प्रधानमन्त्रीले यस्तै बोलिरहे नाका नखुल्न सक्छ

इनेप्लिज २०७२ माघ २४ गते २३:४८ मा प्रकाशित

news photo

४ महिना भन्दा लामो समयदेखि तराईमा कायम रहेको नाकाबन्दी खोल्न मधेसी मोर्चा सकारात्मक भएको भन्ने समाचारहरु बाहिर आईरहँदा त्यसले जनमानसमा सन्तोषको बातावरण सृजना गरिरहेको छ तर उनीहरुको विहार भ्रमणलाई लिएर त्यती नै आक्रोस हरु बढीरहेको छ । मोर्चाका नेताहरुको विहार भ्रमण, आसन्न बैठक र नाकाबन्दी आन्दोलन फिर्तालगायतका विषयमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी
विहारमा गएर लालुप्रसाद यादवलाई भेट्नु ठूलो उपलब्धि भयो होईन ?
उपलब्धि भन्दा पनि त्यहाँ भारत नेपाल संबाद मैत्रि कार्यक्रमको लागि उहाँहरुले हामीलाई निम्ता गर्नु भएको थियो त्यसैकोलागि गएका हौ । त्यहाँ दुई वटा कार्यक्रममा हामी सहभागि भयौ । त्यसपछि हामीले उहाँहरुलाई पनि भेट्यौ ।
तपाईहरुलाई भारतको ईशारामा काम गर्ने, नेपालीको स्वाभिमानको वास्ता नगर्ने गरेको आरोप लाग्न थालेको छ नि ?
भारत र नेपालको विचमा जुन मैत्रिपूर्ण सम्बन्ध छ । त्यो कार्यक्रम नेपालमा पनि हुन्छ, भारतमा पनि हुन्छ । त्यसमा शिर निहुरिने कुरा के छ र ? विहार त हाम्रो छिमेकी हो ।
नेपालमै आन्दोलन गर्न सक्नु हुन्न अनि विहारमा गएर सहयोग गर किन भन्नु हुन्छ ?
भारत छिमेकी देश हो अनि विहार छिमेकी प्रदेश हो । त्यसको राजधानी पटनामा कार्यक्रम हुन्छ अनि त्यहाँ जाँदा नयाँ कुरा हुन्छ र ? यहाँका नेता प्रधानमन्त्री जाँदा भेट गर्छन भने हामीले भेट गरेर नयाँ कुरा गरेको होईन । हामीले यसअघि पनि पटक पटक भेटेकै हो ।
तपाईहरुले लज्जित हुने काम गर्नु भयो भन्ने आरोप छ नि ?
हामीले के लज्जित हुने काम गर्यौ र, को नेतासँग कस्ले भेट्दैन ? तपाई बताउनुस न ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नै तपाईहरुले शिर निहुँर्याउने काम गर्नु भयो भनेर आरोप लगाएको छ ?
यो देशको परराष्ट्रमन्त्री भारतमा साधुलाई भेट्न जान्छन । चार बुँदे प्रस्ताव भारतको विदेशमन्त्रीलाई बुझाएर आउँछ । हामी त्यहाँ के बुझाउन गएका हौ र ? देशको शिर निहुँराउने काम त सरकारले गरेको छ । परराष्ट्रमन्त्रीले गरेको छ । हामीले त एउटा भाईचाराको नाताले मैत्री संबादको कार्यक्रममा सहभागिता मात्रै जनाएका हौ । त्यसैक्रममा भेटवार्ता भयो,यसमा शिर निहुर्याउने काम के भयो र ? नेपालका परराष्ट्रमन्त्री आफ्नो आङको भैसी नदेखेर अरुको आङको जुम्रा खोज्दैछन ।
लालु यादव र सुशील मोदीलाई भेटेर देशको समस्या समाधान हुन्छ ?
त्यहाँ हाम्रो नाता सम्बन्ध छ , भेटघाट हुन्छ । तराईमा मानिस विरामी हुँदा उपचार गर्न पटना जान्छन त्यहाँबाट रेफर भए नयाँ दिल्ली जान्छन । अहिलेका प्रधानमन्त्री पनि दिल्ली गईरहेका छन । हामीले दुखसुखको कुरा राख्यौ । यसरी भेट्दा राष्ट्रियता कमजोर हुँदैन । नेपालमा भारत विरोधी कुरा गर्ने अनि दिल्लीमा गएर लम्पसार पर्ने काम सरकारको परराष्ट्रमन्त्रीले गरे जस्तो हामीले गरेका छैनौ । सरकारको कामले सम्पूर्ण नेपालीको शिर निहुँरिएको छ । हाम्रो त संबाद कार्यक्रम थियो, त्यहाँ मधेस आन्दोलनको विषयमा छलफल भएको छ ।
सुशील मोदीले हिन्दु राष्ट्रको पक्षमा उभिन भन्नु भएको छ, तपाईहरु अब हिन्दु राष्ट्र स्थापनामा लाग्ने हो ?
यो सबै गलत कुरा हो । हामीले कुरा गरेको हो, हाम्रो कुरामा विश्वास गर्नुस । त्यहाँ कुनै त्यसतो कुरा भएको छैन । हामीले हाम्रो कुरा राख्यौ । हिन्दु राष्ट्रको विषयमा कुनै कुरा भएको छैन । हामीले धर्म निरपेक्षता स्विकार गरिसकेका छौ । मोर्चा धर्म निरपेक्षताको पक्षमा छ । तीन दलले सनातन धर्म राख्ने काम गरेको छ त्यो गलत हो । हामी त्यसको विरोध गरिरहेका छौ ।
गोरखा रेजिमेन्टमा मधेसीलाई भर्ना गर्न भन्नु भएको होईन ?
यो सबै गलत कुरा हो । यहाँका मिडियाहरुले हाम्रा बारेमा सधै गलत प्रचार गरिरहन्छ ।
विहारी नेताहरुको सन्देश अनुसार तपाईहरु नाकाबन्दी आन्दोलन फिर्ता लिदै हुनुुहुन्छ रे नि ?
यो देशको प्रधानमन्त्रीको कारणले नाकाबन्दी भएको हो । यो आन्दोलन हाम्रो हो । हामीलाई नेपालमा कुटेपछि नो म्यान्स ल्याण्डमा गएका हौ । विगतमा पनि यहाँका नेताहरुले १३ महिना नाकाबन्दी गराए, चन्द्रशेखरलाई यहाँ ल्याएर भाषण गराए र १२ बुँदे दिल्लीमा गएर गरे । शिर निहुँर्याउने काम उनीहरुले गरेका छन । हामी नेपाली मधेसी हौ । हामीलाई यहाँ नै अधिकार चाहिएको छ । यो देशको राष्ट्रियता, एकता र अखण्डतालाई बलियो बनाउन हो । मधेसीहरुलाई हेर्ने र चिन्तन दोषपूर्ण छ ।
बीरगञ्ज धारासायी हुने खतरामा छ, त्यो कहिले खुल्छ ?
अरु तिर हाम्रो शक्ति नपुगेर बन्द नभएको हो । हामीले नाकाबन्दीमा पुर्नविचार गर्ने कुरा गरेका थियौ तर प्रधानमन्त्री नाका नखुली भारत जान्न भन्दैछन । प्रधानमन्त्रीको यो कुराले नाका बन्दी लम्बिन सक्छ । हामी नेपाली जनताको भावना प्रति संबेदनशिल छौ । जनतालाई कष्ट भयो भन्नेमा सचेत छौ । सरकार संबेदनशिल भएन । हामी जनताप्रति उत्तरदायी छौ त्यसैले हामी पुर्नविचार गर्छौ ।
प्रधानमन्त्रीलाई भारत जान सजिलो बनाउन नाकाबन्दी खोल्दै हुनु हुन्छ ?
हामी आन्दोलनकारीलाई प्रधानमन्त्रीले अपमान गरे । प्रधानमन्त्रीको बोलीले गर्दा झनै अप्ठ्यारो हुन सक्छ । देशको आन्तरिक समस्यालाई प्रधानमन्त्रीले भारतले अघोषित नाकाबन्दी गर्यो भनेर भारत जान्न भनिरहेका छन । यो बालहठले मुलुक चल्दैन । हामीसँग बार्ता नगरे प्रधानमन्त्री किन भारत जाने ? हामीसँग कुरा गरेर परिणाम निकालेर भारत जानु पर्छ । यहाँ समस्या समाधान नहुँदा त्यहाँ गएर प्रधानमन्त्रीले के भन्छन ? यस्तो अवस्थामा भारतमा नेपालको ईज्जत रहँदैन ।

प्रतिक्रिया