अमेरिकामा ग्याँस स्टेसनको काम सोचे जस्तो सजिलो छैन -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार २३ गते १५:३३ मा प्रकाशित

PRAKASH SHRESTHA

अमेरिकामा नेपालीहरु अधिकांशको काम शुरुवाती दिनहरुमा सामान्य कारिन्दा वा श्रमिकको रुपमा नै काम गर्ने हो । अझै शुरुवाती दिनमा अधिकांशको काम भनेकै ग्याँस स्टेशन, ग्रोसरी स्टोरहरु, फास्ट फुड सपहरु, पिज्जा डेलिभरी, क्याव ड्राईभर, व्युटीपार्लर आदीमा नै हो भन्दा अतियुक्ती नहोला । सामान्यतया नेपालीहरुले यस्ता स्टोरहरुमा काम गरिरहेका हुन्छन् जसका मालिकहरु ईन्डियन, पाकिस्तानी, बंगाली, अरवीहरु रहेका हुन्छन् । भाषागतरुपमा हिन्दी वा उर्दू भाषा बोल्ने मालिकहरु भएको ठाउँमा काम गर्दा बोलचाल गर्दा केही सजिलो पनि हुने र उनीहरुले कागज विहिनलाई समेत नगदमा काम दिने र बढी घण्टा काम गर्न समेत दिने भएकोले पनि नेपालीहरु उनीहरुको स्टोरहरुमा काम गर्न धेरै आकर्षित भएको पाईन्छ ।

शुरुमा भाषागत समस्या र के कसरी अमेरिकन उद्यम वा कम्पनीहरुमा कामको लागी आवेदन दिने, योग्यता र अनुभव के कस्तो चाहिने, कहाँ र कसरी सम्पर्क गर्ने भन्ने लगायत विविध समस्याको कारण पनि नेपालबाट अमेरिका आउँदा वित्तिकै यस्तै ग्याँस स्टेशन र ग्रोसरी स्टोरमा काम खोजिन्छ र महिलाहरुलाई प्रायः फास्टफुड सपहरु जस्तै Subway, 7-Eleven store, pizza store, व्युटीपार्लर, बेबिसिट/ केयर गिभर आदीमा काम खोजिन्छ ।

आजको यो आलेख मुख्यतया बढीमात्रमा नेपालबाट अमेरिका आएका युवाहरुले गर्ने कामलाई नै आधार बनाईएको छ अर्थात् ग्याँस स्टेसनको काममा केन्द्रित रहेर अभिव्यक्ती दिन खोजिएको छ । अमेरिकामा ग्याँस स्टेशनमा खासगरि पेट्रोल र डिजेल विक्री गरिन्छ र साथमा खुद्रा स्टोर पनि संचालन गरिएको हुन्छ जसमा दैनिक उपभोग्य विभिन्न सामाग्री देखि कतिपय ठुलो स्केलमा संचालित यस्ता स्टोरमा भने अन्य किनमेलको सामनहरु, फेन्सी सामानहरु र लटरी खेल्ने सुविधा सहित अन्य Money Transfer को सुविधा, Car Wash को सुविधा समेत राखिएको हुन्छ अर्थात् कतिपय अवस्थामा नेपालको A to Z पसलको रुपमा पनि संचालन भएको मान्न सकिन्छ । सामान्य Breakfast का सामग्री चिया, कफी, फास्टफुड देखि अन्य उपभोग्य सामाग्री पिय पदार्थ सोडाको आईटम देखि कतिपय ठाउँमा वियर, वाईनहरु समेत विक्रीको लागी राखिएको हुन्छ ।

ग्याँस स्टेशनहरुमा प्रायः बाहिरबाटै डेविट वा क्रेडिट कार्ड प्रयोग गरेर ग्याँस राखेर जानेहरु बाहेक सामान्यतया त्यही स्टोरको नेराघेराका उपभोक्ताहरु किनमेलको लागी आउने गर्दछन् । खासगरि कतिपय शहरहरुमा यस्ता स्टोरहरु चौविसै घण्टा अर्थात् रातदिन संचालनमा रहेका हुन्छन् । सुरक्षाको हिसावले संवेदेनसिल क्षेत्रमा बुलेट प्रुफ काउन्टर बनाईएको पनि हुन्छ । यस्ता बुलेट प्रुफ काउन्टर हुनेहरुमा प्रायः क्यासियरहरु रहेका ठाउँ भन्दा बाहिर ओपनरुपमा सामानहरु मिलाएर राखिएको हुन्छ । कतिपय ठाउँमा त सामानहरु समेत सबै क्यासियरले नै सर्भ गर्ने गरि बुलेट प्रुफ भित्रै राखिएको हुन्छ । त्यस्तै सामान्य अवस्था रहेको ठाउँमा भने यस्ता स्टोरहरु ओपन काउन्टरयुक्त नै पाईन्छ ।
सुरक्षाको हिसावले अमेरिका कुनैपनि ठाउँ सुरक्षित छैन किनकी यस देशमा संविधानमै व्यवस्था भए अनुसार आफ्नो सुरक्षाको लागी सामान्य कानुनी मान्यताहरु पुरा गरेर बन्दुक, पेस्तोलहरु राख्न पाईन्छ । यसको साथै अवैधरुपमै अपराधीहरुले यस्तो नियमको दुरुपयोग गर्दै Gun हरु साथमा लिएर दिनदाहडै धम्काएर पसलहरुमा रकम लुट्ने गरेका हुन्छन् र कतिपय अवस्थामा सार्वजनिक बस स्टप देखि सडकमा हिडडुल गर्दा समेत यस्तो लुटेराले सर्वसाधारणबाट पैसा र साथमा रहेको मोवाईल र औठी, सिक्री लगायत धनमाल समेत लुट्ने गर्दछन् । भन्नुको मतलव Gun को दुरुपयोग बढि हुने गरेको पाईन्छ, यो एउटा अत्यान्तै ठुलो समस्या अमेरिकामा रहेको छ ।

त्यसैले पनि ग्याँस स्टेसनमा समेत यस्तो खाले सुरक्षाको समस्या त छदैछ, अर्को तर्फ सामान्य स्तरका ग्राहकहरुले पुर्याउने मानसिक तनाव (विशेषगरि अफ्रिकन अमेरिकन ग्राहकहरुबाट ) र स्टोर मालिकबाट हुने मानसिक तनावको वीचमा काम गर्नु पर्ने बाध्यता नेपालाहरुले भोगिरहेका हुन्छन् । त्यस्तै अर्को तर्फ नेपालमा रहेका घरपरिवारको अपेक्षाहरु पुरा गर्नु पर्ने जटिलताहरुले समेत हरदम मामसिक तनाव सृजना गरिरहन्छन् ।

कामको सिलसिलामा हुने सानो सानो कमजोरीहरुमा पनि ग्राहकले गर्ने गुनासो देखि स्टोरको मालिकले खाली(हरपल) काममा जतिवेला पनि घोटाउने, अनेक कमजोरी र खोटहरु मात्र लगाउने, थोरै पारिश्रमिकमा काम गराउने, भनेको वेलामा छुट्टी नदिने, कामको समय अलावा समेत स्टोरको कामको बारेमा फोन गरेर हैरान पार्ने देखि विविध रुपमा मानसिकरुपमा तनाव सृजना गरिने हुन्छ भने कामको कुनै ठेगना समेत रहदैन कतिवेला फायर(काम बाट निकाल्ने) गर्ने हो पत्तै हुँदैन । साहुको मन परेन भने विभिन्न कमजोरीहरु यत्तिकै देखाएर पनि कामबाट निकाल्ने गरिन्छ । पुर्व जानकारी विनानै कामबाट निकाल्ने कुरा सामान्य नै हुन्छ यस्ता ग्याँस स्टेसनहरुमा तर अमेरिकनहरुबाट संचालित यस्ता स्टोरहरुमा भने एक दुई हप्ताको समय दिएर पहिले नै फायर गर्ने बारे जानकारी दिईन्छ र त्यसो गर्नुको कारणहरु पनि स्पस्ट अभगत गराईन्छ ।

विशेष गरि ईन्डियन, पाकिस्तानीहरुले संचालन गरेका ग्याँस स्टेसनहरुमा आफ्नै किसिमको नियम उनीहरुले चलनचल्तीका लागी मौखिकरुपमा बनाएर कामदारहरु भर्ना गर्ने र कामबाट निष्कासन गर्ने पनि गर्दछन् । नेपालीहरुको आफ्नै बाध्यताहरु छन् त्यस्ले गर्दा पनि तिनै ईन्डियन, पाकिस्तानी साहुहरुले संचालन गरेको ग्याँस स्टेशनहरुमा उनीहरुले भने अनुसारको तरिकाले न्युनतम तलवमानमा काम गर्नु पर्ने हुन्छ ।

नेपालीहरुलाई बढी समय काम गर्नु पर्ने र कतिपय विद्यार्थीहरु एवं कागजात नभएका व्यक्तीहरुले समेत कानुनलाई नाघेर अवैधरुपमै हप्तामा धेरै घण्टा नगदमै काम गर्नु पर्ने बाध्यताले गर्दा पनि यस्ता धेरै कुराहरुमा संझौता गर्नु पर्ने हुन्छ । अझै विद्यार्थीहरुलाई महंगो कलेज शुल्क तिर्न कानुनी तवरबाट काम गर्न पाईने समय(घण्टा ) मात्र काम गरेर खान बस्न समेत नपुग्ने हुँदा पनि न्युनतम पारिश्रमिकमै धेरै घण्टा काम गर्नु पर्ने बाध्यता हुन्छ भने अवैधरुपमै तल्लो बाटो (मेक्सिको) भएर आउनेहरु समेतले नेपालबाट आउँदा लागेको खर्च उठाउन समेत थोरै पारिश्रमिक प्रति घण्टा लिएर पनि धेरै घण्टा काम गरेर भएपनि धेरै पैसा कमाउन खोजिरहेका हुन्छन् । यसले गर्दा पनि यस्ता स्टोरहरुमा साहुको गाली, गुनासो, असहजता सबै सहेर पनि काम गर्नु पर्ने बाध्यता छ ।

यस्ता ग्याँस स्टेसनमा काम गर्दा उपभोक्ताहरुको गाली र साहुको गाली सहन नसक्नेहरुले काम गरेर खान मुस्किल पर्छ । यस्ता स्टोरहरुमा काम गर्ने व्यक्तीको आफ्नो कुनै कमजोरी बेगर पनि अनाहकमा कतिपय अवस्थामा साहु र मेनेजरको गाली सहनु पर्छ । कतिपय बेला भने आफु काम प्रति दक्ष नभएर छिटो छरितो काम गर्न नसकेर, काम प्रति लगाव नभएका कारण वा काममा लापार्वाही गरेको कारण पनि ग्राहक र साहु महाजनबाट यस्ता मानसिक तनाव खेप्नु पर्छ ।
यस्तो मानसिक तनावबाट बच्न कामलाई राम्रो सँग सम्पादन गर्ने, ग्राहकहरुसँग हाँसेरै मिठो बोलेर काम गर्ने, ग्राहकसँग आवेसमा आएर नरिसाउने, ग्राहकको मुड हेरेर सोही अनुसार व्यवहार प्रदर्शित गर्ने त्यस्तै साहुलाई पनि बोली र व्यवहारले आफु तिर आकर्षित गर्न खोज्नु पर्छ । अर्को तर्फ व्यक्तिगत सुरक्षामा सधै सजग रहने र कहिकतै लुटेराले लुट्न आउँदा के कसरी बच्ने, के कसरी उनीहरुलाई व्यवहार गर्ने त्यस बारे समेत पुर्व जानकारी र अभिमुखीकरण तालिम लिनु पर्ने हुन्छ यसो गरेमा भैपरि आउने सुरक्षा सम्बन्धी जोखिमबाट सुरक्षित हुन सकिन्छ ।

यस्ता ग्याँस स्टेसनहरुमा रातमा काम गर्दा विशेष ध्यान समेत दिनु पर्ने हुन्छ । प्रायः रातमा काम गर्नेले कुलर भर्ने देखि स्टोरको सरसफाई गर्ने, सामानहरु मिलाउने, सेल्स रिपोर्टहरु वा अभिलेख राख्ने, सामानको अर्डर बनाउने देखि कतिपय स्टोरमा सिगरेट, फोनकार्ड लगायत केही मुल्यवान सामानहरु समेत गणना गरेर स्टकको रिपोर्ट तयार गर्नु पर्ने पनि हुन्छ । त्यस्तै सामान्यतया रातमा आउने ग्राहकहरु असामान्य खाले हुन्छन् जस्तो की लागुऔषधी सेवन गरेर, रक्सी खाएर मातेका ग्राहकहरु आउने गर्दछन् यसले गर्दा उनीहरुसँग व्यवहार गर्दा निकै सतर्क भएर गर्नु पर्ने हुन्छ । उनीहरु बढी आक्रमक र रिसाह व्यवहार देखाउने हुँदा उनीहरुसँग सजक रहेर उत्तेजना वा आवेसमा नआईकन एक दुई वचन गाली सहेर पनि सामान छिटोछरितो बिक्री गर्नु पर्ने हुन्छ अर्थात् ग्राहकसँग अनावस्यक बादविवाद गरेर झै-झगडाको अवस्था सृजना गर्नु राम्रो हुँदैन किनकी असामान्य अवस्थामा रहेका ग्राहकहरुबाट नराम्रो घटनाहरु पनि घटाउन सक्ने सम्भावना रहन्छ ।

अर्को तर्फ ग्राहककै गल्ती भएपनि कतिपय अवस्थामा पुलिस एवं सुरक्षा संयन्त्र समेत ग्राहककै फेवरमा काम गर्ने गरेको देखिन्छ किनकी सामान्य व्यवसायीक मान्यतामा ” Customer is always Right” भन्ने गरिन्छ त्यसले पनि ग्राहकको माग, रुची, चाहना, आवस्यकता र प्राथमिकताहरुलाई ध्यान दिएर वस्तु तथा सेवा व्यवसायिक संस्थाहरुले उपलव्ध गराउनु पर्छ भनिन्छ यसलाई समेत मध्यनजर राखेर यस्ता स्टोरमा काम गर्ने क्यासियर/कारिन्दाले काम गर्नु पर्ने हुन्छ ।

त्यस्तै स्टोरमा आवस्यक सेवा प्रदान गर्दा समेत चातुर्यतापुर्वक काम गर्नु पर्ने हुन्छ । जस्तो की ATM मेसिनमा पैसा राख्ने देखि अन्य सरसामान मिलाउँदा समेत सतर्कता अपनाएर काम गर्नु पर्दछ किनकी त्यस्तो अवस्थामा लुटेराहरुको जम्काभेटमा पर्न सकिन्छ । हुनत: हर बखत अलर्ट भएर यस्ता स्टोरहरुमा काम गर्नु पर्ने हुन्छ तापनि विशेष गरि रजिस्टर वा काउण्टरमा काम गर्दा र काउण्टर भित्र जाँदा वा बाहिर निस्कदा अल्ली चनाखो भएर काम गर्नु पर्छ किनकी यस्तै घाट कुरेर लुटेराहरुले मौकाको फाईदा उठाएका हुन्छन् । तसर्थ काममा सधै सजग र जिम्मेवार रहनु पर्ने आवस्यक हुन्छ ।

अझै ग्याँस स्टेसनहरुमा व्यापार(बिक्री) कम भएपनि किन, कसरी भयो भनेर साहु र मेनेजरबाट बढि प्रश्नहरु गर्ने, कामहरु राम्रोसँग नभएको भनि गुनासो मात्रै गर्ने प्रायः देखिन्छ । यसको विपरित राम्रो व्यापार भयो, भनेको काम सही ढंगबाट गरे पनि खासै प्रसंसा नगर्ने, पारिश्रमिक बढाउन अनुरोध गर्दा विभिन्न खोटहरु लगाएर कामबाटै निकाल्न खोज्ने बढि देखिन्छ । कतिपय मनकारी साहुहरुले भने कामको मुल्यांकन गरेर पारिश्रमिक बढाई दिने र विरामी परि छुट्टी बस्दा समेत केही पारिश्रमिक दिने पनि गरेको पाईन्छ तर कतिपयले पारिश्रमिक बढाउनु भन्दा नयाँ कामदार राखेर पुरानोलाई कामबाटै निकाल्ने गरेको पनि पाईन्छ ।

एक हिसाबले ईन्डियन र पाकिस्तानी साहुहरुमा एउटा साझा विस्वास के छ भने नेपालीहरुलाई जसरी पनि काममा दलाउन वा घोटाउन सकिन्छ, कामको घण्टा बढि दिएपछि कम पारिश्रमिक दिए पनि हुन्छ, ओभरटाईमको पनि रेगुलर आवर बेसमै पेमेन्ट गरे हुन्छ आदी जस्ता कुराहरुमा उनीहरुले पहिल्यै देखिनै माईण्ड सेट गरेर बसेका हन्छन् । त्यस्तै कतिपय नेपालीहरुले साहुहरुकै अति चाकडी गरेर आफ्नै सहकर्मी नेपाली दाजु भाईहरुलाई नचाहिने गल्ती देखाउने र पारिश्रमिक पनि कम दिए हुन्छ भनेर साहुलाई कुरा लगाउने गरेको पनि पाईन्छ जसले गर्दा पनि अमेरिकामा नेपालीहरुले यस्ता ईन्डियन वा पाकिस्तानी साहुहरुबाट आर्थिक एवं मानसिक तनावहरु सहेर बस्नु पर्ने बाध्यता छ ।

तसर्थ नेपालीहरुले आपसमा मिलेर आपसी हितमा लाग्नु पर्ने हुन्छ । न्युनतम पारिश्रमिक वृद्धि देखि कामको सुरक्षा जस्ता कुराहरुमा साझा मान्यता र अवधारणा बनाएर यस्ता स्टोरहरुमा काम गर्नु पर्छ र सकभर त नेपालीहरुले नै आपसमा मिलेर यस्ता स्टोरहरु संचालन गरेर नेपालीहरुलाईनै रोजगारी दिनु पर्छ । साथै सधै कामदार भएर स्टोरहरुमा काम गर्नु भन्दा आफै व्यवसायको मालिक हुन तर्फ लाग्नु पर्छ । त्यसैले अव आउँदा दिनहरुमा नेपालीहरुको सामुहिक हितका लागी भनि कार्यरत विभिन्न सामाजिक संघ संस्थाहरुले समेत नयाँ आउने नेपालीहरुलाई यस्ता स्टोरमा काम गर्नका लागी योग्य बनाउन र सुरक्षा सम्बन्धी सतर्कता अपनाउन आवस्यक अभिमुखीकरण तालिम दिने व्यवस्था गर्न तर्फ आवस्यक कार्यक्रम अगाडी बढाउन तर्फ ध्यान दिनु पर्दछ ।

यस्ता ग्याँस स्टेसन लगायत विभिन्न स्टोरहरुमा सामान्य सुरक्षा सम्बन्धी सतर्कता नअपनाएकै कारण अनाहकमा धेरै नेपाली दाजु भाईहरुले ज्यान गुमाउनु परेको घटनाहरु पनि हाम्रा सामु भएकोले आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहोरिउन भन्नका लागी समेत सबै सामाजिक संघ संस्थाहरुले यस तर्फ ध्यान दिनु पर्छ र अमेरिकामा आएर पहिला देखि बसेका पुराना व्यक्तीहरुले समेत नयाँ आउनेहरुलाई आवस्यक जानकारीहरु दिएर आवस्यक सहयोग पुर्याउनु पर्दछ । त्यस्तै यस्ता विभिन्न स्टोरहरुमा काम गर्नेहरुको वीचमा एकआपसमा आफ्ना कामका बारे सुचना आदान प्रदान गर्न र आवस्यक हक हित सम्बन्धमा के कसरी अगाडी बढ्ने, कामको दौडानमा देखिने विभिन्न Conflict हरुलाई कसरी समाधान गर्ने आदी कुराहरु बारे सामुहिकरुपमा अगाडी बढ्न विभिन्न सिटीहरुमा काम गर्ने नेपालीहरु वीच अनौपचारिक वा औपचारिक संगठन खोलेर काम गर्न सकेमा समेत यसले सबैको हित गर्न सक्ने देखिन्छ ।

यस्ता संगठन मार्फत नयाँ काम गर्न आउने व्यक्तीलाई काम गर्ने स्टोरहरुमा कुन काम के, कसरी गर्ने देखि काम गर्दा अपनाउनु पर्ने सजकता बारे जानकारी दिने साथै कही कतै काम खाली भएमा आवस्यक जानकारी नेपाली समुदाय सम्म पुर्याउने देखि पारिश्रमिक वृद्धी लगायत स्वास्थ्य विमा र कामदारहरुले पाउने सहुलियत बारे आ-आफुले काम गर्ने सबै स्टोरहरुमा आवस्यक कुराहरु साहु वा मेनेजर समक्ष राख्न सक्ने सक्षम व्यक्ती बनाउन समेत यस्ता संगठनले काम गर्न सक्छन् । अत: आम नेपाली समुदायहरुका व्यक्तीहरुले परम्परागत रुपमै ग्याँस स्टेसनहरुमा काम गर्ने शैली भन्दा केही पृथक तवरबाट सम्मानजनक रुपमा काम गर्ने हैसियतमा नेपालीहरुलाई पुर्याउन आवस्यक कदम चाल्न वा आफुहरुमा परिवर्तन ल्याउन नयाँ तरिकाले प्रस्तुत हुनु आवस्यक छ ।

विशेषगरि यस्ता ग्याँस स्टेसनमा काम गर्ने नेपालीहरुलाई अन्य स्टोर र कम्पनी वा बैक, विक्तिय लगायतका विशेष क्षेत्रमा काम गर्नेहरुले त्यति धेरै सम्मानजनक पेशाको रुपमा नहेर्ने भएकोले पनि यसलाई सम्मानित पेशाको रुपमा हेर्ने अवस्था सृजना गर्न र त्यस्तो मानसिकतालाई त्याग्ने वातावरण सृजना गर्न समेत यस्ता स्टोरमा काम गर्ने सम्पुर्ण व्यक्तीहरु संगठित भएर आफुहरुले काम गर्ने पेशालाई मर्यादित बनाउन तर्फ लाग्नु पर्ने देखिन्छ किनकी अमेरिकामा सबै कामलाई समान रुपमा हेरिन्छ भन्ने सैदान्तिक मान्यता रहेतापनि व्यवहारिक रुपमानै समान रुपमा हेर्ने अवस्था कतिपय स्थितीमा देखिदैन किनकी कतिपय कामलाई हामी आफैले तल्लो स्तरको संझिरहेका हुन्छौ र सोही अनुरुपनै व्यवहार देखाउँछौ । त्यसैले अव हामी नेपालीहरुमा संकिर्ण सोच बाट माथी उठेर अमेरिकाकै रिती स्थिती अनुरुप चल्न पनि सिक्नु जरुरी छ ।

प्रतिक्रिया