हिम्मत भए युवाहरुलाई प्रधानमन्त्रीको नेतृत्व गर्न देउ-प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार २८ गते २१:३६ मा प्रकाशित

prakash 1

युवा शक्ती देशको विकाश र परिवर्तनको सम्वाहक हो भन्ने गरिन्छ । देशमा उपलव्ध प्राकृतिक सम्पदालाई समुचित उपयोग गर्न युवापंक्तीनै सक्रिय मानवसंसाधन हो । त्यसैले पनि कतिपय देश जहाँ युवाहरुको जनसंख्या ज्यादा छ त्यहाँ विकाशले तिव्र गति लिएको पाईन्छ ।

छिमेकी देश भारत र चीनमा तिव्र गतिमा छिट्टै विकाश हुनुमा पनि युवा जनशक्ती प्रचुर मात्रामा उपलव्ध हुनु र त्यसको समुचित व्यवस्थापन हुन सक्नु नै हो भन्न सकिन्छ । हुन त नेपालमा समेत १६ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको जनसंख्या अधिक रहेको छ तर विडम्वना मान्नु पर्छ हरेक दिन युवाहरु भारत लगायत खाडी मुलुक र अन्य मुलुकहरुमा रोजीरोटीको लागी गईरहेका छन् ।

हरेक दिन १५ सय देखि २ हजारको हाराहारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरियो पासपोर्टमा भिसा ठोकेर काँधमा परिवारको भरणपोषण लगायतको अनेकन जिम्मेवारी बोकेर बाहिरीएका छन् । गर्भका साथ भन्ने वा दुखका साथ भन्ने देशको अर्थतन्त्र प्रत्यक्ष वा अप्रत्यक्षरुपमा तिनै युवाहरुले पठाएको विप्रेषणमा चलेको छ ।
देशमा भएको हरेक राजनितिक परिवर्तनमा ज्यानको बाजी थापेर लडेका युवाहरुले देश भित्रै रोजगारीको सम्भावना नदेख्दा बाध्य भएर विदेशिएका छन् । देशमा विद्यमान राजनैतिक दलहरुले विगतमा जनयुद्धको नाममा होस् वा जनआन्दोलनको नाममा होस् युवाहरुलाई राजनैतिक परिवर्तनका लागी अग्रपंक्तीमा राखेर परिवर्तन सम्भव बनाए । निरंकुश तानाशाहाहरुले शासन सत्ताबाट घुडा टेके तथापी देशको राज्यसत्ताको बागडोर उमेरले ६० बर्ष काटेका बुढा नेताहरुले पटक पटक विभिन्न राजनितिक दलबाट सम्हाल्ने काम गरे तर उनीहरुले भाषण र नारामा युवाहरुलाई रोजगारी दिई देशमै सम्मानजनक ढंगमा बाँच्ने अवसर दिने कुरा गरे तर त्यो केवल दिवा सपना मात्र भयो त्यसलाई व्यवहारमा कहिल्यै लागु गर्न खोजिएन ।

२०४६ साल पछिको परिवर्तन पछि धेरै पटक सरकार बदलियो, नेतृत्व गर्ने राजनैतिक दल र व्यक्ती बदलिए तर जनताको आधारभुत समस्यालाई समाधान गर्ने, उनीहरुको जीवनस्तर सुधार्ने, आर्थिक विकासको मार्ग अवलम्वन गर्ने सकारात्मक प्रयासहरु हुन सकेन । कतिपय नेतृत्वले चलिरहेको सार्वजनिक उद्योगधन्दा समेत कौडीको भाउमा बेचेर उद्योगधन्दा नै बन्द गराउने समेत काम गरे साथै निजी उद्यमहरु समेत राजनितिक अस्थिरता एवं लगानीको असुरक्षाको कारण गतिशिल रुपमा अगाडी बढ्न सकेनन् ।

यसरी देशलाई केवल राजनितिक परिवर्तनको नाममा लोकतन्त्र देखि संघिय गणतन्त्र समेतमा आईपुग्दा खासगरि युवाहरुलाई सकेसम्म राजनैतिक दल र सरकारी उच्च तहमा नेतृत्व गर्ने भुमिकाबाट बञ्चित गरियो । आजका युवाहरु हरेक क्षेत्रमा सक्षम हुँदाहुँदै देश विदेशका आर्थिक, सामाजिक एवं राजनितिक विकास बारे जानकार र विज्ञ हुँदा समेत उनीहरुलाई देशको कार्यकारी प्रमुख लगायतका जिम्मेवारी दिन खुट्टा कमाएको अवस्था देखिन्छ जुन अत्यान्त दुखद पक्ष हो ।

कतिपय युवाहरुले केही अवसर पाएर सांसद देखि विभिन्न संसदीय समितीहरुमा रहेर समेत कुशलढंगबाट कार्यसम्पादन गरिरहेको देखिएको छ । यसले गर्दा पनि अव हरेक पार्टीले युवाहरुलाई नेतृत्वदायी भुमिकामा जिम्मेवारी दिनु पर्छ । वास्तवमा युवाहरुको बलिदानबाट विभिन्न पार्टीका नेताहरु सरकारको नेतृत्व गरेर आफ्नो हैसियत देखाई सके । खासगरि उनीहरु सत्तामा पुगेर आफन्ता र आफ्नो आर्थिक हैसियत उच्च बनाउँदै करोडौको आलिसान महलमा बस्न योग्य र विदेशी बहुराष्ट्रीय कम्पनीमा उल्लेखनिय लगानी गर्न सक्ने हैसियत बनाए । जनतालाई आश्वासनको लालीपप खुवाईनै रहे ।

अत: अवका दिनमा परिवर्तित राजनितिक निकास दिन युवाहरु मध्येबाट योग्य व्यक्तीलाई देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बनाईनु पर्छ । यसका लागी हरेक दलले सामुहिकरुपमा प्रतिवद्धता जनाएर साथ र सहयोग गर्नु पर्ने हुन्छ । आजका प्रत्येक युवाहरुले आफु संलग्न राजनितिक दलमा आवाज उठाउनु पर्छ र अन्य जो राजनैतिक दलमा आवद्ध नरहेका युवाहरु लगायत सबै व्यक्तीहरुले समेत आ-आफ्नो स्थानबाट एकसाथ आवाज बुलन्द पार्नु पर्छ ।
यसरी जसले राजनितिक परिवर्तनका लागु मरिमेटेर ज्यानको प्रवाह नगरि निरन्तर लाग्यो त्यो वर्ग वा युवालाई एकपटक महत्वपुर्ण जिम्मेवारी दिएर काम गर्न दिने हो भने मात्र त्यसबेला मात्र युवाहरुको उपयोग देश विकासमा उपयुक्त ढंगबाट हुन सक्छ र युवाहरुमा देश भित्रै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास एवं भरोसामा पनि अभिवृद्धि हुन सक्छ ।

विकसित देश अमेरिका, बेलायत, क्यानडामा समेत युवाहरुको नेतृत्वमा नै कुशल ढंगबाट सरकारहरु संचालन भएको हामी सबैले देखेकै छौ । यसले पनि के कुरालाई संकेत गर्छ भने अवसर पाए युवाहरुले जिम्मेवारी लिएर देखाउन सक्छन् । तसर्थ पनि अहिलेको नयाँ सरकारको नेतृत्व युवाहरुबाट हुनु पर्छ । यसको लागी तमाम युवाहरु र सर्वसाधारणबाट आवाज उठाउनु पर्छ ।

विभिन्न राजनितिक, सामाजिक फोरम, सभा, सम्मेलन र सामाजिक संजालहरुमा युवाले नेतृत्व लिन तयार छौ भन्ने तर परेको बेला आवाज सम्बन्धित ठाउँमा पुर्याउन नसक्ने पनि देखिएको छ । त्यस्तै युवाहरुलाई नेतृत्व दिनु पर्छ भनि बाहिर कुर्लने तर राती राती नेताहरुको निवासस्थानमा भेटेर बुढाहरुलाई नै नेतृत्व लिन प्रोत्साहित गर्ने काम पनि भएको पाईन्छ । यस्तो भयो भने कहिल्यै पनि युवापंक्तीमा नेतृत्व हस्तान्तरण पनि हुँदैन र रिटायर्ड लाईफमा पुगेका नेताहरुबाट देशले उपयुक्त गति पनि लिन सक्दैन ।

अन्तमा सबै राजनैतिक नेताहरु र राजनैतिक दलहरुलाई सर्वसाधरणहरु देखि सबै तह र तप्काबाट युवाहरुलाई देशको प्रधानमन्त्री जस्तो जिम्मेवारी पद सम्हाल्ने अवसर दिदै अधिकांश युवाहरु सम्मिलित मन्त्रीमण्डल गठन गर्ने अवसर दिएर बुढा नेताहरु संरक्षकको रुपमा रहेर काम गरिदिन अनुरोध र दवाव दिनको लागी एक कदम अगाडी बढ्नको लागी हातमा हात र काँधमा काँध मिलाउन तयार हुनु आवस्यक छ ।

प्रतिक्रिया