धरहरा बन्न समय लागोस् तर भुकम्प पिडीतको घर छिटो बनोस् -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७२ चैत ३ गते ३:२० मा प्रकाशित

image1

अमेरिका शक्तिशाली , सम्पन्न देश भनेर विश्वले चिन्छ । सबैले उसलाई सम्पन्न छ भनेरै स्विकार्दै आएका पनि छन् तर पनि पछिल्ला दिनहरुमा प्रविधीको विकाशले चीनले अमेरिकालाई उछिन्ने हो की भन्ने पनि आभाष हुन थालेको छ । विज्ञान र खोजको क्षेत्रमा चीनले दिन-प्रतिदिन चमात्कारिक गतिविधी देखाई रहेको छ । समुन्द्र माथी विश्वकै लामो पुल निर्माण गर्ने देखि अनेकन चमत्कारिक खोज र कामहरु गरेर एक तिर विश्वलाई चकित पारेको छ भने अर्को तर्फ विश्व बजारमा आफ्ना उत्पादनलाई विस्तार र बजारीकरण गरेर अन्तर्राष्ट्रिय बजारलाई दवदवावमा राख्न समेत सफल भएको छ साथै अर्थतन्त्रको विकास प्रचुररुपमा गरेको छ । यति हुँदाहुँदै पनि धेरै बर्ष देखि विश्वलाई प्रभावमा राख्न सफल अमेरिका पनि आफ्नो पहिचान विश्व समुदाय सामु राख्न र अमेरिका प्रतिको मोह अन्तर्राष्ट्रिय तवरबाट कायम राखि राख्न प्रयासरत त्यतिकै छ ।
अमेरिका एक प्रजातान्त्रिकमुलुक, सबैखाले विभेदमुक्त देश, अवसरको भुमि र प्रविधीमा सम्पन्न मुलुक पनि हो । यसले गर्ने हरेक निर्णयले विश्वव्यापीरुपमै प्रभाव पार्न सक्छ । यसैले त कतिपय अवस्थामा अमेरिकाको प्रगती माथी डाहा गर्ने र उसको विकाशको संरचनालाई क्षति पुर्याउने काम पनि भएको पाईन्छ । हरेक विश्वयुद्धहरुमा यसको संलग्नताले विशेष महत्व राख्दछ । यस्तै घटनाक्रम सन् २००१ सेप्टेम्वर ११ मा भएको आतंककारी आक्रमणकारीलाई लिन सकिन्छ जसमा ठुलो धनजनको क्षति भएको थियो । World Trade Center रहेको न्युयोर्क स्थित अग्लो Twin tower ध्वस्तै भयो त्यस्तै वासिंटनको पेन्टागन पनि क्षतिग्रस्त भयो र यस किसिमको त्रासिदीपुर्ण घटनामा करिब ३ हजार जना ब्यक्तीहरुले ज्यान गुमाए । न्युयोर्क शहरको आकर्षक रहेको व्यापारिक केन्द्रको रुपमा प्रख्यात Twin Tower को पुनर्निर्माण कार्यको थालनी भने April 2006 मा मात्रै हुन गयो र July 2013 मा कार्य सम्पादन गरेर November 2014 मा मात्रै विधिवत Opening गरिएको थियो । यसरी हेर्दा त्यो Twin Tower ध्वस्त भएको करिब १२ बर्ष पछि मात्रै पुनर्निमाणले पूर्णता पाउन सकेको थियो । हुन त निर्माण कार्य सम्पन्न हुन मात्रै करिब ७ बर्ष लाग्यो र लागत करिब ३.९ विलियन लागेको थियो । यती ठुलो लागतमा धेरै समय लगाएर पुरानै स्वरुपमा निर्माण सम्पन्न गर्नु पर्ने कारण पनि लामो समय पछि मात्रै ती भवनको रिक्तता पुरा भएको छ । फेरी पहिले कै शोभायमान स्वरुपमा न्युयोर्कको मुटुमा यो अवस्थित छ र यो पहिले कै स्थानमा रहेको छ ।
यतिवेला हाम्रो देश नेपालमा समेत हाम्रा आस्थाका धरोहरहरु विनाशकारी भुकम्पबाट ढलेका छन् । बस्तीहरु उजाड बनेका छन् । अझै घाईतेहरुले उचित उपचार र सहयोग पाउन सकिरहेका छैनन् । जनताका अत्यावश्यक समस्याहरुलाई संबोधन गरि ती भुकम्पले क्षतविक्षत उजाड बस्तीहरुको पुनर्निर्माण कार्यलाई अझै शुरुवात हुन सकेको छैन । काठमाण्डौ मा रहेका सांस्कृतिक महत्वका सम्पदाहरु ढलेका छन् । तिनीहरुको निर्माण गरि संरक्षण गर्नु जरुरी छ । काठमाण्डौ उपत्यकालाई एकै नजरमा अवलोकन गर्न सकिने सुन्धारामा अवस्थित धरहरा ढलेको छ जसले गर्दा आन्तरिक तथा बाहिय पर्यटकलाई आकर्षित गर्ने एउटा ईतिहास बोकेको स्तम्भको अभाव खड्केको छ । यसलाई समेत छिट्टै बनाउनु छ । अझै भोकभोकै खानाको अभाव , बर्षा र चिसोमा आकाश ओडेर ननिदाई रात काट्नेको घरको छाना हाल्नु पर्ने समस्या , सिटामोल र सामान्य औषधीमुलो नपाएर ज्यान गुमाउनेलाई स्वास्थ्य केन्द्र खोलेर सुविधा पुर्याउनु पर्ने जस्ता यी विविध समस्या समाधान पहिलो प्राथमिकतामा आउने गर्दछन् ।
यी तमाम समस्या छन् तर सरकारबाट ठोस कदम चाल्न अहिले सम्म पनि सकिरहेको छैन । ढिलै गरेर भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारले निर्माण गरेको छ तर त्यसले पनि छिटोछरितो रुपमा कार्य अगाडी बढाउन सकिरहेको छैन । तत्कालै सम्बन्धित पिडीत समक्ष अत्यावश्यक राहत पुराउने देखि प्राधिकरणले पुनर्निर्माणको कामलाई युद्धस्तरमा अगाडी बढाउन आवस्यक छ । वास्तवमा नेपालमा राजनितिक खिचातानी मै अधिकांश समय खर्चिने पद्दतीले समेत यस्ता महत्वपुर्ण काममा ध्यान पुग्न सकिरहेको छैन । अहिले महानगरपालिका , देशको राजधानी काठमाण्डौमा यातायातलाई व्यवस्थित पार्ने कुरा उठिरहेका सन्दर्भमा भर्खरै महानगर यातायात प्रालीले शुरु गरेको हाईटेक आधुनिक बस सेवालाई केही अपराधिक गतिविधीमा लाग्ने व्यक्तीहरुले ढुंगा हानेर झ्यालका सिसा फुटाएका समाचार पनि आईरहेका छन् । यस्ता गतिविधीहरु अघि बढ्नु र ध्वंस गर्नमै आनन्द मान्ने जमातलाई निरुत्साहित पार्न समेत सरकार र समाजको ध्यान जानु जरुरी छ । केही हद सम्म राजनितिक दलहरुले हरेक गतिविधिमा आफ्नो असहमति देखाउन र आफुले भनेको सरकारलाई मान्न बाध्य पार्न चालेका हिजोका विरोधका स्वरुपहरुले पनि यस्ता गतिविधी बढ्नमा कारक बनेको मान्न सकिन्छ ।
अत: अमेरिका जस्तो सम्पन्न मुलुकमा समेत विशेष लागत र प्रविधी लाग्ने निर्माण काम पुरा हुन केही लामै समय लाग्ने रहेछ भने नेपाल जस्तो देशमा अवस्य सबै सांस्कृतिक धरोहर बन्न समय लाग्छ नै तापनि तत्काल भुकम्प पिडीत बस्तीमा अत्यावश्यक वस्तु र सेवा पुर्याउन र घर निर्माण कार्य, स्कुल , स्वास्थ्य चौकी निर्माण लगायतका कामको यथासिघ्र थालनी हुनु पर्दछ । सरकार र सम्बन्धीत निकायले भाषणलाई भन्दा कामलाई प्राथमिकता दिनु पर्दछ । साथै यस्ता एेतिहासिक धरोहर बनाउन पनि आवस्यक कदम योजनाबद्धरुपमा थालिनु पर्छ त्यस्तै अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने उद्घोष गरिएको सहयोग रकम समयमै संकलन गरि त्यसको सही सदुपयोग गरि दाता राष्ट्र र निकायलाई विस्वास दिलाउनु पर्दछ । शेष घले लगायतले एनआरएन मार्फत भुकम्प पिडीतको लागी घर /भवन निर्माण गरि दिने घोषणानुसार उचित स्थान छनौट र व्यवस्था गरि दिएर उनीहरुलाई काम थालनी गर्ने उचित वातावरण प्रदान छिट्टै नै सरकारले गरिदिनु पर्दछ । यसो हुन सकेमा मात्र भुकम्पले विझिप्त पारेको मनमा मलम लाग्न सक्नेछ ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया