‘भद्दा’ र ‘अश्लील’ प्रस्तावले चुँडिएको थियो त्यस बेला गायिका रञ्जिताको मन

इनेप्लिज २०७२ पुष २१ गते १४:०६ मा प्रकाशित

Ranjita-Thapa-Magar-4

काठमाडौं । गीतसंगीतको क्षेत्रमा कसैले कसैलाई बन्देज लगाउन सक्दैन भन्ने मान्यताको उदाहरण बनेकी छिन्, रञ्जिता थापामगर । रुप र सौन्दर्य मात्रै होइन रञ्जिताको नाम जस्तै उनको यौवनसँग मेल खान्छ । सुरिली स्वर भएकी गायिका रञ्जिता सामान्य परिवारबाट गीतसंगीतको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
तनहुँ जिल्लाको कोटा गाविस जैथुम गाउँकी रञ्जिता यो क्षेत्रमा ११ वर्षअघि प्रवेश गरेकी हुन् । यो यात्रामा रञ्जिताले थुप्रै गीतमा सृजना, लय र शब्द दिएकी छिन् । सञ्चारमाध्यमले आफूलाई ठाउँ नदिएकोमा उनलाई कुनै गुनासो छैन । ‘सायद ममा त्यस्तो कुनै गुण छैन र त होला पत्रकारहरुले पनि खोज्नु हुन्न’, रञ्जिताले भनिन्, ‘मेरा सृजनाहरु टेलिभिजन र रेडियो तथा यूट्युबहरुमा चलेका छन् । त्यसैमा म खुसी छु ।’
रञ्जिताको शब्दमा ‘बाल्यकालैमा………’ बोलको पहिलो गीत रेकर्ड भएको थियो । यसमा राजु परियार र विष्णु माझीले स्वर दिएका थिए । लोकदोहरी, कौडा, हाँस्यव्याङ्ग्यलगायतका गीतहरु पनि रञ्जिताले बजारमा ल्याएकी छिन् । आफ्ना सृजनाहरुमा आफू सन्तुष्ट रहेको रञ्जिताको भनाइ छ ।
रञ्जिताको शब्दमा रहेको ‘साल काटेर झ्याल भो………..’ बोलको गीत अहिले चर्चामा छ । टेलिभिजन र सामाजिक सञ्जालहरुमा यो गीतले तहल्का मच्चाएको उनको भनाइ छ । गीतमा कलाकारहरु शुरवीर पण्डित, रामचन्द्र अधिकारी, रञ्जितका साथै विभिन्न कलाकारले अभिनय गरेका छन् ।
मोडलिङको सुरुवाती दिनमा आफूलाई आएका ‘भद्दा’ र ‘अश्लील’ प्रस्तावबाट रञ्जिता अहिले पनि चिन्तित छिन् । फिल्म वा मोडलिङमा खेलाउँछु भन्ने केही निर्देशकहरुले ‘भद्दा’ प्रस्ताव राख्ने गरेको उनलाई अहिले जस्तै लाग्छ । ‘त्यो मानेको भए म गुमनाम बस्नु पर्दैन थियो’, उनले सुनाइन्, ‘तर म जे छु त्यही ठीक छु । मेरो स्वर मेरा लागि बरदान छ । मेरा शब्द मेरा लागि खानी हुन् । म यसैमा खुसी छु ।’
सोखले लागेको गीतसंगीतको क्षेत्र रञ्जिताका लागि अहिले बाँच्ने आधार बनेको छ । आजकाल ललितपुरको नाम चलेको एउटा दोहरी साँझमा प्रत्येक दिन गाउदै आएकी छिन्, रञ्जिताले ।
बाबु दिलबहादुर र आमा लालमाया थापामगरकी जेठी छोरी हुन्, रञ्जिता । आफू जेठी भएका कारण भाइबहिनीहरुको शिक्षादिक्षा र लालनपालनमा रञ्जिताले बाबुआमालाई सघाइ रहेकी छिन् । आफू, आफ्नो परिवार र पारिवारिक अवस्थाका बारेमा भन्न लजाउँदिन भन्छिन्, रञ्जिता । ‘मैले कति दुःख गरेकी छु यो क्षेत्रमा भिज्न । मलाई थाहा छ’, उनले भनिन्, ‘अब एउटा टेक्ने ठाउँ बनाएकी छु । पछाडि फर्कने अवस्था छैन ।’
शब्द लेख, गायन, लय र दोहरीसाँझबाट आउने रकमले उनलाई राजधानीमा बस्न र भाइबहिनीहरुलाई पढाउन ठीक्क छ । बचेको रकम उनले घर पनि पठाउने गरेक छिन् ।
रञ्जिताले अहिले रामजी खाँड र आफ्नै स्वरमा नयाँ गीत रेकर्डिङ गराइ रहेकी छिन् । गीत अन्तिम चरणमा छ । ‘जोवन गइसक्यो……’, ‘लेकैमा घर……..’, ‘फेरि जोवन फूल्ने गरेर……’, लगायतका गीत रञ्जिताका चर्चित गीत हुन् । ती गीतहरुमा उनले आफैले स्वर दिएकी छिन् । शब्द पनि उनकै हुन् । यी गीतहरु यूट्युबमा दिनप्रति दिन हेर्नेहरुको संख्या बढ्दो छ ।
अविवाहित रञ्जिता सुरुवाती दिनमा लोक तथा दोहरी म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन् । मोडलिङ राम्रो भए पनि त्यसले मात्रै बाँच्न गाह्रो भएपछि उनले आफ्नै मौलिक गायन तथा शब्द लेखनलाई नै निरन्तरता दिँदै आएकी छिन् ।
मोडलिङको सुरुवाती दिनमा आफूलाई आएका ‘भद्दा’ र ‘अश्लील’ प्रस्तावबाट रञ्जिता अहिले पनि चिन्तित छिन् । फिल्म वा मोडलिङमा खेलाउँछु भन्ने केही निर्देशकहरुले ‘भद्दा’ प्रस्ताव राख्ने गरेको उनलाई अहिले जस्तै लाग्छ । ‘त्यो मानेको भए म गुमनाम बस्नु पर्दैन थियो’, उनले सुनाइन्, ‘तर म जे छु त्यही ठीक छु । मेरो स्वर मेरा लागि बरदान छ । मेरा शब्द मेरा लागि खानी हुन् । म यसैमा खुसी छु ।’
आफ्ना गीतहरुले गर्दा विभिन्न स्टेज प्रोग्रामहरुमा काम पाएको रञ्जिताले सुनाइन् । ‘मलाई स्टेज प्रोग्रामहरुमा बोलाउने गर्नुहुन्छ’, उनले भनिन्, ‘भ्याएसम्म जाने गरेकी छु । अब छिट्टै विदेशका प्रोग्रामहरुमा जाने तयारी गर्दैछु । जापान, कोरियाका साथै खाडी मुलुकका केही साथीहरुले बोलाउनु भएको छ । कार्यक्रम मिलाउँदैछु ।’
अविवाहित रञ्जितालाई प्रेमप्रस्ताव पनि थुप्रै आउँदा रहेछन् । ‘म कलाकार भएकाले पनि होला धेरैले माया गर्नु हुन्छ’, उनले भनिन्, ‘त्यसलाई मैले अन्यथा लिने गरेकी छैन । मेरा शुभेच्छुकले मलाई माया गर्नु भनेको म माथिको उहाँहरुको हक पनि हो । अधिकार हो ।’
अझै विहे गर्ने योजना नबनाएको बताउने रञ्जिताले भनिन्, ‘विहे गर्नुपर्छ । गर्छु । तर गीतसंगीतबाट केही गरेर मात्रै विहे गरुकि भनेकी छु ।’
प्रस्तुतिः विमल योगी
गायिका रञ्जिता थापामगरको कौडा गीत

प्रतिक्रिया