ज्योतिषीको भनाइ मानेर पो प्रचण्डले पार्टीको नाम फेरे छन् (भिडियो सहित)

इनेप्लिज २०७३ जेठ ११ गते १५:१० मा प्रकाशित

विश्वकै उत्कृष्ट कम्युनिष्ट नेता बन्ने सपना देखेर सत्रहजार भन्दा बढी जनता मर्ने र लाखौं घरबार विहिन हुने साथै हजारौं वेपत्ता हुने युद्ध गरेका प्रचण्ड पछिल्लो समयमा राजनीतिक ह्रास व्यहोर्नु पर्दा मनोवैज्ञानिक रूपमा तनाबमा छन् । पार्टीलाई पूर्ववत अवस्थामा पुर्याउनु उनको लागि पहाडभन्दा ठूलो चुनौति छ । यसै क्रममा मूल पार्टीबाट अङ्शबण्डा गरी अरु पार्टी खोलेर गएकालाई पुनः मूल पार्टीमा फर्काउनु उनलाई ठूलै पिना पेल्न परिरहेको छ भने अर्कोतर्फ युद्धकालिन मुद्धाहरू विऊँतिनसक्ने खतराहरूले पनि उनलाई अर्को तनाब दिएरहेको र युद्धका नाइकेहरू अलग अलग समूहमा उभिँदा प्रतिवाद गर्न पनि फलामको चिउरा हुने स्थिति बन्दै गएको छ । यावत कारणले गर्दा पनि भित्री तुस जेजस्तो भएपनि बाहिर देखाउनलाई पार्टी एकिकरण गर्नु प्रचण्डलाई अपरिहार्य भएको थियो । अन्ततः माओवादीका केही गुटहरू बीच एकिकरण भयो पनि ।

पहिला अन्य राजनीतिक घटकहरूसँग एकिकरण गर्दा एकिकृत नाम दिएका प्रचण्डले पछिल्लो पटक आफैबाट छुट्टिएका घटकहरू सँग एकिकृत हुँदा झन किन एकिकृत शब्द हटाए ? झट्ट सामान्यजस्तो लागेपनि त्यसभित्रको रहस्य अर्कै रहेको तथ्य फेला परेको छ ।

माओवादी घटकहरूले पार्टीको नामबाट एकिकृत भन्ने शब्द निकाल्नुको कारण ज्योतिषीको भनाईलाई मनन् गरेको बुझिएको छ । प्रचण्डले पार्टी छाडेर बाहिर गएकाहरूलाई पुनः पार्टीमा फर्काएर नाम फेर्नुको कारण उनलाई एकिकृत भन्ने शब्द नफापेको बताइएको छ ।

विशेष स्रोतका अनुसार राजनीतिक वृतको भविष्यवाणी गर्ने गरेका चर्चित ज्यो. दीपक सुवेदीले नयाँ वर्ष २०७३ को बारेमा ज्योतिषीय विश्लेषण दिने क्रममा प्रचण्डलाई एबाट नाम आएको पार्टी नफापेको बताएका थिए । सो कुरा उनले गत बैशाख एक गते सगरमाथा टेलिभिजको एसटिभि च्याट कार्यक्रमसँगको कुराकानीमा बताएको भिडियोको लिंक अहिले सामाजिक सञ्जालहरूमा पनि फैलिएको छ ।

पार्टीबाट बाहिर गएकाहरूलाई जोडेर झन ठूलो एकिकरण गर्दा एकिकृत भन्ने शब्द नै माओवादी तथा प्रचण्डले किन हटाए भन्ने तर्कमा सुवेदीको सो भनाइलाई माओवादीहरूले मनन् गरेको हुनसक्ने विश्लेषकहरू बताउँछन् ।
राजनीतिक क्षेत्रको बारेमा समयसमयमा गम्भीर खालका भविष्यवाणी गर्ने गरेका ज्यो. दीपक सुवेदीले सो संवादमा जुन दिनदेखि प्रचण्डले विभिन्न समिकरण जोडेर पार्टीको नामको अगाडि एकिकृत जोडे त्यो दिनदेखि नै उनको अधोगति हुनथालेको बताएका थिए । उनको भनाइ अनुसार प्रचण्डलाई पार्टीको नामको अगाडि एलागेको नफापेको भन्ने थियो । हुनपनि पहिलो पार्टीबाट तेस्रो नं.मा झरेको एमाओवादीलाई ज्यो. सुवेदीको सो भनाइले सोँच्न बाध्य बनाएको हुनसक्छ ।

सो संवादमा नयाँ वर्षको भविष्यको साथमा राजनीतिक क्षेत्रको ज्योतिषीय विश्लेषण गरेका ज्यो. सुवेदीले संविधानकै आयुमा शङ्का रहेको ठोकुवा गरेका छन् । जसले राजनीतिक क्षेत्रलाई अहिलेको परिस्थितिमा अझ बढी सोँच्न बाध्य बनाइरहेको हुनसक्छ ।

यस पूर्व पनि सुवेदीले गरेको भविष्यवाणीहरू सही सावित भएको चर्चा बेलाबेलामा सञ्चार जगतमा आउने गरेका हुन् । जसले गर्दा उनले भन्ने गरेका कुरामा दम रहेको र अप्रत्यक्षरूपमै भए पनि राजनीतिक क्षेत्रले उनका कुरालाई मनन् गर्न बाध्य हुन थालेको अनुमान गर्न सकिन्छ । राजा विरेन्द्रको मृत्युको बारेमा समेत उनले भविष्यवाणी गरेका थिए जुन कुराले उनको ज्योतिषीय उचाई बढाएको थियो । पहिलो संविधान सभाबाट तथा त्यतिबेलाको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने उनको दाबी प्रधानन्यायाधीश खिलराज रेग्मीको हातमा सत्ताको बागडोर गएलगत्तै झन उनको ज्योतिषीय उचाई बढाएको थियो ।

संविधानको मस्यौदा जारी गर्दा धर्मको बारेमा केही नबोलेकोमा पछि अनुसूचिमा लगेर टिप्पणी गरी धर्मनिरपेक्षताको परिभाषा गरी सनातन धर्मको संरक्षण गर्ने भनी उल्लेख गर्नुको पछाडि पनि उनको भविष्यवाणीको हात रहेको बताइन्छ छ । स्मरण रहोस उनले दोस्रो संविधानसभाबाट संविधान जारी हुन धर्मलाई संवोधन हुनुपर्छ भनेर लेखेका थिए ।
राजनीतिक व्यक्ति एवं पार्टीहरूको बारेमा आफूले गर्नेगरेको भविष्यवाणी गोप्य राख्नखोज्ने सुवेदीले सञ्चारकर्मीले बढी माग गरेपछि सो संवादको कपिलाई आफूले युट्युबमा अपलोड गरी सार्वजनिक गरेको उल्लेख गरेका छन् । उनको भनाईले पछिल्लो समयमा पनि चर्चा बटुलेको छ । झन खास रूपमा एकिकृत भइरहेको बेलामा किन माओवादीले एकिकृत भन्ने शब्द हटायो भन्ने तर्कको पछाडिको निस्कर्ष सगरमाथा टेलिभिजनमार्फत उनले भनेको भनाई नै हुनसक्ने विश्लेषकहरूको छ ।

उनले अपलोड गरेको सगरमाथा टेलिभिजनसँगको संवादको लिंक तल दिइएको छ –

प्रतिक्रिया