एनआरएन नेतृत्वलाई डा श्याम कार्कीको अपिल

इनेप्लिज २०७२ असोज १५ गते १०:१२ मा प्रकाशित

Untitled

नेपालमा संविधान घोषणा भएको सुखद समाचारले प्रवासमा रहेका हरेक नेपालीले खुशियाली मनाईरहेका छन् , हर्शोल्लाश गरिरहेका छन् | प्रजातन्त्रमा विश्वास गर्ने हरेक मानिसलाई यो सुखद समाचार हो, किनभने जनताद्वारा प्रत्यक्ष निर्वाचित र समानुपातिक मनोनित जनप्रतिनिधिहरुले यो संविधान लेखेका हुन् | संविधानसभाका नब्बे प्रतिशत जनप्रतिनिधिहरुले यो संविधानका पक्षमा मतदान गरेका थिए |

नेपाली जनताले संविधान सभाबाट संविधान लेखिनु पर्छ भनेर बर्षौं देखि लडाई लड्दै आएको कुरा जग जाहेर छ | यो वीचमा हाम्रो समय मात्र बर्बाद भएन थुप्रै सम्पत्ति पनि सकिएको छ | र, नेपाली आमाका हजारौं छोराछोरीले शाहदत प्राप्त गरेका छन् | ठुलो त्याग र बलिदानबाट आएको यो संविधानलाई स्वागत गर्नु र खुशियाली मनाउनु हरेक नेपालीको कर्तव्य हो |

ठिक यहि समयमा मधेश र थारुहरुका असन्तुष्टिले हाम्रो ध्यान आकर्षित गरेको छ | साथसाथै मित्र राष्ट्र भारतले दिएको भनिएको सुझावले हामी धेरैलाई खिन्नता महशुस गराएको छ | यसलाई हामीले हाम्रो सार्बभौमिकता माथिको प्रहारको रुपमा लिएका छौँ | सबैले दिमागमा राख्नु पर्ने कुरा के हो भने नेपाल र नेपाली सधै स्वतन्त्र छौं | आफ्नो बारेमा निर्णय लिने आधिकार हाम्रै हो |

हरेक कुरालाई हेर्ने दुईवटा दृष्टिकोण हुन सक्छ | वर्तमान संविधानलाइ कसैले अति राम्रो र कसैले अति नराम्रो देख्न सक्छ | त्यो ठुलो कुरा होइन | त्यसैलाई लिएर केहि समस्या हुनु दुखद कुरा हो | समस्या समाधानकोलागि छलफल, सम्बाद र वार्ता हुनु जरुरि छ | बिरोधि स्वरलाई सुन्न सक्ने हो भने धेरै कुराको समाधान निकाल्न सकिन्छ | कतिपय नेताका बिगत संकास्पद छन् त्यसैले जनताले विश्वास गर्न सक्दैनन् | एउटा राम्रो र कुशल नेता वा मध्यस्थकर्ताको खाँचो अहिले टड्कारो बनेको छ |

त्यसो हो भने यो गहन जिम्मेवारी कसले बहन गर्न सक्छ त ? मेरो दिमागमा आएको पहिलो नाम एनआरएन नै हो | एक पटकको नेपाली सधैको नेपाली भन्ने त एनआरएनको नारा नै छ | नाराले भन्दैन की हामी कुनै सम्प्रदायका छुट्टै हौँ | एनआरएनहरुको दिमागमा झट्ट आउने कुरा भनेको हामी नेपाली हो | र नेपाललाई अप्ठेरो पर्दा सधै हाजिर भएको बिगत पनि हाम्रा सामु छ |

सन् २००३ मा देशमा असुरक्षा हुदा र कोहि पनि नेपाल जान नचाहदा संसारभरका नेपाली नेपालमा गएर संस्थाको शुरुवात गरायौं र संदेश दियौं कि ‘जतिसुकै असुरक्षा भएपनि हामी नेपालमा आउन सक्छौं, नेपाल दुख्दा अरुलाई नदुखेपनि हामीलाई पक्कै दुख्छ |’

यसैगरी तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेर सत्ता हातमा लिदा र जनताका नेताहरुलाई जेलमा हाल्दा देशमा पुरै कर्फ्यु थियो | त्यो बेलामा पनि एनआरएनले संसारभर शान्तिपूर्ण मार्च पास गरेर राजाको कदमको बिरोधमा आवाज उठाएको थियो | संयुक्त राष्ट्र संघको मुख्यालय र व्हाईट हाउसमा ज्ञापन पत्र बुझाएको थियो | त्यो बेला पनि त्यस्तै संदेश दिएका थियौं कि नेपाली दाजुभाई, दिदीबहिनिसंग हामी पनि संगै छौं |

जब महाविनाशकारी भुकम्प आयो तब पहिले एनआरएनहरुलाई नै दुख्यो | त्यो बेला पनि मानवीय सहायता लिएर नेपाल पुग्नेमा एनआरएनहरु नै रहे | जान नसक्नेले आफु बसेको ठाउँबाट सक्दो सहयोग नेपाल पठाएका थिए | एनआरएनहरुको उक्त कार्यको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए |

एनआरएनको यो यात्रामा नेपालका हरेक वर्ग, तह र तप्काका मान्छेहरुको सहभागिता छ | यसको ज्वलन्त उदाहरण यसको नेतृत्व हेरेर पनि थाहा हुन्छ | मधेशी, पहाडी, दलित र जनजाति सबैको संलग्नता छ | यी सबै नेताहरु अति सक्षम र कुशल छन् | र नेपालका प्रमुख पार्टीहरु र सामाजिक नेताहरुसंग चिनिएका पनि छन् |

मेरो व्यक्तिगत विचारमा यो सहि समय हो नेपाललाई सहयोग गर्ने | यस्तो बेलामा एनआरएन सबै अंगहरु क्रियाशील भएर नेपालको बर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भनेर आपतकालीन छलफल गर्न जरुरी भएको छ | हामीले हाम्रो भूमिका देखाउनु पर्छ | यो बेलामा देशको समस्या समाधान गर्न हामीले आफ्नो बल, बुद्धि र समय खर्च गर्नुपर्छ | एउटा राम्रो मध्यस्थताको भूमिका निभाउनु पर्छ

आगामी अक्टोबरमा एनआरएनको विश्व सम्मेलन हुदैछ | हामीले उक्त भेला र मंचलाई यो बिषयमा छलफलकालागि सदुपयोग गर्न सक्छौं र एउटा सर्बमान्य समिति गठन गर्न सक्छौं | एनआरएनको मुख्य उद्देश्य भनेको नेपाललाई समस्या पर्दा सहयोग गर्नु हो | दोश्रो कुरा जब नेपालका दुई पक्षवीचको असमझदारी बढेको र एकले अर्कोलाई विश्वास गर्ने वातावरण नबनिसकेको स्थितिमा तेश्रो पक्षको सख्त आवश्यकता परेको कुरा सहजै बुझ्न सकिन्छ | त्यो तेश्रो पक्ष भनेको अर्को देश, अर्को कुनै संस्था वा अर्को कुनै समूह हो | त्यसो हो भने एनआरएन भन्दा अर्को त्यस्तो कुन शक्ति हुन सक्दछ ?

बिगतमा अरु शक्तिहरुले चलखेल गर्ने मौका पाए | भारत पनि त्यस्तै एउटा शक्ति हो जसले नेपालको आन्तरिक मामलामा पटक पटक खेल्ने अवसर पायो | अझै पनि त्यही भूमिका खोज्दै छ | त्यही भूमिका नपाएकै कारण अहिले यो स्थिति आएको हो | त्यसैले अब हामीले अरु शक्तिहरुलाई हाम्रो आन्तरिक मामलामा खेल्ने मौका दिनु हुदैन भन्ने मेरो मान्याता हो | त्यसकालागि हामी आफैले हाम्रो समस्या समाधान गर्ने हिम्मत गर्नुपर्छ | साथै त्यो भूमिका एनआरएनले खेल्नु पर्दछ |

म एनआरएनका केन्द्रिय अध्यक्ष शेष घलेलाई यो गहन जिम्मेवारी लिने हिम्मत गर्न अनुरोध गर्दछु र मध्यस्थकर्ताको भूमिका लिन एनआरएनलाई बिशेष आग्रह गर्दछु | साथै मेरा सबै साथीभाईहरुलाई यो विषयको गम्भीरतालाई बुझेर नेतृत्वलाइ घच्घचाउन र मनाउने काममा सहयोग गर्नुहुन हार्दिक आव्हान गर्दछु | हाम्रो घरको समस्या हामि आफै समाधान गरौँ | कुनै बाहिरी शक्तिलाई खेल्ने अवसर प्रदान नगरौं |

प्रतिक्रिया