविधान बन्न सक्छ ? उहाँहरुले जुन किसिमको खाडल खन्नु भयो त्यसमा उहाँहरु पर्नु भएको छ । यो अवस्थामा अब उहाँहरुले संविधाननै दिन सक्नु हुन्न ।

संविधानसभाबाट संविधान ल्याउनेमा त प्रमुख पार्टीहरु दृढ छ नि ?
उहााँहरु दृढ हुनु होला तर मुलुकको अवस्था त्यो अनुकुल छैन । उहाँहरुले नै त्यो प्रतिकुल अवस्था सृजना गर्नु भयो । दमन गरेर सेना परिचालन गरेर, एकातिर ६५ वर्षदेखिको आन्दोलनको कारण संविधानसभाबाट संविधान बन्दैछ भन्ने अर्को तिर ठिक त्यस विपरितको बातावरण निर्माण गर्ने । यो विरोधाभाषपूर्ण छ । बास्तवमा २०६२–६३ को आन्दोलनपछि परिवर्तनलाई सस्थागत गर्ने क्रममा जुन बाटोबाट देशलाई अगाडि बढाउन खोजियो । जुन नीति र अवधारणा नेपाली जनताको अभिमत विना लद्ने काम गरियो त्यही गलत बाटो र नीतिको यो परिणाम हो । नेपालको राष्ट्रिय एकता सार्वभौमिकता र अखण्डता शुन्यमा खडा थिएन । २४० वर्षदेखि जुन मान्यताको आधारमा नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता कायम भएको थियो त्यसलाई हठात रुपमा विस्थापित गरिदिने जुन काम भयो, त्यसको विकल्पलाई स्थापित गर्ने आधार नभएको कारणले आज यो देशमा सामाजिक सद्भाव खल्बलीरहेको छ ।

तपाईहरु हिन्दु राष्ट्रको पक्षमा अडिरहनु हुन्छ ?
नेपालको विविधतामा एकताको आधार चाहे त्यो पहाडमा बस्ने टोली लगाउने होस, चाहे मधेसमा बस्ने धोति लगाउने होस, चाहे जनकपुरमा बस्ने मैथली बोल्ने होस, चाहे काठमाडौमा बस्ने नेवार होस यी हामी सबैलाई एउटै सुत्रमा बाध्ने काम सनातन धर्म ले गरेको थियो । त्यो सनातन धर्मलाई विदेशीको दवाव र प्रलोभनमा पारेर विस्थापित गर्ने काम भयो आज त्यसले पनि बिग्रहको स्थिति सृजना गरिरहेको छ । त्यही कारणले हामी भनिरहेका छौ, नेपालको राष्ट्रिय एकतालाई पहिचानलाई कायम गर्नको निमित्त सनातन हिन्दु राष्ट्र हुनु पर्छ ।

तपाईले शिर्ष नेताहरुलाई हिन्दु राष्ट्र नभए पनि धार्मिक स्वतन्त्रता हुनु पर्छ भनेर भनिरहनु भएको छ ?
हो, एकदम ठिक । हुन त हिन्दु राष्ट्र नै हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । प्रधानमन्त्री सुशील कोइरालासँग भेट हुँदा उहाँले के भन्नु भयो, रामचन्द्र पौडेलसँग भेट हुँदा उहाँले के भन्नु भयो भने यो धर्म निरपेक्षता कसरी आयो यो कुरा छाडिदिउ । यो त्यती ठिक भए जस्तो लाग्दैन अब हामी धर्म निरपेक्षता होईन, धार्मिक स्वतन्त्रता कायम राख्छौ । केपी ओलीजी सहित एमालेका नेताहरुसँग कुरा गर्दा खेरी उहाँहरुले पनि त्यही कुरा दोहोर्याउनु भयो र भन्नु भयो धर्म निरपेक्षताको सट्टा अर्को शब्द राख्छौ । एमाओवादीका अध्यक्ष प्रचण्डले पनि म यसमा करिब करिब सहमत नै छु हाम्रा केही नेता मानिरहेका छैनन सम्झाउनु पर्छ भन्नु भयो । अहिले संविधान निर्माण अन्तिम चरणमा पुगेको बेला मलाई लाग्छ बाह्य शक्तिको दवावमा हरेक दिन जसो ५० जना समूहले ज्ञापन पत्र बुझाउने र राजनीतिक दललाई नै परिचालन गरेर धर्म निरपेक्षता राख्ने षडयन्त्र भईरहेको छ । त्यो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ ।

धर्म निरपेक्ष भए तपाईहरु विरोधमा जानु हुन्छ ?
हामी मात्र होईन, आम नेपाली जनता त्यसको विरोधमा जान्छ । अहिले सभासदहरुले बातानुकुलीत हलमा बसेर जुन निर्णय गरिहनु भएको छ यदि उहाँहरुले हिन्दु राष्ट्र कायम गर्नु भएन भने भोलीको दिनमा गाँउमा जाँदा जनताले नै उहाँहरुको प्रतिकार गर्छन ।

प्रतिक्रिया