अमेरिकामा नेपाली श्रमिकको प्रवेशको सम्भावना

इनेप्लिज २०७३ साउन ९ गते १३:३७ मा प्रकाशित

sanjay

संसारको शक्तिशाली राष्ट्र अमेरिकामा हजारौँ नेपाली पुगेका छन् । अमेरिका त विश्वको सपना नै हुने गरेको छ । सामान्यतया मानिसल मरेपछि स्वर्ग जाने कल्पना गर्दछन् भने जीवितमा अमेरिका पुग्ने चाहना राख्दछन् । अमेरिका नेपालको चाहनामात्र नहोला, विश्वको चाहना नै हुनुपर्छ । अमेरिकाप्रतिको आकर्षण विश्वव्यापी रहेको छ । संसारभरबाट मानिस जीवनमा कम्तीमा एकचोटि भए पनि अमेरिका पुग्ने कल्पना गर्दछन् । विश्वको आकर्षणको केन्द्रमा नेपालीहरु विभिन्न माध्यमले पुगिरहेका छन् । इडिभीमार्फत थुप्रै नेपालीहरु अमेरिकी नागरिक नै बनेका छन् । संसारको सर्वोच्च शक्तिशाली देश अमेरिकामा आफ्नो संस्कृति र भाषासहित स्थायी नागरिक बन्ने शौभाग्य प्राप्त गर्ने नेपालीहरु यसकारण पनि धन्य छन् कि त्यहाँ पुगेपछि आफूलाई विश्वकै शक्तिशाली देशको नागरिक भएकोमा गर्व गर्दछन् ।
इडिभीभन्दा बाहेकका माध्यमले पनि नेपालीहरु अमेरिका पुगिरहेका छन् ।

अध्ययन भिषा लिएर अमेरिका पुगेका नेपाली नागरिकहरु पनि छन् । कतिपय त अध्ययन भिषामा अमेरिका पुग्ने र त्यहीँको नागरिक हुने प्रक्रियामा लाग्ने गरेका छन् । केही पर्यटक भिषामा अमेरिका पुगेर त्यत्तै हराउने गरेका पनि छन् । तर सबैभन्दा बढी आधिकारिकरुपमा अमेरिका पुगेको माध्यम भने इडिभी नै हुनुपर्छ । कानुनी प्रक्रिया पुरा गरेर अमेरिकाको ग्रीन कार्ड प्राप्त गर्ने नेपालीहरु अहिले पनि भाग्यमानी नै ठान्छन् । अमेरिकाप्रति नेपालीहरुको आकर्षण दिनप्रतिदिन बढ्दो छ । यसको उदाहरणको रुपमा सजिलै के देख्न सकिन्छ भने इडिभी भर्नेहरुको ताँती कम भएको छैन । हरेक सहर तथा गाउँबाट इडिभी भरी आफूलाई अमेरिकी नागरिक बनाउने लाइनमा उभ्याएका हुन्छन् । त्यो चाहना र इच्छाको लामो लाइन कहिल्यै कम हुन सकेको छैन ।

नेपालीहरु श्रम गर्न अर्थात रोजगारको लागि अर्थात कामको खोजीमा संसारका धेरै देशमा जाने गरेका छन् । मुख्य रुपमा मलेसिया, कतार, दुबई, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र भारतमा श्रमिकको रुपमा नेपालीहरु हजारौँको संख्यामा पुगेका छन् । पछिल्लो केही वर्षदेखि दक्षिण कोरिया श्रमिकको लागि मुख्य गन्तव्य बनेको छ । नेपालीहरु इमानदार र परिश्रमी कामदारको रुपमा आफूलाई विश्वका विभिन्न देशमा चिनाइरहेका छन् । आफ्नो देशमा रोजगारीको निकै सीमित क्षेत्र रहेको तथा हरेक वर्ष श्रम बजारमा नेपालीहरु पुग्ने गरेको तुलनामा रोजगारीको माग नेपालमा निकै कम हुने गरेको छ । यसैकारण वैध रुपमा मात्र नभई अवैध रुपमा समेत नेपाली विभिन्न देशमा जाने गरेका छन् । आज देशको कुनै पनि गाउँ बाँकी छैन जहाँका मानिस कुनै न कुनै देशमा कामको खोजीमा नगएका नहोऊन् । संसारका विभिन्न देशमा इमानदार श्रमिकको रुपमा काम गरिरहेका नेपालीका लागि थप अन्य देशहरुले पनि रोजगारीका लागि सकारात्मक रुपमा लिएको पनि बुझिएको छ ।

क्यानडा र अस्टे«ेलिया पनि नेपालीको आकर्षण रहेका देश हुन् । युके पनि निकै आकर्षणको केन्द्रकै रुपमा रहेको छ । यी दुवै देशमा नेपालीहरु स्थायी बसोबासका लागि जान पनि निकै उत्सुक देखिएका छन् । अध्ययनका लागि पनि यी दुई देशमा नेपालीहरुको चाहना धेरै रहेको पाइएको छ । तुलनात्मक रुपमा नजिक भएको अस्टे«ेलियामा बसोबास गर्न र रोजगारी पाउन सजिलो रहेको त्यहाँ पुग्नेहरुले बताउने गरेका छन् । त्यहाँ पुगेर नेपालीहरुले राम्रो गरिरहेका छन् । स्थायी बसोबासको अनुमति पाएकाहरुले समेत सबै दृष्टिले अस्टेलियालाई नेपालीको लागि उपयुक्त बताइरहेका छन् । योग्यता अनुसारको काम र परिश्रम अनुसारको दाम पाइने अस्ट्रेलियालाई नेपालीले गन्तव्य बनाउनुमा त्यहाँ शान्ति, सुव्यवस्था, इमानदारीपूर्वक काम गर्ने अवसर तथा कामअनुसारको सम्मान पाउने अवसर भएको ठान्दछन् । अहिलेसम्म यीनै कारणले पनि नेपालीका लागि अस्ट्रेलिया एउटा सुन्दर आकर्षण रहिआएको छ ।
विश्वका दर्जनौँ देशमा कामको खोजीमा पुगेका नेपालीहरुले घरायसी कामदेखि उद्योगहरुमा श्रमिकको काम गर्ने गर्दछन् । नेपालीहरुले गर्ने अर्को महत्वपूर्ण काम भने सुरक्षाको हो । प्रथम तथा द्वितीय विश्व युद्धमा नेपालीहरुले देखाएको वीरताको प्रतिफल विश्व समुदायले अहिलेसम्म नेपालीलाई इमानदार सुरक्षाकर्मीको रुपमा स्थान दिएका छन् । संसारका धेरै देशले नेपालीलाई नेपालीकै नाउँमा वा गोर्खालीको नाउँमा सुरक्षाको जिम्मेवारी दिएको देखिएको छ । व्यक्तिगत, औद्योगिक तथा सामूहिक सुरक्षामा नेपालीले विश्वमा नाम कमाएका छन् । नेपालीले दिएको सुरक्षा भरपर्दो र विश्वसनीय पनि मानिएको छ । औद्योगिक र घरायसी काममा पनि नेपालीको लगन, परिश्रम र इमानदारीले राम्रै प्रशंसा पाएका छन् । एउटा गरिब देशका श्रमिकले सामान्य तथा अप्राविधिक क्षेत्रको श्रम बजारमा प्रतिष्ठा कमाउनुलाई राम्रो मान्न सकिन्छ र मानिएको छ ।

यही पृष्ठभूमिमा नेपाली श्रमिकलाई अमेरिकामा काम दिलाउन पहल सुरु भएको छ । नेपाली कामदारहरुले घरायसी तथा औद्योगिक क्षेत्रमा जुन तदारुकता तथा इमानदारीका साथ लगनपूर्वक फलदायी काम गरेर संसारका विभिन्न देशको मन जित्न सफल भएको देखिएको छ, यसैलाई दृष्टान्तार्थ प्रस्तुत गरी अमेरिकामा पनि घरायसी र औद्योगिक क्षेत्रमा प्राविधिक र अप्राविधिक श्रमिक कसरी पु¥याउन सकिन्छ भनेर एउटा सकारात्मक छलफलको सुरुआत भएको छ । अहिलेसम्म यस विषयमा खासै सम्वाद नै अगाडि नबढेको अवस्थामा व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति माननीय प्रभु साह र अमेरिकी स्टेट डिपार्टमेन्टका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने असिस्टेन्ट सेक्रेटरी निशा देशाइ बिसवालसँग स्टेट डिपार्टमेन्टमा पहिलो चरणको सम्वाद हालै सम्पन्न भएको छ । साहले विसवालसामु विभिन्न देशमा नेपाली सुरक्षा गार्डले प्रतिबद्ध तथा इमानदारितासाथ काम गरिरहेकोले नेपाली युवाहरुलाई अमेरिकी श्रम बजारमा पनि प्रवेश सुविधा भएको खण्डमा नेपाललाई सहयोग हुने भनी वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासले २४ असार २०७२ का दिन औपचारिक प्रेस विज्ञप्ति नै प्रकाशित गरेको छ । यही कुरा साहले क्यानडा सरकारसमक्ष पनि राखेका छन् । क्यानडाले पनि सकारात्मक रुपमा लिएको र अमेरिकामा पनि यसलाई सकारात्मक रुपमा लिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले एउटा सकारात्मक सम्वादको थालनी गरेर संसारको सर्वोच्च शक्तिशाली राष्ट्र तथा संसारको आकर्षणको केन्द्रको रुपमा रहेको अमेरिकामा नेपाली कामदारको प्रवेशको सम्भावनाको ढोका खोलेको छ । यस सम्भावनालाई वास्तविकतामा बदल्न निरन्तर पहलको आवश्यकता रहेको छ । कतिपय नेपालीहरु अमेरिका र क्यानडा अवैध बाटो अपनाएर पनि जाने गरेको नसुनिएको होइन । अवैध बाटोबाट पनि कोही अमेरिका पुगिरहेका छन् भने त्यसलाई रोक्नु जरुरी छ । तर अमेरिका त साधारण मानिसको लागि समेत स्वर्गभन्दा बढी आकर्षक बनिसकेको छ । कतिपयले त आफ्नो जागिरसमेत अमेरिका बसाइँको लागि त्यागेका छन् । विगतमा अमेरिकाको ग्रिन कार्ड लिएका कर्मचारीहरुको कुरो पनि निकै चलेको थियो । सामान्य श्रमिकदेखि विशिष्ट शिक्षितसम्मको एकैनाशको वा एकै किसिमको आकर्षण अमेरिकामा रहेको र अमेरिकाले विभिन्न कानुनी प्रक्रिया पु¥याएर बसोबासको अनुमति र शिक्षाको लागि अनुमति दिइरहेको अवस्थामा अब श्रमको अनुमति पाउन पनि पहल गर्ने वेला भइसकेको छ । अमेरिकाले नेपालीलाई आफ्नो श्रम बजारमा अनुमति दिएमा नेपालको लागि र नेपालीको लागि धेरै दृष्टिकोणले महत्वपूर्ण हुने देखिन्छ । अमेरिका आफैँमा राजनीतिक रुपमा स्थिर, लोकतन्त्र समृद्ध भइसकेको, शिक्षा र चेतनामा विश्वको अग्रणी रहेको, सर्वसाधारण नागरिकले आफू स्वतन्त्रताको अनुभूति गर्दै अर्काको स्वतन्त्रताको इज्जत गर्ने गरेको, विकासमा निकै अगाडि बढिसकेको लगायतका जीवन र जगतका अन्य क्षेत्रहरुबाट नेपालीले धेरै कुरो सिकेर आफूलाई परिवर्तन गर्न सक्छन् । इडिभीमार्फत अमेरिका पुगेका नेपालीहरु त्यहीको नागरिक भइसकेका हुनाले नेपालको बारेमा सोच्ने मात्रै हुन्छ भने श्रमिकको रुपमा काम गर्न गएपछि निश्चित अवधिका धेरै कुरा सिकेर त्यसअनुरुप नेपालमा व्यवहार प्रदर्शन गर्दा नेपालीको व्यवहारमा नै परिवर्तन हुने विश्वास गर्न सकिन्छ । नेपालमा सकारात्मक सिकाइका लागि समेत नेपाल सरकारले अमेरिकामा नेपाली श्रमिकको प्रवेशको सम्भावनालाई विस्तार गर्नु परेको छ । नेपालीलाई अमेरिकी श्रम बजारमा प्रवेश सुनिश्चित गराउनु परेको छ ।

प्रतिक्रिया