कविता ”एक अनुहार”

इनेप्लिज २०७२ मंसिर २८ गते १८:३७ मा प्रकाशित

Ssn

जीवनका अनेक रङ्गहरुसँग खेलेका

जीवनका अनेक शिशीर/वसन्तहरुसँग फुलेका
त्यो अनुहारमा आज मात्र एक नैराष्यता बाँकीछ
जीवन देखि कहिल्यै नथाकेका एक साहस
अब यस्को हत्या गरि
आत्महत्या गर्न मनछ बा _ यसै भन्छन् उनि
तर मर्न कहाँ सहज हुँदो रछ र !
यो एक त्यान्द्रो सास…
कुन चौकेमा झुन्ड्यउं खै ?

 

विदेशिए सबै युवाहरु, यसैले त,,
सुन्यासुन्याछ गाउँ बस्तीहरु अचेल
मरौपरौमा मलामी पनि पाइन्न बा
यस्तै-यस्तैछ उनको चिन्ता र गुनाँसो ,
एक सिङ्गो जीवनको इतिहास बोकेको
त्यो एक सिंगो पाको अनुहार
त्यस्मा बुट्टा भरेझैं लाग्ने अनगिन्ति मुंजाहरु
उमेरसँगै भासिएका धमिला आँखाहरु
सुख्खा कलेटी बसेका ओठहरु
सीतले पट्ट-पट्ट फुटेका हातपाउहरू
आधा भत्किएको ओदानमा सेकाउँदै ‘उ’
एक झर्रो फिलुङ्गो तानेर उडाउछ एक सपना
सालको पातमा बेरिएको नेट-खिलीमा …कठै जिन्दगी !!

 

नैराष्यताले लपक्क भिजेका
एक थकित थकित अनुहार
आफैं सँग बेखबरछ अचेल


घरिघरी आफैं सित बर्बराउँछ ‘उ’
हेर कस्तो निर्दयी मुटु काँप्ने ठण्डी
कहाँ-कहाँ ढाक्ने खै
त्यो एक अधर्नो बाकटेले
लाग्छ हिमाली कटकटे ठिही
यहीं पोखिएकोछ

कि बुता सकिएपछि यस्तै अनुभूत हुन्छ कि !
सालको पातमा बेरिएको नेट-खिली अन्तिम सर्को तानेर
खरानीभित्र ठोस्छ एक-अगुल्टो, अर्को दिनको जोहो
हेर अझै उस्मा बाँच्ने कत्रो मोह !
अनि बिस्तारै बिलाउँछ एक आशा…
एक अनुहार अँध्यारी त्यो चिसो रातसँगै ….!!

प्रतिक्रिया