यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार स्वेतलानालाई

इनेप्लिज २०७२ असोज २१ गते २२:२९ मा प्रकाशित

nobel-मिन्स्क २१ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी लेखिका स्वेतलाना अलेक्सविचलाई दिइने भएको छ । उहाँको लेखले समकालीन विश्वको पीडा र साहसको प्रतिनिधित्व गर्ने निष्र्कष निकाल्दै नोबेल पुरस्कार समितिले बिहीबार स्वेतलानालाई साहित्यतर्फको पुरस्कार दिइने घोषणा गरेको हो । हाल ६७ वर्षीया स्वेतलानाको राजनीतिक विषयमा बढी कलम चल्ने गरेको बताइएको छ । उहाँ पत्रकारितामार्फत साहित्य लेखनमा प्रवेश गर्नुभएको थियो । उहाँको जन्म ३१ मे सन् १९४८ मा युक्रेनमा भएको थियो । उहाँपछि बसाइँसराई गरी बेलारुसमा आउनुभएको थियो । उहाँको पहिलो उपन्यास ‘द अनवुमन्सली फेस अफ द वार्स’ सन् १९८५ मा प्रकाशित भएको थियो । उक्त पुस्तकले महिलाहरूले नाजी जर्मनहरूको विरुद्ध गरेको सङ्घर्षका कथाहरू समेटेको छ । सन् १९०१ देखि सुरु भएको यस साहित्यतर्फको नोबेल पुरुस्कार पाउने उहाँ १४ औ महिला हुनुहुन्छ । यसअघि क्यानाडाकी एलिस मुन्रो सन् २०१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो । रासस÷एएफपी

प्रतिक्रिया