युरोपको क्षेत्रीय संयोजक पदमा कुल आचार्यको उम्मेदवारी

इनेप्लिज २०७२ असोज ४ गते २२:०३ मा प्रकाशित

image1लण्डन — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य, चर्चित समाजसेवी एवम् सफल व्यवसायी कुल आचार्यले संघको युरोप क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन युकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले गएको झण्डै एक दशकदेखि युरोपमा बसेर गैरआवासीय नेपालीहरुको मर्का, व्यथा नजीकबाट बुझेको र संघको छहारी मुनि बसेर ती समस्या समाधान गर्न सक्दो पहल गर्ने उद्देश्यले आफुले उम्मेदवारी दिन लागेको बताए। उनले आफुलाई सघाउन सबैलाई अपील पनि गरे।

सन् २००८-०९ मा एनआरएन युकेको कार्यसमितिमा सदस्यको रुपमा रहेर काम गरेका आचार्यले सन् २००९-११ मा एनआरएन युकेको उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक भएर काम गरेका थिए। त्यसबेला उनकै संयोजनमा माइती नेपालकालागि रकम संकलन गरेर पठाइएको थियो।

त्यस्तै २०११-१३ मा एनआरएन युकेको अध्यक्ष पदमा निर्वाचित उनले थुप्रै कल्याणकारी कामहरु गरेका थिए। नेपाल पत्रकार महासंघ युके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबैमा आचार्यको नेतृत्वदायी भूमिका रह्यो। यसैगरी नेपालका जेठा मध्येका ओलम्पिक धावक भूपेन्द्र सिलवाललाई लण्डन ओलम्पिक २०१२ का अवसरमा बेलायत ल्याउन पहल गरेका थिए। उनकै कार्यकालमा पहिलो पटक अन्तर्राष्टिू्य नारी दिवसलाई एनआरएन युकेको वार्षिक क्यालेण्डरमा राखिएको थियो।

आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्ने देखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग गरेका छन्। गाउँठाउँका मठमन्दिर, पाटी पौवा बनाउन सँधै मन र हात खुला गर्ने आचार्य हरेक पटक नेपाल पुगेका बेला कुनै न कुनै कल्याणकारी काममा जुटिहाल्छन्।

बाग्मती नदी किनारमा एनआरएनएको पहलमा बनाइन लागेको शंखमूल पार्क निर्माणको संयोजन गरिरहेका आचार्य भूकम्प पछि दुई पटक नेपाल पुगेर आफै उद्धार तथा राहत कार्यमा सहभागी भएका थिए। गैरआवासीय नेपाली संघको आफ्नै भवन बनाउने अभियानमा व्यक्तिगत तथा सामूहिक सहयोग जुटाउन खटेका आचार्य नेपाली नागरिकताको निरन्तरताको सवालमा संघका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भेलाहरुमा लगातार सकृय रहँदै आएका छन्।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी तथा मानवीय मामिला समितिको सहअध्यक्ष भएर काम गरिसकेका आचार्यले विद्यार्थीहरुका समस्या हुन् वा न्याय र समानताकालागि भूतपूर्व गोर्खाहरुले थालेको अभियान, सबैमा गैरआवासीय नेपाली संघको एक सिपाहीको रुपमा सँधै हातमा हात मिलाएर, काँधमा काँध मिलाएर अघि बढ्दै आएको स्मरण गरे।

“युरोपमा बिचल्ली बनाएका नेपालीहरुदेखि विभिन्न पेशा, व्यवसाय तथा बौद्धिक क्षेत्रमा विशिष्ट स्थान बनाएर काम गरिरहनु भएका कैयौं नेपालीसंग मैले संगत गरेको छु। यहाँ बस्ने नेपालीहरुको समस्या मैले नजीकबाट बुझेको छु। युरोपका विभिन्न मुलुकहरुमा अद्यापि कायम रहेको आर्थिक मन्दी, आप्रवासी समुदायप्रति बढ्दो रोष तथा अधिकांश पहिलो पुस्ताको प्रवासी नेपाली समुदायले भोग्नु परिरहेका समस्याहरुलाई गैरआवासीय नेपाली अभियानको छाता मुनि रहेर समाधान गर्न सक्दो प्रयास गर्ने उद्देश्य लिएर मैले संघको युरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,” उनले भने।

बेलायतमा बसोबास गरिरहेका हजारौं भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारजनको समस्याहरुको छिटो छरितो समाधानका लागि आफुले विगतमा पनि पहल गरेको र आगामी दिनमा पनि सक्दो प्रयास गरिरहने उनले बताए।
त्यसैगरी युरोपमा बसोबास गरिरहेका नेपालीहरुसंग रहेको क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउन पहल गर्ने तथा प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली समुदायको गौरवपूर्ण पहिचान जोगाइराख्‍न योजनावद्धरुपमा अगाडि बढने पनि उनले प्रतिबद्धता गरेका छन्।
“एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन नेपालमा बन्न लागेको नयाँ संविधनानमा पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्नुका साथै गैरआवासीय नेपाली अभियानमा संलग्न युवा, महिला, जनजाति लगायतका सदस्यकहरुको हकहित सुरक्षित गरी उहाँहरुको उर्जा रचनात्मक दिशामा लगाउन सँधै सहयोगी भूमिका निर्वाह गर्नेछु,” आचार्यले भने।

प्रतिक्रिया