नेपालका राजनीतिक दलहरुमा युवा र सक्षमहरुको पहुँचको सवाल

इनेप्लिज २०७२ फागुन १३ गते २३:४२ मा प्रकाशित

11052462_10207714598174439_1267896033115440543_n

बहुदलीय लोकतन्त्रमा पार्टीहरु नै सरकार सन्चालनका स्रोत हुन्। सिद्धान्तत: पार्टीहरुले आफ्ना नीति तथा कार्य योजना जनता समक्ष प्रस्तुत गरेर भोट माग्ने हो। आवधिक निर्वाचनमा आफ्नो पक्षमा जनमत ल्याई सरकार बनाउने र देसको सम्पुर्ण शासन व्यवस्थाको सन्चालन दलहरुले नै गर्दछन्। तर हाम्रो नेपालमा हालसम्म पनि दलहरुले तिनका नीति, कार्यक्रम र योजना तथा त्यसलाई कार्यान्वयन गर्न सक्ने क्षमता भएको नेता र व्यक्तीत्वलाई आधार मानेर चुनावमा मत माग्ने परम्परा बस्न सकेको छैन। त्यसैगरी प्राप्त मतलाई नीति कार्यक्रम र योजनाका आधारमा आएको मत मान्दै त्यसको कार्यान्वयनमा दलहरु लागि पर्ने पद्दती र परम्परा बस्न सकेको देखिन्न।

लोकतन्त्रिक गणतन्त्र नेपालमा अब सबैभन्दा ठुलो चुनौतीको विषय पार्टीहरुलाई कसरी पारदर्शी र उत्तरदायी बनाउने भन्ने हो। हाम्रा दलहरु र तिनको सन्चालन विधी र अवस्था यति भद्रगोल, कमजोर र अपारदर्शी छ कि यी दलहरुले कसरी देश निर्माण गर्न सक्लान र ? भन्ने चासो र चिन्ता अब सर्वत्र छाएको छ।

के बहुदलीय लोकतन्त्रमा पार्टीहरु पारदर्शी र अनुशासित नबनीकनै पनि देश बन्न सम्भव छ? देश र जनताप्रति ईमान्दार र भिजनरी व्यक्ती देशले ‘राजनेता’ पाएको थियो भने त्यो सम्भव हुँदो हो । तर आजको नेपालमा हाम्रा सामु त्यस्तो व्यक्ती देखा पर्न सकेको छैन। त्यसैले अब देश बनाउने वा विगार्ने दुवै दलहरुमै निहित छ। अब देशको चिन्ता गर्नेहरु हरेकले प्रत्येक पार्टीहरुका बारेमा राम्रो हेक्का वा जानकारी राख्नु पर्दछ। प्रसंग-काँग्रेस महाधिवेशन र देश निर्माणका सवालमा युवाहरुको पहुँच र सक्रिय भुमिकाको हो । यस आलेखमा यसै सेरोफेरोमा चर्चा गर्ने प्रयास गरिएको छ।

स्थापनाबाट हालसम्म ६८ बर्षको दौरानमा पटक पटक लोकतन्त्रका लागि भएका आन्दोलनहरुको सफल नेतृत्व गरेको सबैभन्दा जेठो र हालको सबैभन्दा ठुलो राजनीतिक दल हो काँग्रेस। तर पार्टी सन्चालन र व्यवस्थापनको विधी र प्रकृया तथा पार्टीले लिने निर्णयको प्रकृया र विधी अलोकतान्त्रिक, अकल्पनीय र अस्वभाविक छ। पार्टीको नेतृत्व चयनविधी समेत समयानुकुल परिवर्तन हुन नसकेका कारण दल आजका मितीसम्म पनि आन्तरिक लोकतन्त्रका दृष्टीले असफल, नाजुक र कमजोर देखिन्छ।

ईमान्दारी पुर्वक भन्नुपर्दा लोकतन्त्रका लागि हुने संघर्ष र आन्दोलनको सधै अगुवाई गर्न सफल यो दल आफुलाई प्राप्त अभिमतको सम्मान र रक्षा गर्ने तथा मुलुकमा शुशासन र दीगो विकासको व्यवस्थापन गर्ने मामलामा भने कहिल्यै सफल बन्न सकेको छैन। त्यसैगरी मुलुकमा लोकतन्त्रको पर्याय बनेको दलको आन्तरिक लोकतन्त्रको अभ्यास यती कमजोर छ कि बयान गरी साध्य छैन। यस्तो कसरी भयो ? सविस्तार खोजी हुन जरुरी छ। दल लोकतान्त्रिक बिधी र प्रकृयाबाट चलेको अवस्था भए-सायद सरकार सन्चालन र देश विकासको व्यवस्थापनमा पनि सफल बन्न सकेको हुन्थ्यो होला।

समय गतिशिल छ । पार्टीको कार्य शैली र तौर तरिका पुरै गतिबिहन छ। मुलुकको राजनीतिक परिदृष्यमा आमुल परिवर्तन आईसकेको छ। तर पार्टीको अवस्था उही छ। यदि यो दलले अब पनि आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन सकेन भने लोकतन्त्र त कमजोर बन्छ नै काँग्रेस पनि देशमा सबैभन्दा कमजोर दलमा दर्ज हुनेछ। र साथै लोकतन्त्रको भविस्य पनि सहज मोडतर्फ उन्मुख हुन नसक्ने खतरा रहनेछ। यस अवस्थामा देश बन्ने र बनाउने कुरा त एकादेशको दन्त्य कथा जस्तो बन्न पुग्नेछ।

वर्तमान नेपालले सामना गरिरहेका समस्याहरुको समाधान गर्न सक्ने हैसियत र क्षमता भएका व्यक्तीहरु पार्टीमा हुँदै नभएका भने हैनन्। तर व्यक्तीबादी सोच र गुट उपगुटको जाँतोमा पिसिएर त्यस्ता क्षमता र हैसियत भएकाहरु सधैभरी पाखा लाग्ने अवस्था बन्ने गरेको छ। पार्टीमा क्षमता र योग्यताको कही कतै कदर हुन्न। पार्टीलाई जीवन्त राख्न सक्ने क्षमता र योग्यता भएका युवाहरुलाई उनीहरुको उमेरसँग तुलना गरेर ‘जुनियर’को नाममा सधैभरी दबाएरै राखीरहने परम्परा नै बनेको छ । यस्ले गर्दा योग्य र सक्षमहरु कि त निस्क्रिय रहन बाध्य छन् कि त पलायन। यो प्रबृती कायम रहीरहेमा काँग्रेस ‘ऐतिहासिक पाटी’ मात्र बन्ने देखिन्छ। तर अब बेला आएको छ। समयले पर्खनेछैन। पार्टीभित्रका जुझारु युवाहरु हो- संगठित होउ र नेतृत्वमा धाबा बोल। समयसँगै अघी बढ्न सिक।

काँग्रेसमा लागेका युवाहरुका लागि यो महाधिवेशन ‘डु एन्ड डाई’को अवस्थामा छ । लोकतन्त्रको बहाली र पुनर्बहालीको ऐतिहासिक कार्यभार पुरा गरेता पनि कांग्रेस हालसम्म आफै भित्र लोकतन्त्रको अभ्यासमा पुर्णत कमजोर र असफल सावित भैसकेको छ। यो कमजोरी र असफलता तबमात्र समाप्त हुनेछ जब समयको हाँकलाई बुझ्न र चलाउन सक्ने युवा र सक्षम नेतृत्व त्यहा स्थापित हुनेछ।

देशको अवस्था नाजुक छ। पार्टीको अवस्था भद्रगोल छ । यो विसम परिस्थीतीका बाबजुद १३औ महाधिवेशन हुन गईरहेको छ। यो महाधिवेशन- पार्टी र मुलुकको अवस्था र वातावरणको हाँक र चुनौतीलाई सम्बोधन गर्न सक्ने हैसियत राख्ने गरी समयानुकुल परिवर्तन हुने कि नहुनेबीचको द्वन्द्वमा रुमलिएको अवस्थामा छ। अशक्त र असफलसिंद्द भैसकेकाहरुबीचबाट दुईमध्ये एकको नेतृत्व छनौट गर्नु पर्ने बाध्यतालाई नयाँ भनीएको पुस्ताले गहकिलो चुनौती दिन सक्नु पर्छ। नभए पछुताउनु बाहेक उनीहरुलाई केही हात लाग्नेवाला छैन। यदी त्यसो भएमा देश बन्ने बनाउने कुरा त ‘नीलो चन्द्रमा’सावित हुनेछ।

नयाँ भनिएको र आशा लाग्दो ठानीएको पुस्ता पनि परिस्थितीबश फेरी तिनै असफल र अशक्तलाई नै नेतृत्व जिम्मा लगाउन र हालसम्म जे हुँदै आईरहेको थियो-त्यसैलाई निरन्तरता दिन सहमत हुँदै जाने खतरा बढेको संकेतहरु देखा पर्न थालेको छ। विश्वप्रकाश शर्मा र नविन्द्रराज जोशीको अन्तरबार्ताहरु हेर्दा त्यो छनक देखा परेको भान हुन्छ। यस्तो बेला नयाँ पुस्ता एक जुट भएर सामुहिक प्रयत्नमा लाग्नु पर्ने हुन्छ। तर विडम्बना अघिल्लो पुस्ताकाहरु पनि छानी छानी प्रभावसाली युवाहरुलाई कसरी बाध्यता सिर्जना गर्दै आफ्नो गुटमा ल्याउने दाउ लगाएर बसेका छन्। यस्तो बेला नीडर, प्रभावसाली र क्षमतावान युवा नेताहरु पनि कुन गुटमा बसेमा म सुरक्षीत हुनेछु भनेर चिन्तनशील हुने दिशा तर्फ अग्रसर हुन पुगे भने कुनै पनि हालतमा बर्तमान अवस्थामा सुधार आउने छैन। त्यसो भएमा फेरी पनि दल उही पुरानै ‘गुट, उपगुट र अन्तत: फुट’ शैलीमा चल्ने टीठ लाग्दो अवस्था सिर्जना हुनेछ।

ऐतिहासिक कार्यभार पुरा गरीसकेको अवस्थामा यति लामो विरासत बोकेको र धेरै समय सरकारमा रहेको पार्टी पनि किन सधैभरी भद्रगोल र लथालिंगे भएर चलेको छ ? पार्टीको सन्चालकको हैसियतमा कस्ले दिने हो यस्को जवाफ? जवाफदेहीताको विकास गर्न गराउन युवाहरु अग्रसर हुनपर्ने बेला यही हैन र ?

आजको काँग्रेस पार्टीका सामु अान्तरिक रुपमा पार्टीलाई संस्थागत गर्नेमात्र हैन मुलुकमा नयाँ संविधानको सबल र सफल कार्यान्वयन गर्नेसम्मको चुनौती छ। त्यो सामना गर्ने सामर्थ्य अब नवीन पुस्ताले पार्टीभित्रैका महत्वपुर्ण स्थानहरुमा आफुलाई स्थापित गराउन सकेको अवस्थामा मात्र सम्भव देखिन्छ। तर सम्भावना बोकेका युवाहरु आफैमा त्यो अवस्था ल्याउन सक्षम होलान नहोलान त्यो भने हेर्न बाँकी नै छ । अझै पनि भरोसा गर्न सकिने अवस्था बनीसकेको छैन।

काँग्रेस पार्टीको आन्तरिक लोकतन्त्र र व्यवस्थापन तब मात्र शुरु हुन सक्छ जब सम्भावना बोकेका युवाहरु महत्वपुर्ण भुमिकामा प्रवेश गरेर त्यहाँ जरा गाडेर बसेको भद्रगोले संस्कृतीलाई बाई बाई गर्न सक्षम हुनेछन्। त्यसको पहिलो अध्याय तब मात्र शुरु हुनेछ जब आशन्न महाधीवेशनमा कम्तीमा ३५/४० प्रतिशतको सख्यामा सम्भावना बोकेका युवाहरु पार्टीको महत्वपुर्ण भुमिकामा स्थापित हुनेछन्।

प्रभावसाली ठानिएका र पार्टी कार्यकर्ताहरुमा निक्कै लोकप्रियता कमाएका विश्वप्रकाश शर्मा र गगन थापासहित २ दर्जन जति युवा कार्यकर्ताहरु पार्टीको निर्णायक र महत्वपुर्ण भुमिकामा पुग्न जरुरी छ। त्यसो भएमा मात्र पार्टीलाई संस्थागत र व्यबस्थित गर्दै देश निर्माणको महा-यज्ञमा युवाशक्तीलाई परिचालन गर्न काँग्रेस सफल हुन सक्छ।

काँग्रेसको आगामी महाधिवेशनबाट त्यो आशा बाकी रहने नरहने संकेत देखा पर्नेछ! नेपालमा लोकतन्त्रको भविष्य उज्यालो छ कि छैन भन्ने प्रश्न अब युवा नेताहरुको कार्य शैली र व्यबहारमा टड्कारो भएर अडिएको छ।

‘ऐतिहासिक’ भनेर सधैभरी डम्फु बजाएर पार्टी चल्ने र चलाउने दिन गैसकेको कुरा अघिल्लो पुस्ताले थाहै पाएका छैनन्। हालसम्म हुल्याहा भएर चलेको पार्टीलाई बदलेर सही अर्थमा देश निर्माणको यज्ञमा होमीने पार्टी बनाउने अभिभारा अब युवाहरुको काँधमा आईपरेको छ। यो कार्यभार उनीहरुका अगाडी भीमकाय पहाड भएर उभिएको छ! यो कुरा सम्भावना बोकेका युवा नेताहरुलाई चेतना होस् र सोही अनुसार संगठित, संयमित र अनुशासित भएर आगामी दिनहरुमा अघी बढ्नुहोस् भन्ने सल्लाह, सुझाव र शुभकामना छ । संसारभर छरीएर रहेका लोकतन्त्रबादीहरुले त्यो सकारात्मक अवस्था हेर्न र सुन्न चाहीरहेका छन् ।

आशन्न महाधिवेशनमा पार्टी संगठनमा निकै लोकप्रिय र सम्भावना बोकेका युवा नेताहरुले महत्वपुर्ण पदहरुमा भारी मतले विजय हाँसिल गर्न सकुन्- शुभकामना छ! उनीहरु सहित नेतृत्वमा करीब अरु दर्जन जति युवा पुस्ताका नेताहरु कार्य समिती भित्र पुग्न सके भने मात्र पार्टीले काँचुली फेर्ने समभावना रहन्छ। अनी मात्र पार्टी र त्यसको नेतृत्वले समयको हाँक, चुनौती र आबश्यकतालाई सम्बोधन गर्न सक्नेछ! र देशमा लोकतन्त्रको व्यबस्थापन गर्न सही नेतृत्व दिन सक्नेछ! र सही अर्थमा लोकतन्त्रमा- न्याय, शान्ती र शुशासनका सवालहरुमा युवा पुस्ताले पनि अहम भुमिका निर्वाह गर्न थाल्नेछन्!

पार्टीमा सकारात्मक परिवर्तन ल्याउनका लागि काँग्रेस पार्टी भित्रका सम्भव भएजति सबै युवाहरु एकजुट हुन सक्नुहोस्!
पार्टी नेतृत्वको महत्वपुर्ण भुमिकामा स्थापित हुनका लागि सबै युवा मिलेर सामुहिक प्रयत्न गर्नुहोस् । देश निर्माणको महत्वपुर्ण कालखण्ड शुरु हुनु पर्ने बेलामा पार्टीहरु चुस्त र प्रतिस्पर्घी हुनुपर्छ। यस्तो चुनौती र अवसरले थिचेको माहौलमा फेरी पनि विरामी-अशक्त अनि असक्षम-असफल साबित भैसकेको पुरानो नेतृत्वलाई कुनै हालतमा साथ नदिनुहोस् । उहाँहरुलाई पार्टीमा सम्मानजनक ढंगबाट रहने र आराम गर्ने व्यवस्था मिलाउन सक्नुहोस्।

प्रतिक्रिया