नेपाली उत्पादन अमेरिकामा पुर्‍याउने यो सुनौलो मौका हो: टेकराज पौडेल (अन्तरवार्ता)

इनेप्लिज २०७३ असार १० गते १०:५३ मा प्रकाशित

Tekraj-Paudel

अमेरिकी सरकारले नेपाली उत्पादनका वस्तुहरुमा भन्सार छुट गरेपछि पहिलोपटक विश्व अर्थतन्त्रको राजधानी न्यूयोर्क सहरमा नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिने भएको छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सलट्यान्ट एलएलसीको आयोजनामा आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २सम्म न्यूयोर्कको म्यानहटनमा चल्ने मेलामा नेपालबाट झण्डै ३५० वस्तु तथा सेवा लिएर नेपाली उद्योगी व्यवसायी सहभागी हुँदैछन् । मेलालाई नेपाल सरकार, अमेरिकी सरकार, तथा नेपाल सरकार सम्बन्धित निकायहरुले पनि प्रत्यक्ष सहयोग गरिरहेका छन् ।

नेपालबाट अमेरिका निर्यात हुने विभिन्न वस्तुहरुमा हालै अमेरिकाले भन्सार छुट दिएपछि हुन लागेको यो मेलाले नेपाल–अमेरिका बीचको व्यापारमा नयाँ युगको सुरुवात हुने आयोजकको दावी छ । यो मेलालाई विश्वबजारमा अहिलेसम्म भएका नेपाली सामानहरुको प्रदर्शनीमध्येकै ठूलो प्रदर्शनीको रुपमा लिइएको छ ।

यो मेलाबाट नेपाललाई के फाइदा हुन्छ ? कस्ता कस्ता वस्तु र सेवा विश्व अर्थतन्त्रको प्रमुख सहरमा प्रदर्शनी गरिँदैछ ? यिनै विषयमा अमेरिकाबाट नेपाल आएका मेला आयोजक संस्थाका प्रबद्र्धक निर्देशक टेकराज पौडेलसँग काठमाडौंमा गरिएको कुराकानीः

अमेरिकामा पहिलोपटक आयोजना गरिन लागेको यो कस्तो मेला हो ?

विश्वबजारमा नेपाली उत्पादनको प्रवद्र्धन तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने लागि नेपालीहरुको संस्था वल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (एलएलसी)ले मेला आयोजना गर्न लागेको छ ।

नेपालमा उत्पादित वस्तु र सेवालाई विश्वको आर्थिक केन्द्र न्यूयोर्कमा आयोजना हुने व्यापार मेलामार्फत विश्वव्यापी गराउने यसको प्रमुख उद्देश्य हो ।

मेलामा कस्ता कस्ता नेपाली वस्तु र सेवाहरु सहभागी हुनेछन् ?

नेपालबाट डेरी उत्पादन, हस्तकला, पेपर, कार्पेट, गार्मेट, साना तथा मझौला घरेलु उत्पादन, मसलाजन्य वस्तु, कफी, चिया, पस्मिना, छालाजन्य उत्पादनहरु, ललितकला, थान्का पेन्टिङ, आयात निर्यात एजेन्सी, खुकुरी रम, सल्यान र भोजपुरमा बन्ने खुकुरी, शैक्षिक उद्योग, जलविद्यतु, पर्यटनअन्तर्गत होटल, बन्जीजम्प, प्याराग्लाइडिङ, ¥याफ्टिङ, निर्माण उद्योगहरु लगायतका वस्तु र सेवाहरुले यो मेलामा सहभगिता जनाउनेछन् ।

नेपाली वस्तुहरु अमेरिका पुगाउने र विश्वव्यापी बजारमा पुगाउने सोच कसरी आयो ?

नेपालमा लामो समयदेखि द्वन्द्व, भूकम्प र नाकाबन्दीले ससाना उद्योग व्यवसाय गरेका उद्यमीहरु झन–झन समस्यामा परेर व्यवसाय ओरालो लागेको देखेपछि अमेरिकी संसदका सिनेटरहरुले त्यहाँको सरकारलाई नेपालमा उत्पादित वस्तुहरुलाई विना भन्सार अमेरिका आयात गर्न छुट दिने प्रस्ताव ल्याएपछि त्यहाँको सरकारले नेपालमा उत्पादिन करिब ६६ वटा वस्तुहरुलाई आगामी १० वर्षको लागि बिनाभन्सार आयात–निर्यात गर्न पाउने गरी निर्णय गरेकोले यो सुनौलो अवसरलाई कसैले न कसैले सदुपयोग गर्नुपर्ने भएको ठानेर हाम्रो अमेरिकाको मेरिल्याण्ड राज्यमा विगत तीन वर्ष अघि दर्ता भएको संस्था वल्र्ड विजनेश म्यानेजम्यान्ट कन्सलटेयान्ट एलएलसीले गर्ने योजना बनायो । त्यसैअनुसार सम्बन्धित पक्षहरुसँग विचार विमर्श गरी यो परियोजना अगाडि बढायौं ।

मेलाका लागि नेपालबाट छनोट हुने उद्योगहरुका लागि मापदण्ड के के होलान ?

माथि भनेअनुसार उद्योगहरु कम्तीमा दुई वर्षअघि नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्ने, कम्तीमा पाँच जना नेपाली नागरिकलाई रोजगार दिएको हुनुपर्ने, बालश्रम प्रयोग नभएको हुनुपर्ने, सरकारलाई तिर्नेपर्ने वार्षिक कर तिरेको हुनुपर्ने, आफ्नो फर्म (उद्योग)को आर्थिक कारोवार बैंकमार्फत गरेको हुनुपर्ने जस्ता न्यूनतम शर्तहरु पूरा गरेकोलाई हाम्रो काठमाडौं पुतलीसडकमा रहेको कार्यालयमार्फत मेलामा भाग लिनको निमित्त प्रक्रिया अगाडि बढाउन सकिन्छ । एउटा फर्मबाट न्यूनतम दुईदेखि चार जनासम्म सहभागिता जनाउन पाउनेछन् ।

मेलामा सहभागिता जनाउन खर्च कति लाग्छ ?

मेलामा राखिने स्टल र सहभागिताको आधारमा रकम कति लाग्छ भन्ने निर्धारण हुन्छ । यदि एउटा फर्मबाट १०–१० फुटको स्टल बुकिङ गरेको छ र दुई जनाको सहभागिता हुने हो भने स्टल बुकिङ्ग, आतेजाते हवाई भाडा र पाँच दिनको होटल बसाईलाई साँढे ७ हजार डलर लाग्छ । त्यसैगरी १०–३० फिट को स्टल बुकिङ्ग गरेर ३ जनाका सहभागिता जनाउने हो भने १० हजार ४९९ डलर खर्च पर्न जान्छ ।

मेलामा नेपालबाट कति उद्यमी सहभागी होलान ?

हामीले नेपालबाट करिब ७० प्रतिशत र विश्वभरमा रहेका अरु ३० प्रतिशत जति उद्यमीहरु गरी साँढे ३ सय भन्दा बढी उद्यमीहरुलाई सहभागी गराउने योजना बनाएका छौं । त्यसैअनुसार स्टल दर्ता तथा निर्माण गर्नेछौं ।

मेलाको तयारी कस्तो छ, कसरी अगाडि बढिरहेको छ ?

यो परियोजनाको अमेरिका र नेपालमा दुई वटा कार्यालयहरु सञ्चालनमा छन् । नेपाल कार्यालयबाट यो मेलाको बारेमा बुझ्न आउने उद्यमीहरुलाई मेलाका बारेमा बुझाउने काम भइरहेको छ । त्यसैगरी करिब एक सय ४५ जति फर्महरुले हालसम्म आवेदन शुल्क बुझाएर दर्ता प्रक्रिया सुरु गरेका छन् । अमेरिकामा पनि स्टल निर्माण गर्ने, अमेरिका तथा विश्वभरका व्यवसायीहरुलाई मेलामा उपस्थित हुन आमन्त्रण गर्ने जस्ता कामहरु अगाडि बढेका छन् ।

नेपालबाट व्यवसायीहरुले मेलामा सहभागिता जनाउन कति शुल्क तिर्नुपर्छ ?

मेलामा सहभागिताको लागि आवेदन शुल्कवापत २९९ डलर शुल्क निर्धारण गरिएको छ । कारणबश भिसा नलागेमा व्यवसायीहरुको उक्त शुल्क फिर्ता हुनेछैन् । तर, उनीहरुको स्टल, प्लेन टिकेट र होटल बुकिङ्गको लागि जम्मा गरेको रकम भने एक हप्ताभित्र फिर्ता गरिनेछ ।

यो मेलाबाट नेपाली व्यवसायीलाई के फाइदा हुन्छ ?

पहिलो कुरो त उनीहरुको व्यवसाय विश्व बजारमा पहुँच पुग्नेछ । दोस्रो कुरा उनीहरुले आफ्नो व्यवसाय बढाउनका लागि दाताहरु पनि जुटाउन सक्नेछन् । तेस्रो कुरा आफूले प्रदर्शनीमा लगेको सामान बेचेर पनि मनग्य कमाउन सक्नेछन ।

नेपाललाई के फाइदा हुन्छ ?

पहिला त नेपाली उत्पादन विश्व बजारमा पुगेपछि व्यवसायीहरुले कमाउने विदेशी मुद्रा नेपाल भित्रिनेछ । विश्वमा मेड इन नेपाल लेखेका वस्तुहरुको प्रयोगले नेपालको पहिचानलाई विश्वमा चिनाउनेछ । त्यसैगरी नेपालको स्वाधिन अर्थतन्त्रको लागि यो मेलाले कोसेढुंगाको काम गर्ने विश्वास लिएका छौं ।

विशेषगरी नेपालबाट कस्ता कस्ता उद्योगीहरुले दर्ता गरिसकेका छन् ?

अहिलेसम्म इलामको चियाँ, गुल्मीको कफी, प्युठानको च्युरीको साबुन, सुदूरपश्चिमका जडिबुटीबाट निर्मित हर्बल तेलहरु, जडिबुटीहरु औषधिहरु, दाङको अल्लोका कपडाहरु, काठमाडौं वरीपरी रहेका ग्रार्मेन्ट, कार्पेट, थान्का, पोखराका हस्तकलाका सामग्री उत्पादन गर्ने उद्यमीहरुले दर्ता गरिसकेका छन् । अझैपनि पूर्वमा रहेका अलैची, गुरासको जुस, भोजपुरको खुकुरी, दोलखा र रसुवामा रहेका जडिबुटी र चिज र छुर्पी, सुदूरपश्चिममा रहेका जडिबुटीहरु आउन बाँकी छन् ।

मेलामा नेपाली उद्यमी कसरी जाने ?

सर्वप्रथम उद्यमीहरु मेलाको के हो र कहाँ लाग्दैछ भन्ने बारेमा जानकारी लिन हाम्रो आधिकारिक संस्थासँग समन्वय गर्नुपर्छ । दोस्रोमा चित्त बुझेमा दर्ता प्रक्रियामा सामेल हुने हो । आवश्यक कागजातहरु जम्मा गर्ने, स्टल बुकिङ्ग, टिकट कन्फर्म र होटल कन्फर्मको रिसिप्टसहित हाम्रो संस्थाले उपलब्ध गराउने निम्तोपत्र, भिसा अनुरोधपत्रसहित काठमाडौंमा रहेको नेपाल इन्भेस्ट बैंकमा अन्तरवार्ता बापतको १६० डलर तिरेर अमेरिकी दूतावासमा अन्तरवार्ता मिति तय भएपछि उनीहरु उक्त मितिमा अन्तर्वार्तामा सामेल हुनुपर्छ र भिसा प्राप्तिपछि आफ्नो सामानसहित प्रदर्शनीमा सहभागिता जनाउन अमेरिका जान सक्नेछन् । सेप्टेम्बर २९ सम्म अमेरिका पुग्न सकिनेछ ।

अमेरिकी बजारमा अहिले बिक्ने मूख्य नेपाली उत्पादन के के हुन् ?

विशेषगरी अमेरिकी बजारमा नेपाली चिया, कफी, कार्पेट, पस्मिना, थान्का, हस्तकला जस्ता वस्तुहरुको माग बढी छ ।

मेलामा अमेरिकीहरुले कस्ता वस्तु मन पराउलान ?

जडिबुटीबाट बनेका औषधिहरु, हर्बल तेलहरु, नेपाली आर्टस, हेण्डिक्राफ्ट, गोर्खा खुकुरी, खुकुरी रम, दुग्द्यजन्य चिज र छुर्पी मन पराउनेछन् भन्ने विश्वास लिएका छौं ।

यो मेलाको प्रवद्र्धनमा नेपाल सरकार, उद्यमी, व्यवसायीहरु जस्ता ठूला संस्थाको कस्तो सहयोग पाउनुभएको छ ?

नेपालका प्रधानमन्त्री, मन्त्रीहरु, सम्बन्धि निकायका जिम्मेवार पदाधिकारीहरु हामीले आयोजना गरेको यो प्रयासप्रति निकै नै अनुग्रहित हुनुहुन्छ । हामीलाई उद्यमीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग महासंघ, नेपाल अमेरिक चेम्बर्स अफ कमर्स, नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल एण्ड टुरिजम एसोसियसन (नाहटा)जस्ता संस्थाहरुले आफूहरुलाई प्रवद्र्धकको भूमिका दिएकोमा खुसी व्यक्त गर्दै आआफ्ना एसोसियट सदस्यहरुलाई जानकारी गराउने र प्रदर्शनीमा भाग लिनको निमित्त प्रेरित गरिरहेको पाएका छौं ।

अन्तिममा नेपाली व्यवसायीहरुलाई के भन्नुहुन्छ ?

यो नेपाल र नेपाली व्यवसायीहरुको लागि सुनौलो अवसर हो । यो अवसरलाई सही ढंगबाट प्रयोग गर्नको निमित्त सबैले आआफ्नो क्षेत्रबाट सहयोग पुर्याउन आवश्यक देखिन्छ । सबै व्यवसायीहरु र सञ्चारमाध्यमले यसलाई प्रचारप्रसार गरी बढीभन्दा बढी नेपाली उत्पादनहरु अमेरिका पुगाउन र प्रवद्र्धनमा भुमिका खेल्न आग्रह गर्दछु ।

प्रस्तुतिः कमलराज भट्ट/दैनिक नेपाल

प्रतिक्रिया