आर्यन र प्रियङ्का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री

इनेप्लिज २०७२ भदौ २६ गते १५:३९ मा प्रकाशित

Nai-Na-Bhannu-La-movie-Priyanka-Karki-Aryan-Sigdelकाठमाडौँ, २६ भदौ । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा आर्यन सिग्देल सर्वोत्कृष्ट अभिनेता तथा प्रियङ्का कार्की सर्वोत्कृष्ट अभिनेत्री घोषित हुनुभएको छ ।

त्यस्तै, सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले जित्दा त्यसका निर्देशक रामबाबु गुरुङ सर्वोत्कृष्ट निर्देशक हुनुभयो ।

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, भारतीय गायिका सञ्जीवनीलगायतले आज यहाँ आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गर्नुभयो ।

नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)को आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट सहअभिनेताको पुरस्कार अनुपविक्रम शाही र सहअभिनेत्रीको छुल्ठिम डोल्मा गुरुङले हात पार्नुभयो भने नव अभिनेता पुरस्कार सञ्जोग कोइराला र नव अभिनेत्री पुरस्कार आश्मा डिसीले प्राप्त गर्नुुभयो ।

त्यस्तै, सर्वोत्कृष्ट लेखनमा छेतेन गुरुङ, छायाँकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशकमा राजकुमार उप्रेती, सङ्गीतकारमा ताराप्रकाश लिम्बु, पाश्र्वगायनमा युवराज चौलागाईँ, नृत्य निर्देशकमा कविराज गहतराज र पाश्र्व सङ्गीतमा रामजी लामिछाने सर्वोत्कृष्ट छानिनुभयो ।

त्यसैगरी, सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रणमा उत्तम न्यौपाने, सर्वोत्कृष्ट व्यावसायिक चलचित्रमा कोहिनूर, चलचित्र पत्रकारितामा विजयरत्न तुलाधरले सर्वोत्कृष्ट पुरस्कार जित्दा जुरी राष्ट्रिय चलचित्र पुरस्कारबाट सुदीपभुपाल सिंहलाई सम्मानित गरियो ।

प्रत्येक सर्वोत्कृष्टलाई ‘अवार्ड’सँगै जनही रु ५१ हजार नगद पुरस्कारबाट सम्मानित गरियो ।

चलचित्रका हरेक विधाका पुरस्कारका नाम नेपाली चलचित्र क्षेत्रका लामो समयसम्म योगदान पु¥याएका फरक फरक व्यक्तित्वको नामबाट राखिएको थियो ।

पुरस्कार वितरण गर्दै सूचना तथा सञ्चारमन्त्री डा रिजालले अन्तिम सूचीमा छानिएर पनि ‘अवार्ड’ नजितेका कलाकारलाई हौसला दिँदै भन्नुभयो, “सवै कलाकार १९/२० हुनुहुन्छ, कस्ले पायो, पाएन गौण कुरा हो, मुख्य कुरा समग्र चलचित्र क्षेत्र नै पुरस्कृत भएको छ ।”

कार्यक्रममा भारतीय गायिका सञ्जीवनीले नेपाली गीत गाएर स्रोता दर्शकको मन जित्दा विभिन्न नेपाली कलाकारले पनि बेजोड प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया